भारतमा निपाह भाइरस फैलिएपछि नेपालमा परीक्षण निर्देशिका जारी 

नयाँ प्रोटोकलअनुसार संभावित निपाह केसहरूमा मृत्यु, गम्भीर तीव्र श्वासप्रश्वास सङ्क्रमण, तीव्र मस्तिष्क ज्वरो, कोमा, निपाह भाइरस लागेका बिरामीसँग सम्पर्कलगायत पर्छन् ।

माघ १७, २०८२

अर्जुन पौडेल

Testing guidelines issued in Nepal after Nipah virus outbreak in India

What you should know

काठमाडौँ — भारतको पश्चिम बंगालमा निपाह भाइरसको प्रकोपलाई लिएर मानिसहरुमा त्रास बढिरहेका बेला नेपालमा पनि शंकास्पद घटनामा परीक्षण गर्न निर्देशन दिइएको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित निकायहरुलाई यस्तो निर्देशन दिएको हो । 

नयाँ प्रोटोकलअनुसार संभावित निपाह केसहरूमा मृत्यु, गम्भीर तीव्र श्वासप्रश्वास सङ्क्रमण,  तीव्र मस्तिष्क ज्वरो, कोमा, निपाह भाइरस लागेका बिरामीसँग सम्पर्कलगायत पर्छन् । निपाह प्रभावित क्षेत्रबाट फर्किएका,  काँचो खजुरको रस पिउने, संक्रमित जनावर (विशेषगरी चमेरो) सँग सम्पर्कमा आएका मानिसहरुलाई शंकाको घेरामा राखिएको छ । 

‘ इन्फ्लुएन्जाजस्तै लक्षण देखिएका मानिसहरु, विशेषगरी भारतको पश्चिम बंगालबाट फर्केकासहित दर्जनौं व्यक्तिले  परीक्षणका लागि हामीलाई सम्पर्क गरिरहेका छन्,’ महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तर डराउनुपर्दैन । किनकि भारतीय स्वास्थ्य प्राधिकरण र विश्व स्वास्थ्य सङ्गठनले प्रकोप सफलतापूर्वक नियन्त्रणमा लिइएको जानकारी दिएको छ, र पश्चिम बंगालसँग सिमाना जोडिए पनि नेपालमा सङ्क्रमण फैलिने जोखिम उच्च छैन ।’

निपाह जनावरबाट मानिसमा सर्ने गर्छ । यो एक जुनोटिक भाइरस हो । तर, २०१९ मा विश्वव्यापी महामारी उत्पन्न गराउने कोरोनाभाइरसभन्दा यो भाइरस निकै घातक छ । भारतमा यस महिना पश्चिम बंगालमा निपाह भाइरस सङ्क्रमणका दुई केस पुष्टि भएको छ । दुबैजना संक्रमित स्वास्थ्यकर्मी हुन् । उनीहरुमा गत वर्ष डिसेम्बरको अन्तिम साता लक्षणहरू देखिएका थिए ।  

कसरी हुन्छ संक्रमण ?

सामान्यतया सङ्क्रमित जनावरसँग प्रत्यक्ष सम्पर्क वा त्यसको मासु खाँदा संक्रमण हुन्छ । त्यस्तै,  भारतसहित धेरै ठाउँमा मानिसबाट मानिसमा सङ्क्रमणका केसहरू सरेका छन् ।

जनस्वास्थ्यविद्हरुका अनुसार निपाह भाइरसको मुख्य वाहक चमेरो नेपालमा पनि पाइने भएकाले यहाँ प्रकोपको जोखिम छ । अर्कोतर्फ, पश्चिम बंगाल र नेपालको कोशी प्रदेशको सीमा जोडिएको छ, यस सीमा हुँदै दैनिक सयौं व्यक्ति ओहार–दोहर गर्छन् । 

शंकास्पद निपाह बिरामीलाई विगतमा कोरोना उपचार केन्द्रका रुपमा तोकिएका अस्पतालहरुमा नै  भर्ना र उपचार गर्न स्वास्थ्य अधिकारीहरुले निर्देशन दिएका छन् । त्यस्तै, अन्य व्यक्तिसँग सम्पर्कमा नरहन पनि आग्रह गरिएको छ । ‘हामी उपचार निर्देशिका पनि तयार गरिरहेका छौं,’ अधिकारीहरूले भने ।

केही समयअघिमात्रै रोग नियन्त्रण महाशाखाले निपाहजस्तै लक्षण देखिएका बिरामी र एक्कासी मृत्यु भएका शंकास्पद घटनाबारे रिपोर्ट उपलब्ध गराउन देशभरका अस्पताललाई निर्देशन जारी गरेको थियो । 

पछिल्लो समय निपाह केस आउन सक्ने सम्भावनाबारे सिमा नाकाहरू र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका स्वास्थ्य डेस्कहरूलाई सचेत गराइएको छ । त्यस्तै,  स्वास्थ्यकर्मीहरूलाई सतर्क रहन भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपाह भाइरस सङ्क्रमित व्यक्तिमा सामान्यतया ३ देखि १४ दिनभित्र लक्षणहरू देखिन्छन् ।

 ज्वरो, टाउको दुखाइ, खोकी, घाँटी दुख्ने, र श्वासप्रश्वासमा कठिनाइ यसका प्रमुख लक्षण हुन् । केही व्यक्तिमा मस्तिष्क सुन्निने वा मस्तिष्क ज्वरो हुन सक्छ ।  भ्रम, निद्रा लाग्ने र बेहोस हुनेजस्ता गम्भीर लक्षण पनि देखिनसक्छन् । केही बिरामी २४ देखि ४८ घण्टाभित्र कोमामा पुग्न पनि सक्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार यस रोगको मृत्युदर ४० देखि ७० प्रतिशत छ ।

निपाह भाइरस सन् १९९९ मा पहिलोपटक मलेसिया र सिङ्गापुरमा पत्ता लागेको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार त्यतिबेला करिब ३०० जनालाई रोग पुष्टि भयो र १०० भन्दा बढीको मृत्यु भयो ।

भारतको पश्चिम बंगालमा सन् २००१ मा निपाह भाइरसको सबैभन्दा घातक प्रकोप भएको थियो, जसमा ६६ सङ्क्रमित भए र ४५ को मृत्यु भयो । सन् २००७ मा फेरि यो भाइरस देखा प¥यो । यसपटक ५ मध्ये सबै संक्रमितको मृत्यु भयो । 

सन् २०१८ मा भारतको केरलामा भाइरसले १७ जनाको ज्यान लियो ।  

विशेषज्ञहरूले यस भाइरसलाई गम्भीरतापूर्वक लिइनुपर्ने बताएका छन्, किनकि यस भाइरसले हुने मृत्युदर ७० प्रतिशतसम्म छ । 

निपाह भाइरसका कतिपय लक्षणहरु अन्य सामान्य भइरसहरुसँग मिल्दोजुल्दो छ । त्यहीकारण, मानिसहरु भ्रममा पर्ने खतरा पनि रहेको चिकित्सकहरु बताउँछन् । अहिलेसम्म यस भाइरसको कुनै उपचार पत्ता लागेको छैन । स्वास्थ्यकर्मीहरूले लक्षण पत्ता लगाउने र त्यही लक्षणको उपचार गर्ने गर्छन् ।  

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Link copied successfully