चलचित्र पत्रकारको पृष्ठभूमि भएका सिटौला बालेनको चुनावी कार्यक्रममा अछाम पुगेका बेला बेहोस भएका थिए ।
What you should know
अछाम — चुनावी यात्राका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै अछाम पुगेका बेला अचानक बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालले विज्ञप्ति जारी गर्दै आइतबार १२: ४५ बजे सिटौलाको निधन भएको जनाएको छ ।
गत शुक्रबार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा अचानक अचेत भएका सिटौलालाई सुरुमा जिल्ला अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंको ग्रान्डी अस्पतालमा पुर्याइएको थियो ।
शुक्रबार बिहान ९ बजे सदरमुकाम मंगलसेनको बीचबजारस्थित पार्टी कार्यालयमा बालेन पुग्ने तय थियो । त्यसैले रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरू त्यहाँ जम्मा भइरहेका थिए । तर बालेनको टोली भने पार्टी कार्यालय कटेर सोझै जिल्ला अस्पतालतर्फ मोडियो । किनकि भ्रमण टोलीमा रहेका सिटौला शुक्रबार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा अचानक अचेत भएको भन्दै उनलाई जिल्ला अस्पताल अछाम पुर्याइएको थियो ।
काठमाडौंको टोखा निवासी सिटौला बालेनको टोली सदस्यका रूपमा अछाम पुगेका थिए ।
जिल्ला अस्पताल अछामका प्रमुख डा. कमलेश यादवका अनुसार सिटौलालाई अस्पताल ल्याउँदा अवस्था गम्भीर थियो । ‘उहाँ अस्पताल आइपुग्दा अचेत अवस्थामा हुनुहुन्थ्यो । रक्तचाप थिएन, शरीर चिसो भइसकेको थियो र श्वासप्रश्वाससमेत चलिरहेको थिएन,’ डा. यादवले भने, ‘सिटी स्क्यान गरेपछि मात्र यकिन गर्न सकिन्थ्यो । टाउकामा चोट लागेर रगत जमेको आशंका देखियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले रिफर गर्नुपर्यो ।’
घटनाबारे जानकारी प्राप्त हुनासाथ शुक्रबार बिहान साढे ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सिटौलालाई सुर्खेत हुँदै काठमाडौं पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञराज बुढाले बताए ।
काठमाडौंस्थित ग्रान्डी अस्पतालमा पुर्याएपछि उनको उपचार सघन उपचार कक्ष (आईसीयू) मा राखेर सुरु भएको थियो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार सिटौलालाई ब्रेन ह्यामरेज पुष्टि भएको छ। ‘उहाँलाई सुरुमै करिब ४५ मिनेटसम्म सीपीआर (मुटु र श्वासप्रश्वास पुनः सञ्चालन गराउन गरिने प्राथमिक जीवनरक्षक उपचार) गरिएको रहेछ । ब्रेनको नसा फुटेर रगत जमेको देखियो,’ ती चिकित्सकले भने ।
सिटौलालाई शनिबार बिहान अस्पताल नै पुगेर बालेनले भेटेका थिए ।
बालेनका सहयोगी भूपदेव शाहको घरमा चिया खाएर निस्कने क्रममा स्कारपियो गाडीबाट ओर्लन खोज्दा सिटौला ढलेर टाउकामा चोट लागेको थियो । ‘बालेनजी उहाँको पछाडि नै हुनुहुन्थ्यो। साथीहरूले घटनास्थलमै सीपीआर दिएका थिए। बेहोस अवस्थामै अस्पताल लगिएको हो,’ उनले भने । सिटौला बालेनको टोलीमा पत्रकारका रूपमा भन्दा पनि टोली सदस्यका रूपमा सहभागी थिए।
सिटौलालगायत आफूहरूको टोली गाडी बिग्रिएकाले शनिबार राति बाजुराको फालासैनमा बसेको रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बताए। ‘बाजुराको खप्तड छेडेदहमा गाडी बिग्रिएको थियो। सिटौलाजी र हाम्रो गरी दुईवटा गाडी सँगै थिए। म, भूपदेवजी र अर्जुन घिमिरे (पाँडे) जी सँगै थियौं,’ उनले भने, ‘सिटौलाजी पत्रकारको गाडीमा हुनुहुन्थ्यो। बालेनजी भने बझाङबाटै अगाडि निस्किसक्नुभएको थियो, उहाँहरू डोटीबाट अछाम आउनुभयो, हामी बाजुराबाट अछाम गएका थियौं।’
चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौला 'द सिनेमा टाइम्स' अनलाइन पोर्टलका सम्पादक/अध्यक्ष हुन्। सिटौलाले एक समय नेपाल टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम पनि चलाउँथे। दर्जनभन्दा बढी फिल्महरूमा प्रेस संयोजकका रूपमा काम गरेको पृष्ठभूमि भएकाले सिने क्षेत्रका निम्ति उनी अपरिचित नाम थिएनन् ।
