छानिए डेढ लाख निर्वाचन प्रहरी, अर्को साताबाट फिल्डमा परिचालन

१० दिन तालिम दिएर निर्वाचन प्रहरीलाई प्रहरी र सशस्त्र प्रहरीसँगै फिल्डमा एकसाथ खटाइनेछ ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

1.5 lakh election police officers selected, to be deployed in the field from next week

What you should know

काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डेढ लाख निर्वाचन प्रहरी छनोट भएका छन् ।

२१ फागुनमा हुने निर्वाचन सुरक्षामा ४० दिन कार्यावधि तोकेर नेपाल प्रहरी मातहत खटिने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) अन्तर्गत १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छानिएका हुन् । छनोट भएका निर्वाचन प्रहरीलाई आइतबार (आज) बाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले परिचालन हुने सम्बन्धित युनिटबाट तालिम दिन सुरु गरेका हुन् ।

1.5 lakh election police officers selected, to be deployed in the field from next week

तालिम सुरु भएकै दिनबाट नियुक्ति गणना गरेर ४० दिन कार्यावधि तोकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरी मातहत खटिनेले प्रहरीबाटै र सशस्त्र मातहत खटिनेलाई सशस्त्रबाटै निर्वाचन प्रहरी आधारभूत सुरक्षा तालिम दिइनेछ । १० दिन तालिम दिएर निर्वाचन प्रहरीलाई फिल्डमा प्रहरी र सशस्त्र प्रहरीसँगै एकसाथ खटाइनेछ ।

प्रहरीका अनुसार निर्वाचन प्रहरीलाई आधारभूत सुरक्षा तालिमअन्तर्गत आफूभन्दा माथिल्लो तहका प्रहरीलाई गर्ने शिष्टाचार (जय नेपाल) कसरी गर्ने, शारीरिक पोजिसन कसरी मिलाउने, फिल्डमा सर्वसाधारणसँग कस्तो व्यवहार गर्नेजस्ता विषयको अनुशिक्षण गराइनेछ । त्यस्तै चुनावलाई लिएर कुनै पनि व्यक्तिगत धारणा दिन नहुने, पक्ष/विपक्षमा गतिविधि गर्न नहुने, प्रहरीले आधारभूत रुपमा गर्ने व्यवहारबारे जानकारी गराउने जस्ता विषय पनि १० दिनको तालिम अवधिमा सिकाइनेछ ।

 1.5 lakh election police officers selected, to be deployed in the field from next week

आधारभूत तालिम सकाएर खटिजाने प्रहरी वा सशस्त्रको युनिटसँग पूर्ण जवाफदेही हुने गरी परिचालन गराइने जनाइएको छ । निर्वाचन प्रहरीलाई आवश्यकताअनुसार प्रहरी वा सशस्त्रका नियमित सुरक्षाकर्मीलाई टोली प्रमुख बनाएर खटाइनेमा निर्वाचन प्रहरी आफ्नो कमान्डरसँग जवाफदेही भएर काम गर्नुपर्नेछ ।

२५ पुसदेखि ३ माघसम्म निर्वाचन प्रहरीका लागि दरखास्त आहृवान गरिएकामा देशभरबाट करिब २ लाख जनाको आवेदन परेको थियो । त्यसमध्येबाट छनोट भएकालाई आइतबारबाट नियुक्ति पत्र दिई तालिममा खटाइएको हो । १८ वर्षदेखि ५४ वर्ष उमेर समूहकालाई निर्वाचन प्रहरीमा भर्ना आहृवान गरिएको थियो । छनोट भएका निर्वाचन प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवान सरहको आधारभूत तलब, पोसाक, रासनलगायत सुविधा दिइएको छ ।

‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार एकजना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउमा जान र फर्किनलाई एक पटकका लागि प्रति व्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च व्यवस्था गरिएको छ ।

1.5 lakh election police officers selected, to be deployed in the field from next week

सोहीअनुसार तोकिएको मापदण्डअनुसार निर्वाचन प्रहरीले पोसाक खर्च पाएका छन् । त्यसकै आधारमा सोही पोसाक लगाएर निर्वाचन प्रहरीमा खटिनुपर्नेछ । कार्यअवधिभर निर्वाचन प्रहरी कर्तव्य पालनाका क्रममा घाइते भएमा घाइते स्वयं र मृत्य भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइनेछ ।

निर्वाचनअगावै तोकिएको स्थानमा नगई गैरहाजिर हुने, जिम्मेवारी पूरा नगरी भाग्नेलाई तोकिएका कुनै पनि सुविधा नदिइने पनि गृह मन्त्रालयबाट स्वीकृत मापदण्डमा उल्लेख छ । यस्तै कथम् निर्वाचन रद्द भएमा वा स्थगित भएमा तालिममा रहेको भए पनि नियुक्ति स्वतः रद्द/बदर हुनेछ ।

कान्तिपुर

Link copied successfully