मुलुकभर घटे पानी चरा

देशभरका १८ प्रमुख सीमसार क्षेत्रअन्तर्गत ७८ ठाउँमा गरिएको गणनामा मुख्य मुख्य ठाउँमा पानी चराको संख्या घटेको पाइएको छ ।

माघ १८, २०८२

मनोज पौडेल

Waterfowl decline across the country

What you should know

लुम्बिनी — महिना दिनअघि चितवनमा राप्ती खोलाको लोथरदेखि घटगाइसम्म चरा गणना गर्दा २ हजार ७ सय ४० चखेवाचखेवी भेटिए । अघिल्लो वर्ष भने उक्त क्षेत्रमा गणना गर्दा ४ हजार १ सय ७ वटा चखेवाचखेवी गणना गरिएका थिए ।

झण्डै २ हजारको संख्यामा गत वर्ष जगदीशपुर पन्छी आरक्षमा गणना गरिएको सिलसिले हाँस यस वर्ष २ सयको संख्यामा गणना गरिएको छ। त्यो पनि तालभित्र नभएर छेउछाउका खेतमा गणना गरिएको हो । 

गत वर्ष ७२ वटा गणना गरिएको राष्ट्रिय रूपमा संकटमा परेको हरि हाँस यस वर्ष एउटा पनि देखिएन । त्यस्तै जगदीशपुरमा सुरजुरे हाँस पनि गत वर्षभन्दा झण्डै एक हजारको संख्यामा कम गणना गरिएको छ । 
पछिल्लो तथ्यांक अनुसार पश्चिम कैलालीको घोडाघोडीदेखि पूर्व सुनसरी बर्जु तालसम्म पानी चराको संख्या घटेको छ। नेपाल पन्छीविद् संघको संयोजनमा मुलुकभर भएको गणनामा पानी चराको संख्या घटेको वेटल्याण्ड इन्टरनेसनलका नेपालका लागि राष्ट्रिय पानी चरा गणना संयोजक लक्ष्मण पौड्यालले बताए ।

बढ्दो मानवीय अतिक्रमण, नदी–खोला–ताल प्रदूषित र सीमसार क्षेत्रको संकुचनले पानी चरा घट्दै गएका हुन् । त्यस्तै नदी खोलको अनियन्त्रित उत्खनन, चराको बासस्थल वरिपरि मिचाहा प्रजातिका झार र खेतीपातीमा बढ्दो विषादी प्रयोगका कारण चरा समस्यामा पर्दै गएका हुन् । 

देशभरका १८ प्रमुख सीमसार क्षेत्रअन्तर्गत ७८ ठाउँमा गरिएको गणनामा मुख्यमुख्य ठाउँमा पानी चराको संख्या घटेको पाइएको छ । पुस १९ देखि माघ ४ सम्म पानीमा आश्रित राष्ट्रिय चरा गणनाको तथ्यांकले जल पन्छी घट्दै गएको देखाएको हो। 

नेपालमा सबैभन्दा धेरै पानी चरालाई आश्रय दिँदै आएको जगदीशपुर तालमा ८ वर्षमा ५५ प्रतिशतले चरा घटेका छन् । सन् २०१८ मा २३ हजार चरा गणना गरिएकामा २०२६ मा घटेर १० हजार २ सय ८२ चरा गणना गरिएको चराविद् हठन चौधरीले बताए । ‘गणना गरिएका प्रजाति पनि घटेका छन् । संख्यामा ठूलो उतारचढाव छ । तालमा सन् २०२५ मा ४८ प्रजातिका १२ हजार ८ सय ३२ चरा गणना गरिएकामा २०२६ मा ४१ प्रजातिका १० हजार २ सय ८२ चरा गणना गरिएको छ,’ उनले भने ।

१ सय ५७ हेक्टरमा फैलिएको तालमा स्टिमर संचालन, बढ्दो मानवीय गतिविधि र माछाको अनियन्त्रित चोरीसिकारले गर्दा चराले असुरक्षित महशुष गरेको उनले बताए । तालमा डुंगा संचालन, पिकनिक, नाचगानले ध्वनि प्रदूषण र नदीजन्य पदार्थको ओसारपसारले वातावरणीय प्रदुषण बढ्दा चराको बासस्थान खल्बलिएर संख्या घटेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ‘तीन/चार वर्षअघि दुई तीन हजारको संख्या एउटै फल्गमा चरा देख्न पाइन्थो,’ उनले भने, ‘एक दुई वर्षयता ५/६ सय भन्दा बढीको फल्ग देख्नै पाइएन् ।’ 
ताल वरपर चरा लुक्ने बस्ने झाडी कम हुँदै गएका छन् । सुरक्षित आहारविहारको समस्या हुँदा उनीहरुलाई गाहृौं भएको उनले बताए ।

त्यस्तै कैलालीको घोडाघोडी तालमा प्रजाति र संख्या दुवै घटेका छन् । गत वर्ष २६ प्रजातिका १ हजार २ सय ५० चरा गणना गरिकामा यस वर्ष २४ प्रजातिका १ हजार चरा गणना गरिएको छ । घोडाघोडी ताल मुलुकको पहिलो पन्छी आरक्ष हो । बाँके र बर्दियामा पनि पानी चराको संख्या घटेको चराविद् राम शाहीले बताए । 

चराको महत्त्वपूर्ण गन्तव्य चितवनमा पनि चराको संख्या घटेको छ । पूर्वी, पश्चिमी र मध्य सेक्टरभागमा विभाजन गरी भएको गणनामा गत वर्ष ६१ प्रजातिका २७ हजार चरा गणना गरिकामा यस वर्ष ६३ प्रजातिका २५ हजार चरा गणना गरिएको छ । त्यसमध्ये पश्चिम चितवन (नवलपुर) सेक्टरमामा भने बढेका छन् । त्यहाँ सन् २०२५ मा ४१ प्रजातिका ९ हजार ५ सय ४८ चरा गणना गरिएकामा २०२६ मा ४२ प्रजातिका १२ हजार ८ सय ८७ चरा गणना गरिएको संयोजक डीबी चौधरीले बताए । त्यसमध्ये सबैभन्दा धेरै चखेवाचखेवी ८ हजार ५ सय २३ र खोया हाँस ९ सय ४६ वटा गणना गरिएको उनले बताए । 

त्यस्तै चारको अर्को महत्त्वपूर्ण बासस्थल कोशी र बर्जुतालमा पनि चरा घटेका छन् । यहाँ सन् २०२५ मा ६७ प्रजातिका १० हजार चरा गणना गरिएकामा यस वर्ष ५६ प्रजातिका ६ हजार चरा गणना गरिएको छ । सुनसरीको बर्जु तालमा गत वर्ष ३४ प्रजातिका ६ हजार चार गणना गरिएकामा यस वर्ष ३३ प्रजातिका ४ हजार चरा गणना गरिएको छ ।

त्यस्तै पोखरा उपत्यकाको ११ ठाउँमा गरिएको गणनामा चराको संख्या बढेको छ । गणना गरिएका प्रजातिको संख्या भने घटेको छ । सन् २०२५ मा ५५ प्रजातिका ३४ हजार चरा गणना गरिएकोमा यस वर्ष ४६ प्रजातिका ३७ हजार चरा गणना गरिएको छ । 

मुलुकभर जलपन्छीको संख्या १ लाखभन्दा कम छ । गत वर्ष मुलुकभर ९४ प्रजातिका चरा गणना गरिएकामा यस वर्ष ५/७ प्रजातिका कम गणना गरिएको छ । यस वर्ष जगदीशपुर तालमा पानी चरा हेरेर आनन्दित हुने पर्यटक यस वर्ष रमाउन सकेनन् । चराको आहारविहार, जलक्रिया र उनीहरु रमाउँदाको रौनकता देख्न नपाउँदा पर्यटक पनि निराश बनेको वाईल्डलाईफ फोटोग्राफर सुदीप केसीले बताए । 

प्रायः बसाइँ सर्ने चराको प्रजनन् नहुने समयमा गणना र अनुगमन गरी संख्या पत्ता लगाउन मुलकभर चरा गणना गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ईकोलोजिस्ट हरिभद्र आचार्यले बताए । जलन्छीको संख्या, उनीहरुको बासस्थानको अवस्था र चराको गतिविधि बुझेर संरक्षणको नीति योजना बनाउन प्रत्येक वर्ष गणना गरिने उनले बताए । 

नेपालमा यो वर्ष ९०३ प्रजातिका चरा पाइएका छन् । त्यसमध्ये चितवनमा मात्रै ६ सय ६४ प्रजातिका चरा पाइने तथ्यांक भए पनि कम संख्यामा चरा देखिनु चिन्ताको विषय भएको चराविद् टीकाराम गिरीले बताए । यस वर्ष चितवनमा चखेवाचखेवी र हाँस प्रजातिका चार निकै कम देखिएका छन्। चराले चिनाएको चितवनमा यसकै संख्या घट्दै जानु राम्रो नभएको बताए । ‘जता हेर्यो उता प्लाष्टिकका बोतल र फोहर देखिन्छ,’ उनले भने, ‘चरा धेरै हुने ठाउँमा यति थोरै देखिनु राम्रो होइन् । यो खस्कँदो अवस्थाले मुलुककै चरा पर्यटनलाई प्रभावित पर्छ ।’

चराविज्ञका अनुसार नेपालमा विश्वको करिब ८ प्रतिशत चरा पाइन्छन् । तिनै चरा हेर्न भनेर विदेशी पर्यटक नेपाल आउने लालयित हुन्छन् । यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । मुलुकका ताल र सिमसार क्षेत्रको वातावरण कस्तो छ भन्ने कुरा पानी चराको आगमनले नै जानकारी दिने हुँदा यो महत्वपूर्ण भएको पन्छी संरक्षण संघका अध्यक्ष विमल थापाले बताए । ‘चरा आगमनलाई सामान्य रुपमा लिनु हुँदैन,’ उनले भने, ‘यसले यहाँको जैविक विविधताको स्वच्छताको सूचक मापन गरिरहेको हुन्छ ।’ 

जलपन्छी आगमन घट्ने क्रममा भएकाले बेलामै सचेत हुनुपर्ने चराविद् डा. बरालले बताए । सीमसार क्षेत्रमा आश्रित हिउँदे पाहुना चरा पछिल्ला वर्षमा सीमसार क्षेत्रको अतित्रमण र संकुचनले घट्दै गएको उनले बताए।

उडान मार्गमा हुने अवरोध र रासायनिक मलको बढ्दो प्रयोगले पनि चरा जोखिममा रहेको बराल बताउँछन् । बसाइँ सरेर आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ ठाउँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिम पनि बढेको छ  ।

सन् १९८७ देखि वर्षेनी सिमसारमा आश्रित पानीचराको गणना गरिँदै आएको छ। पछिल्लो गणनाले जलपन्छीको आवस्था खतरा उन्मुख छ। नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये  १३ प्रजाति जलपन्छी नै छन् ।

उत्तरी ध्रुवमा हिमपात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । जाडो छल्न पहाड र तराईका सीमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा आउने गर्छन् । कतिपय बच्चा जन्माएर हुर्काएपछि फर्कने गर्छन् । 
उत्तरी मुलुक रूस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एसियाका तुर्केमिनिस्तान, साइबेरियाबाट यहाँ चरा आउँछन् । यहाँ बर्सेनि १ सय ५० बढी प्रजातिका चरा आउने गरेको तथ्यांक छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully