वरिष्ठ भूगोलविद् तथा शिक्षासेवी जोशीको निधन

अमेरिकाबाट भूविज्ञानमा पीएचडी गरेका डा. जोशी खनिज अन्वेषण, भूगर्भीय संरचना र प्राकृतिक स्रोत व्यवस्थापनका विज्ञ थिए ।

माघ १७, २०८२

वसन्तप्रताप सिंह

Senior geographer and educationist Joshi passes away

What you should know

बझाङ — बझाङमा जन्मिएर अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाएका वरिष्ठ भुगोलविद् डा. तुलसीराम जोशीको निधन भएको छ । जोशीको ८७ वर्षको उमेरमा शुक्रबार राति अमेरिकाको भर्जिनियामा निधन भएको परिवारले जनाएको छ । 

व्यक्तिगत लगानीमा सुदूरपश्चिमका विभिन्न जिल्लाको शैक्षिक विकासमा समेत योगदान दिएका उनी १९९५ सालमा बझाङको तामाखानी (हाल छबिसपाथीभेरा गाउँपालिका) मा जन्मिएका थिए । साधारण किसान परिवारमा जन्मिएका जोशीले बझाङकै सत्यवादी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको थिए । उनी सत्यवादीबाट एसएलसी गर्ने पहिलो ब्याचका विद्यार्थी हुन् । 

उनी २०१९ सालतिर उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका थिए । अमेरिकामा त्यतिबेला नेपालीहरूको संख्या थोरै थियो । अमेरिकाबाट भूविज्ञानमा पीएचडी गरेका डा. जोशी खनिज अन्वेषण, भूगर्भीय संरचना र प्राकृतिक स्रोत व्यवस्थापनका विज्ञ थिए । उनले आफ्नो जीवनको आधा शताब्दीभन्दा बढी समय अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गरेका थिए । उनले कोइला खानी अन्वेषण, भूकम्पीय जोखिम मूल्यांकन र जलस्रोत व्यवस्थापनमा महत्वपूर्ण अनुसन्धान गरेका थिए ।

अमेरिकाको पश्चिम भर्जिनियाजस्ता क्षेत्रहरूमा उनका अध्ययनहरूले खनिज उद्योगलाई विकास गर्न सहयोग पुगेको थियो । नेपालको बझाङ र सुदूरपश्चिमका खानीहरूको सम्भावनाबारे पनि अध्ययन गरेर जोशीले सरकारलाई नीतिगत सुझाव दिएका थिए । 

अमेरिकाको फेइरमन्ट  स्टेट विश्वविद्यालयका प्राध्यापक रहेका जोशीले आफ्नो कमाइको सम्पुर्ण खर्च नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने र नेपालको शिक्षाको विकासमा खर्च गरेका थिए । जोशीले अमेरिकामा रहेका नेपालीहरुको संगठनअन्तर्गत तुल्सीराम जोशी छात्रवृत्तिमार्फत नेपाल र अमेरीकामा अध्ययनरत पाँच सयभन्दन बढी विद्यार्थीलाई उच्च शिक्षाको लागि सहयोग गरेका थिए ।

‘उहाँले सहयोग नगरेको भए म जस्ता धेरै विद्यार्थीलाई त्यतिबेला म जस्ता विद्यार्थीलाई काठमाडौं गएर अध्ययन गर्न र यो अवस्थामा पुग्न निकै कठिन हुने थियो,' अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर) रहेका डा. डबलबहादुर धामीले भने, ‘दुर्गम क्षेत्रका सयौं विद्यार्थीहरुलाई उच्च शिक्षाको अवसर दिन उहााले गर्नुभएको सहयोगको सम्मान गर्ने कुनै शब्द छैन । सात समुद्रपारि बसेर पनि नेपालको शिक्षाका लागि उहाँले लगाएको गुन अविस्मरणीय छ ।'

जोशीले सुदूरपश्चिमका विभिन्न विद्यालयमा पनि छात्रवृत्ति कोष स्थापनाका लागि पाँच करोडभन्दा बढी रकम दान गरेका थिए । धनगढीको श्री राष्ट्रिय माध्यमिक विद्यालयले जोशीको सम्मानमा विद्यालयको नाम नै ‘श्री राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय’ राखेको छ ।  

उनले 'तुलसीराम छात्रवृत्ति कोष’ स्थापना गरी अमेरिकामा मात्रै १२० भन्दा बढी नेपाली विद्यार्थीहरूले उच्च शिक्षा अध्ययनका लागि सहयोग गरेका थिए । नेपाल मात्रै नभएर उनले आफूले अध्यापन गराउने फेइर्माउन्ट विश्वविद्यालयको पुस्तकालय, प्रयोगशाला र छात्रावास निर्माणमा लाखौं डलर दान गरेका थिए। नेपालमा विद्यालयहरू, स्वास्थ्य केन्द्र  र सामुदायिक विकास कार्यक्रमहरूलाई गरेका जोशीको सहयोगले थुप्रैको जिवन परिर्वतन गरेको थियो ।

डा. जोशीले नेपाल र अमेरिकाबाट थुप्रै पुरस्कार समेत प्राप्त गरेका थिए । अमेरिकामा ‘आउटस्ट्यान्डिङ एजुक्टेर अवार्ड’ र 'फिलान्थ्रोपिस्ट अफ द इयर’ जस्ता सम्मान प्राप्त गरेका जोशीलाई फेइरमन्ट स्टेट विश्वविद्यालयले ‘डिस्टिङ्ग्विस्ड अलुम्नाई अवार्ड’ प्रदान गरेको थियो ।

नेपाल सरकारबाट ’सुप्रबल गोर्खा दक्षिणबाहु’ र विभिन्न शैक्षिक संस्थाहरूबाट 'लाइफटाइम अचिभमेन्ट अवार्ड’ पाएका जोशीको निधनले एक अर्न्तराष्ट्रिय व्यक्तित्व मात्रै नभएर असल शिक्षासेवी, र परोपकारी पनि गुमाएको भन्दै अमेरिका र बझाङमा उनको योगदानको चर्चा भइहेको छ । 

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully