विभागका एक अनुसन्धान अधिकृतका अनुसार विभिन्न प्रयोजन देखाएर नेपाल आवतजावत गरेका योङघो ५० भन्दा बढीपटक नेपाल आएको अभिलेख भेटिएको छ ।
What you should know
काठमाडौँ — नेपालका राजनीतिक दलका शीर्ष नेताको नाम प्रयोग गरी चन्दा उठाउँदै आएको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् । अमेरिकी नागरिक योङघो लीलाई अध्यागमन विभागले सोमबार काठमाडौंमा नियन्त्रणमा लिएको हो ।
उनले संचालन गरेको ‘एनआइकलेजडटइडीयुडटएनपी’ नामक वेबसाइटमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, दलका नेता तथा व्यवसायीहरूको नाम राखेर रकम संकलन भइरहेको भेटिएपछि विभागले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले लीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
योङघो सन् २०११ देखि विभिन्न भिसामा नेपाल आउने–जाने गरेको र पछिल्लो पटक सन् २०२५ देखि व्यवसायिक भिसामा बस्दै आएको विभागले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा फण्ड संकलन गर्ने उद्देश्यले उनले कलेजको वेबसाइटमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूलाई ‘हाम्रा डायनामिक टिम’ भनेर उल्लेख गरेका थिए ।
वेबसाइटमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति एवं पूर्वमन्त्री गगन थापा, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा, एमाले सचिव एवं पूर्वमन्त्री महेश बस्नेत, कांग्रेस नेता तथा उद्योगपति विनोद चौधरीलगायत १३ जनाको नाम राखी त्यसकै आडमा चन्दा उठाइएको पाइएको विभागले जनाएको छ । यसबाहेक ‘पुस्तकालय, क्याम्पस सेवा तथा प्रशासनिक टिम’ भन्दै विभिन्न पेशा–व्यवसायमा संलग्न नेपाली नागरिकहरूको नाम प्रयोग गरेर पनि रकम संकलन गरिएको भेटिएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार योङघोले कोरियन स्टडिज, एआई सफ्टवेयर, इन्जिनियरिङ, बिजनेस स्टडिजलगायत विषय अध्यापन गराउने बहानामा क्रिश्चियन धर्म प्रचारमा संलग्न रहेको देखिएको छ । उनले ‘कमसीड नेपाल प्रा.लि.’ नामक कम्पनी स्थापना गरी त्यसकै आवरणमा चर्च प्लान्टिङलगायत गतिविधि गरेको विभागको भनाइ छ ।
सन् २००८ मा न्यूयोर्कमा ‘यस इन हिम चर्च’ स्थापना गरी ‘द प्लान्टर’ नामक संस्थामार्फत चर्च विस्तार गरेको तथा सोही कोरियन मिसनरी संस्थामार्फत नेपालमा कोरियन भाषा विद्यालय खोल्ने योजना सार्वजनिक गरेको पनि अनुसन्धानबाट खुलेको छ । ललितपुरको सानेपामा ‘नेपालको पहिलो क्रिश्चियन कलेज’ खोल्ने भन्दै वेबसाइट तयार गरी प्रचार–प्रसार गरिएको पाइएको विभागले जनाएको छ ।
विभागका एक अनुसन्धान अधिकृतका अनुसार विभिन्न प्रयोजन देखाएर नेपाल आवतजावत गरेका योङघो ५० भन्दा बढीपटक नेपाल आएको अभिलेख भेटिएको छ । उनले सञ्चालन गरेको कलेजको वेबसाइटमा ‘त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त’ भनेर दाबी गरिए पनि त्यससम्बन्धी कुनै आधिकारिक प्रमाण पेश गर्न नसकेको विभागले जनाएको छ ।
