चूडामणि शर्मासहितको कर फर्स्यौट भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा विशेषज्ञ झिकाउने आदेश

विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सर्वोच्च हुँदै पुन: फैसलाका लागि विशेष आएको मुद्दामा विशेषज्ञको राय लिन लागेको हो ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Special court orders expert to be summoned in tax evasion corruption case involving Chudamani Sharma

What you should know

काठमाडौँ — विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहितको कर फर्स्यौट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सर्वोच्च हुँदै पुन: फैसलाका लागि विशेष आएको मुद्दामा विशेषज्ञको राय लिन लागेको हो । 

सुरुमा विशेषले नै दोषी ठहर गर्ने फैसला सुनाएको थियो । त्यसविरुद्ध परेको पुनरावेदनमा सर्वोच्चले पुन: सुनुवाइ गर्नु भनि विशेष अदालत फर्काएको थियो । सर्वोच्चले २०८२ असारमा विशेष अदालत फर्काएको थियो । सर्वोच्च अदालतले न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघिको फैसला त्रुटिपूर्ण ठहर गरी पुनः विशेष अदालतमै पठाउने निर्णय गरेको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्माविरूद्ध कर फर्स्यौट प्रकरण र अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दा चलाएको थियो । विशेष अदालतबाट कर फर्स्यौट प्रकरणमा उनी दोषी ठहर भएका थिए भने अकूत सम्पत्ति आर्जनको अभियोगमा सफाइ पाएका थिए । 

यी दुवै फैसला सर्वोच्चले बदर गर्दै पुन: तथ्यमा प्रवेश गरी फैसला सुनाउन भनेको थियो । 

विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उक्त फैसला गरेको थियो । कर फर्स्यौट आयोगमा छँदा व्यापारीहरूलाई ठूलो रकम अन्धाधुन्ध छुट दिएको प्रकरणमा दोषी ठहर भएपछि सर्वोच्चमा पुनरावेदन गर्न पुगेका थिए । उनी आन्तरिक राजस्व विभागको महानिर्देशक छँदा आयोगको सदस्य-सचिव भएर काम गरेका थिए ।

अख्तियारले कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव शर्माविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । 

विशेष अदालतले फैसला गर्दा अभियुक्तलाई थाहै नदिइ विज्ञको राय लिएकोले स्वच्छ सुनुवाइको सिद्धान्तसँग मेल नखाएको सर्वोच्चको ठहर थियो । यही कारण विशेषले अहिले विशेषज्ञको राय लिने आदेश गरेको हो । 

विशेषले कर फर्स्यौट प्रकरणमा महतलाई ९ वर्ष १ महिना कैद तोकिएको थियो । ढकाल र शर्मालाई त्योभन्दा एक महिना कम ९ वर्ष कैद सजाय तोकिएको थियो ।

प्रत्येकले बिगो र जरिवाना गरी ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेषको फैसलामा भनिएको थियो । सर्वोच्चमा पुनरावेदन गर्नुअघि कैद र जरिवाना बापतको रकम जम्मा नगरेपछि शर्मा थुनमा गएका थिए भने विशेषमा फर्काएपछि रिहा भएका थिए । 

उनीहरूले आफूलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका थिए । ती निवेदन सर्वोच्चले खारेज गरिदिएको थियो  ।  

शर्माले सरकारी सेवामा रहँदाको अवधिभर ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अख्तियारको दाबी थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully