म्यानपावर कम्पनी हटाई सरकारी संयन्त्रबाटै श्रमिक भर्ना गर्ने मलेसियाको तयारी

नेपाल र मलेसियाबीच शून्य लागतमा श्रमिक पठाउने श्रम सम्झौता छ । सम्झौताअनुसार मलेसियाका रोजगारदाताले भने सबै श्रमिकलाई शून्य लागतमा भर्ना गरेको छैन ।

माघ २१, २०८२

होम कार्की

Malaysia prepares to eliminate manpower companies and recruit workers through government mechanisms

What you should know

काठमाडौँ — नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाले श्रमिकको भर्ना लागत शुल्क हटाउन सरकारी संयन्त्रबाट मात्रै श्रमिक लैजाने ‘प्रणाली’ बनाइरहेको जनाएको छ । उसले

तेस्रो पक्षको कारण श्रमिकमाथि शोषण, ऋणमा परेका कारण आधुनिक दासत्वभित्र परेको भन्दै सरकारी संयन्त्रमार्फत न्यायोचित (पारदर्शी) भर्ना गर्ने प्रणाली बनाइरहेको मलेसियाको मानव शंशाधन मन्त्रालयले जनाएको हो । 

‘विदेशी श्रमिकको भर्ना प्रक्रियाबाट तेस्रो पक्षका एजेन्ट वा बिचौलियालाई हटाउने उद्देश्यले मलेसियाली रोजगारदाताहरूले विदेशी श्रमिकलाई सिधै भर्ती गर्न सक्ने प्रणाली बनाइरहेका छौं,’स्थानीय सञ्चार माध्यम द डेलिस्टारसँगको अन्तर्वार्तामा मानव संसाधनमन्त्री दातुक सेरी आर. रामननले भनेका छन्, ‘अहिले यो गृह मन्त्रालय तथा सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको छ । त्यसपछि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिनेछ ।’

उनका अनुसार विदेशी श्रमिक भर्नामा तेस्रो पक्षका एजेन्टहरू(म्यानपावर)को संलग्नता मलेसियामा समस्या बन्दै आएको छ । ‘सन् २०२८ सम्म मलेसियालाई न्यायोचित भर्ना केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । मलेसियालाई अमेरिकाको विदेश मन्त्रालयको ‘ट्राफिकिङ इन पर्सन रिपोर्टमा राखिएको छ । यसमा सुधार गर्ने व्यापक प्रयासको हिस्सा हो,’ उनले भनेका छन्, ‘प्रस्तावित प्रणालीमा रोजगारदातालाई विदेशी श्रमिकस“ग सिधै संवाद गर्न अनुमति दिइनेछ । यसले बिचौलियाको समस्या समाधान गर्ने र विदेशी श्रमिक भर्ना गर्न लाग्ने अनावश्यक वैदेशिक रोजगारी लागत घटाउन मद्दत गर्नेछ ।’

मलेसियाले आफूलाई चाहिने श्रमिकको  प्रमुख श्रोतका रुपमा नेपाल, बंगलादेश, भारत, पाकिस्तान र म्यानमारलाई मान्दै आएको छ । गत २७ अक्टोबरमा मलेसियाले मर्यादित श्रम आप्रवासनको अभ्यासलाई अझ सुदृढ बनाउन पाँचवटै देशबाट पठाउने म्यानपावर कम्पनीको लागि १० बुँदे मापदण्ड निर्धारण गरेको थियो । त्यसलाई नेपालसहित केही देशले अस्वीकार गरेपछि यो प्रक्रिया अगाडि बढेको थिएन । त्यसको केही महिनापछि सरकारी संयन्त्रबाटै सिधै श्रमिकको भर्ना प्रक्रिया अगाडि बढाउने तयारी सार्वजनिक भएको हो ।

नेपाल र मलेसियाबीच शून्य लागतमा  श्रमिक पठाउने श्रम सम्झौता छ । सम्झौताअनुसार मलेसियाका रोजगारदाताले भने सबै श्रमिकलाई शून्य लागतमा भर्ना गरेको छैन । केही रोजगारदाता कम्पनीले मात्रै श्रमिकको सबै लागत खर्च ब्यहोरिरहेको छ । यसमा रोजगारदाताको मागपत्र हात पार्न नेपालका म्यानपावर कम्पनीले मलेसियाको म्यानपावर कम्पनीलाई कमिसन बुझाउनुपर्ने अवस्था छ । जसले गर्दा श्रमिकको लागत खर्च निकै बढीरहेको हो ।  ‘धेरै विदेशी श्रमिकले यहाँ आइपुगेपछि बाचा गरिएको काम नपाएको गुनासो गर्छन् । अर्को तर्फ यस देशमा पाइला टेक्नुअघि नै विदेशी श्रमिकको अमेरिकी डलर पाँच हजारदेखि आठ हजार डलरसम्म शुल्क तिरेको रिपोर्ट आइरहेको छ,’ उनले भनेका छन्, ‘यस वर्षभित्र प्रस्तावित प्रणाली तयार भइसक्छ । यसले अत्यधिक ‘एजेन्ट शुल्क’ तिर्नुपर्ने अवस्थाबाट जोगाउनु हो । रोजगारदाताको आवश्यकताअनुसार उपयुक्त विदेशी श्रमिक पाउने व्यवस्था मिलाउनु हो ।’ 

उनले यस व्यवस्थाको लागि श्रोत देशसँग छलफल गर्ने तयारी भइरहेको छ । नेपालले दक्षिण कोरिया र इजरायलमा सरकारी संयन्त्रमार्फत नै श्रमिक पठाइरहेको छ । ‘हामीसँग सरकारी संयन्त्रमार्फत श्रमिक पठाउने एक दशकको अनुभव छ । यो एउटा सफल अभ्यास पनि हो । जसले भर्ना प्रक्रियालाई पारदर्शी बनाएको छ,’ श्रम मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘मलेसियासँग पनि हामी छलफल गर्न तयार छौं ।’

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully