विश्व शान्तिका लागि ४ सय बढी कोरियालीद्वारा तिलौराकोटमा प्रार्थना

लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरेर उनीहरू कपिलवस्तु आएका हुन् । १३ वटा बसमा आएका ४ सय १७ बुद्ध धर्मावलम्बीले यहाँ दुई घण्टा लामो प्रार्थना गरेका थिए ।

माघ २१, २०८२

मनोज पौडेल

Over 400 Koreans pray for world peace in Tilaurakot

कपिलवस्तु — कठ्यांग्रिँदो चिसोमा विश्व शान्तिको कामना गर्दै ४ सय १७ जना दक्षिण कोरियाली बौद्ध धर्मावलम्बीले बुधबार बुद्धस्थल तिलौराकोटमा प्रार्थना गरेका छन् ।

विश्वमा अशान्ति बढ्दै गएका बेला पुरातात्विक तथा ऐतिहासिक तिलौराकोटमा आएर उनीहरूले सामूहिक रूपमा शान्तिको कामना गरेका हुन् । 

दक्षिण कोरियाको राजधानी सोलमा मुख्यालय रहेको ज्वइन टूगेदर सोसाइटी अन्तर्राष्ट्रिय राहत संस्थासँग आबद्ध उनीहरूलाई धर्माचार्य भम्यङ सुनिमले शान्तिको उद्गमस्थलमा आई पूजापाठ गराई प्रार्थना गराएका थिए । उनीहरूलाई धार्मिक विधिपूर्वक शील र परित्रान पाठ गराइएको थियो । प्रार्थनापछि आफूहरूले यहाँबाट आध्यात्मिक ऊर्जा पाई शान्तिको अनुभूति भएको धर्माचार्य भम्यङ सुनिमले बताए ।

४ सय १७ धर्मावलम्बीले दुई घण्टा लामो प्रार्थना गरेका थिए । त्यस्तै उनीहरूले भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि राजधानी फर्किंदा पहिलो पटक बुद्धसँग उनका बुवाले भेट गरेको ठाउँ निग्रोधाराम र राजा शुद्धोदन तथा रानी मायादेवीको समाधिस्थल मानिएको धमनिहबा स्तुपमा पनि गई प्रार्थना गरेका थिए । उनीहरू १३ वटा बसमा आएका थिए । मंगलबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरेर उनीहरू कपिलवस्तु आएका हुन् ।

मनोज पौडेल

Link copied successfully