गत वर्षभन्दा २ दशमलव ९९ प्रतिशत विन्दुले घट्यो बजार भाउ

गत पुसमा औसत मूल्यवृद्धि २.४२ प्रतिशतमा सीमित

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Market prices decreased by 2.99 percentage points from last year.

What you should know

काठमाडौँ — सर्वसाधारण उपभोक्ताले बजारमा वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्नुपर्ने मूल्य अर्थात् बजार भाउ गत पुसमा औसत २.४२ प्रतिशत कायम भएको छ । गत वर्षको पुसमा यस्तो वृद्धिदर ५ दशमलव ४१ प्रतिशत रहेको थियो । यस आधारमा मूल्यवृद्धि गत वर्षको तुलनामा २ दशमलव ९९ प्रतिशत विन्दुले कम भएको देखिन्छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको औसत मूल्यवृद्धिदर १ दशमलव ७० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा औसत मूल्यवृद्धिदर ४ दशमलव ९७ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ० दशमलव ०९ प्रतिशतले ऋणात्मक रहेको छ । सो अवधिमा गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर भने ३ दशमलव ८१ प्रतिशत कायम भएको छ । गत वर्षको पुसमा यी समूहहरूको मूल्यवृद्धिदर क्रमशः ७ दशमलव ६७ प्रतिशत र ४ दशमलव १९ प्रतिशत थियो ।

गएको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५ दशमलव २० प्रतिशतले बढेको छ । त्यस्तै घ्यू तथा तेलको ४ दशमलव ९६ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ३ दशमलव ०४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै दाल तथा गेडागुडी उप–समूहको सूचकांक ५ दशमलव ५२ प्रतिशतले घटेको छ । मरमसलाको ३ दशमलव ९२ प्रतिशत र अन्य खाद्य तथा खाद्यजन्य पदार्थको ३ दशमलव ७० प्रतिशतले मूल्य घटेको उल्लेख छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २१ दशमलव ७५ प्रतिशतले बढेको छ । शिक्षामा ७ दशमलव ५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ५ दशमलव २९ प्रतिशत, सुर्तीजन्य पदार्थमा ४ दशमलव १५ प्रतिशत र मदिराजन्य पेय पदार्थमा ३ दशमलव ८५ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यता बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ० दशमलव ०३ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully