हुम्लाको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जो तामाङले तीन गाउँका ६ सय ७२ जना मतदाता मध्ये १५ प्रतिशत पनि गाउँमा नभएको बताए ।
What you should know
सुर्खेत — हुम्ला, डोल्पा र मुगुलगायत हिमाली जिल्लाको माथिल्लो क्षेत्रका जनप्रतिनिधिले फागुन २१ को निर्वाचनमा हिमपातका कारण मतदाता गाउँ फर्कन असहज हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
हुम्लाको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जो तामाङले तीन गाउँका ६ सय ७२ जना मतदाता मध्ये १५ प्रतिशत पनि गाउँमा नभएको बताए । ‘निर्वाचनको मिति नजिक आइरहेको छ तर, मतदाता गाउँमा छैनन्, उच्च हिमपात पर्ने भएकाले स्थानीयले मंसिर पहिलो सातादेखि गाउँ छोडेका छन्,’ उनले भने, ‘मतदातको माग अनुसार नै निर्वाचनको मिति सार्ने वा मतदान गर्ने अन्य वैकल्पिक व्यवस्थापनको माग गरेका छन् ।’
नाम्खा गाउँपालिकाका माथिल्लो क्षेत्रका जाङ, हल्जी र तील गाउँ प्राय खाली भएको बताए । ‘यहाँका बासिन्दा यो समयमा काठमाडौं, ताक्लाकोट र सदरमुकाम सिमकोट झरेका छन्,' उनले भने, ‘फागुन २१ सम्म हिउँ परे्न भने निर्वाचन मितिसम्म मतदाता गाउँ जान सम्भव होला तर, हिमपात भइरहेकाले लेक काट्न मुस्किल छ ।’
मतदाताको माग अनुसार हुम्लाको सिमकोटस्थित जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन सार्न वा मतदातालाई भोट हाल्ने वैकल्पिक बाटो खोजिदिन निवेदन दिने तयारीमा रहेको वडाध्यक्ष तामाङले बताए । यी तीन गाउँ जान नाम्खा गाउँपालिका ५ मा पर्ने ४६ सय मिटर उचाई रहेको नारा लेक र ५ हजार उचाईमा रहेको न्यालु नाका हिमपातले पूर्णरुपमा बन्द छ । लिमीका भृकुटी, तिल र हल्जी मतदान केन्द्रमा ६ सय ७२ मतदाता छन्।
डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले पनि हिमपातका कारण हिमाली जिल्लाका मतदाता, निर्वाचनमा खटिने सुरक्षाकर्मी र निर्वाचन गराउने कर्मचारीको सुरक्षाको व्यवस्थापन गर्न आवश्यक भएको बताए । 'ठूला लेक र उच्च हिमाली क्षेत्र रहेकाले आवतजावतमा निकै कष्टपूर्ण छ । हिउँले आँखा ज्योति घुम्ने डर हुन्छ, हातखुट्टा खाने र लेक लाक्ने डर हुन्छ,' उनले भने, ‘यो सिजनमा उपयुक्त छैन, सहर केन्द्रित मिति राखेर कहाँ हुन्छ । यहाँ त हिउँले बाटो बन्द छ । सवारी साधन चल्दैनन्, ज्यान जोखिम हालेर यहाँ कोही आउँदैन ।'
मुगुको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामा वडा १ देखि ४ सम्मका कुनै पनि मतदाता गाउँमा नबसेको बताउँछन् । '५/६ वटा हिमाल नजिकका गाउँका मानिसहरु जुुम्ला, नेपागञ्ज र काठमाडौं झरिसकेका छन्,' उनले भने, ‘गाउँमा मानिस छैनन्, हामीले मतदातालाई गाउँ फर्कन आग्रह गरेका छौं तर, यो समयमा गाउँ फर्कने चान्स छैन । जनप्रतिनिधि र कर्मचारीले मात्र निर्वाचन गराउने हैन सकिन्छ भने दुई चरणको निर्वाचन गरे हुन्छ ।'
