नेपालमा जापानी लगानीलाई अवसर, सरकार पूर्ण साथमा छ : राष्ट्रपति

उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहेको बताएका छन् ।

माघ १९, २०८२

रासस

Opportunities for Japanese investment in Nepal, government fully supports: President

What you should know

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन् ।

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहेको भनाइ राखे ।

'हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियासहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न  प्रतिबद्ध छ,' राष्ट्रपति पौडेलले भने ।

उनले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताए । राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गर्दै भने, 'गौतमबुद्धले भनेका थिए– शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन ।'

Opportunities for Japanese investment in Nepal, government fully supports: President

उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे । 'नेपालमा लगानी गरे धन पनि हुन्छ ! धर्म पनि हुन्छ,' उनले भने, 'नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ, आज यहाँको व्यापारिक समुदायको उत्साहजनक सहभागिता नेपाल र जापानबीच तीव्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुनेछ भन्ने मेरो विश्वास छ ।'

दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ऐतिहासिक ७०औँ वार्षिकोत्सव भएको तथा हाम्रा सम्बन्धहरू सरकारी मात्र होइन जनस्तरमा पनि प्रगाढ हुँदै गएको सन्दर्भमा नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा एक विश्वसनीय विकास साझेदारका रूपमा दशकौँदेखि जापानले गरेको सहयोगको उनले उच्च प्रशंसा गरे ।

यस वर्षको अन्त्यसम्म नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नु हाम्रो लागि अर्को महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ थियो । 

उदार आर्थिक नीतिहरूको पालना गर्दै नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत लगभग हरेक क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको तथा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न व्यापक कानुनी, प्रक्रियागत तथा संस्थागत सुधारहरू गरेको उनले बताए ।

'नेपाल लगानी बोर्डले ठूला लगानीकर्ताहरूलाई एकद्वार सेवा प्रदान गर्दछ, अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क र प्रमुख अन्तरराष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूले स्वतन्त्र मूल्याङ्कनमार्फत नेपालले दक्षिण एसियामै सबैभन्दा अनुकूलमध्येको एउटा व्यावसायिक वातावरण प्रदान गर्ने पुष्टि गरेका छन्,' उनले भने । विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनको बीचमा रहेको नेपालको अवस्थितिले सम्भावित लगानीकर्ताहरूलाई बृहत्तर फाइदा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।

सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरेका थिए भने परराष्ट्र मन्त्रालयका  सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति राखे । कार्यक्रममा जापानी व्यापारिक समुदायका कतिपय सदस्यहरूले नेपालमा यति धेरै लगानीको अवसर रहेको थाहा पाउँदा खुसी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका थिए ।

रासस

Link copied successfully