विगतमा पुरुषले मात्रै पाउने बरघरको जिम्मेवारीमा पछिल्लो समय महिलाहरुको संख्या बढ्दै गएको छ।
What you should know
बर्दिया — प्रतिनिधिसभा निर्वाचनको माहोलसँगै बर्दियाका थारु बस्तीमा बरघर चयन गर्ने काम पनि भइरहेको छ।
समुदायको अगुवाई गर्न सक्ने क्षमता भएको र जिम्मेवारी बहन गर्न सक्नेलाई हरेक वर्ष माघी पर्व लगत्तै बरघर पदमा चयन गर्ने गरिन्छ । माघ महिनाबाट थारु समुदायको नयाँ वर्ष पनि सुरु हुन्छ।
विगतका कामको लेखाजोखा गरी बरघरलगायत प्रतिनिधि चयन गरिँदै आएको छ। माघ १ गते माघीका दिनदेखि बरघर छान्न सुरु गरिन्छ। समुदायका लागि समय दिन सक्ने र जिम्मेवारी वहन गर्न सक्नेले मात्र यो पद लिने गरेको गुलरिया–५ सन्जना टोलका बरघर तिहार चौधरी बताउँछन्।
थारु समाजमा अगुवा प्रथा निकै पुरानो भए पनि निरन्तरता पाउँदै आएको छ। माघ १ गते थारुहरूको नयाँ वर्ष र पवित्र महिना भएकाले धार्मिक विश्वासका आधारमा समुदायको अगुवा चयन हुने गरेको गुलरिया नगरपालिका–५ का दिनेश थारुले बताए। राणाशासन र पञ्चायती व्यवस्थामा बरघरको महत्त्व धेरै हुन्थ्यो । 'त्यसबेला राजादेखि मन्त्री, कर्मचारीलगायत पञ्चले बरघरसँग सल्लाह गर्थे, बारबर्दिया–३ का ६८ वर्षीय खुसीराम थारुले सुनाए।
विगतमा बरघरको नेतृत्व पुरुषले नै गर्थे । पछिल्लो समय भने महिला पनि बरघरको जिम्मेवारी लिन थालेका छन् । गुलरिया नगरपालिका–५ शान्ति टोलकी ४० वर्षीया सुल्फी चौधरी यस वर्ष दोस्रो पटक टोल सर्वसम्मतिबाट बरघर निर्वाचित भएकी छन् । गत वर्ष उनले राम्रो काम गरेका कारण टोलवासीले पुनः निर्वाचित गरेका हुन्। उनले गत वर्ष गाउँमा दर्जनौं घरायसी झगडा सहमतिमा टुंग्याएकी थिइन् ।
सहमतिमा टुंग्याउँदा झगडियाबाट समितिको निर्णय अनुसार ५ हजार रुपैयाँ लिने गरिएको उनले बताइन्। ‘पीडकले कुटपिट गरी घाइते भएका पीडितलाई सबै उपचार खर्च दिनुपर्छ,’ उनले भनिन्, ‘जरिवानाको रकम समितिमा जम्मा गरिन्छ।’
गत वर्ष छिमेकमा आमा–बुबालाई कुटपिट गरी घर निकाला गर्न खोज्ने पीडकलाई बरघर प्रथा अनुसार छोरा–बुहारीले आफ्नो आमा–बुबासँग गल्ती स्वीकार गरी माफी नमागेपछि घरबाट निकाला गरिएको उनले बताइन्। उनीहरू अहिले अन्यत्र घर निर्माण गरी बसेका छन् । ‘यस्ता थुप्रै समस्या आइपर्छन्, यसलाई समितिबाट बसेर निर्णय गरिन्छ,’ उनले भनिन्, ‘घरका कामकाज थुप्रै भए पनि बरघरको काममा श्रीमान् र घरपरिवारको पूर्णसहयोग पाएकी छु।’ बलात्कार, हत्यालगायत जघन्य अपराधका मुद्दा मेलमिलाप नगरी कानुन बमोजिम प्रहरीको जिम्मा दिइने गरेको उनले बताइन्।
बरघरको जिम्मेवारी लिनका समुदायलाई धेरै समय दिनुपर्ने यसको जिम्मेवारी लिएकाहरु बताउँछन्। अगुवाबाहेक पूजाआजा गर्ने पुजारी, कुलोपानी चौधरी, फलाम पिट्ने, चौकीदार, सुरहवा, धामीलगायतको चयन हुने गरेको निवर्तमान बरघर कालीप्रसाद चौधरीले बताए ।
माघ महिनाभित्र बरघर चयन गरिसक्नुपर्ने समुदायको नियम छ । साताअघि गुलरिया नगरपालिकामा मूल बरघर र ५ टोलमा एक महिलासहितका बरघरहरु सर्वसम्मतिबाट चयन गरिएको छ। मूल बरघरमा रूपलाल चौधरीलगायत ५ वटा टोलमा बरघर चयन भएका छन् । यसअघि मूल बरघर कालीप्रसाद चौधरी थिए ।
गाउँ, टोलदेखि सरकारी अड्डाको काम बरघरको अगुवाइमा हुने गर्छ । बरघरलाई सबैले विश्वास मानेर निर्णय गर्ने गरेको स्थानीय शर्मिला चौधरीले बताइन् । 'यसबाहेक बाढी आउने समय सूचना दिन साइरन बजाउने, हाँक हाल्दै सुरक्षित स्थानमा जान बरघरले समितिका सदस्यलाई निर्देशन दिने गरेको छ,’ उनले भनिन्, ‘साना बालबालिकादेखि किशोर–किशोरीलाई विद्यालय नगए अभिभावकलाई सोधपुछ गर्दै अनिवार्य जान आग्रह गर्छन्।’ यसैगरी स्वास्थ्य केन्द्रमा गर्भवती जाँचदेखि हरेक बिरामीलाई जान सचेतना गराउँछन् ।
टोलमा थारु युवाहरूले भने विवाह घरमा सबै काम निःशुल्क गर्ने गर्छन् । गाउँमा हुने विवाहमा दुलहा–दुलहीको घरमा पात टिप्ने, दाउरा खोज्ने, मासु काट्ने, पानी बोक्ने र जन्ती आएकालाई खुवाउनेलगायत सबै काम सित्तैमा गर्ने गरेको उनले बताइन् । तर खाना र जाँडको व्यवस्था भने विवाह हुने घरले व्यहोर्ने गर्छन् ।टोलमा मानिसको मृत्यु हुँदा सबै घरका एक जना बढी सदस्यले दाहसंस्कारदेखि किरियाकर्ममा सहयोग गर्छन्।
जिल्लाका थारु बस्तीमा चौकीदार, गुरुवा, लोहार, लुगा सिउनेलगायत स्वयंसेवक पदमा गाउँले बरघरसँगै चयन गर्ने गरेका छन्। चौकीदार चयन भएपछि गाउँमा गुरुवा, धामी, कुलोपानी चौधरीलगायत पदमा इच्छुक उम्मेदवार चयन हुने गर्छन्। पाँच वटा टोलमा चयन भएका चौकीदारलाई वार्षिक १८ हजारका दरले पारिश्रमिक दिने निर्णय भएको बरघर चौधरीले बताइन्।
विगतमा निर्वाचन हुनुअघि बरघरले भोट कसलाई दिने भन्ने निर्णय हुन्थ्यो। अहिलेका पुस्ताले भने भोट दिने निर्णय आफै गर्न थालेको वालापुरका ६० वर्षीय जलीराम थारुले बताए। ‘हुन त बरघरको कुरा परम्परादेखि मान्दै आएका छौं,’ उनले भने, ‘गाउँका अधिकांश युवा पुस्ता बाहिर काम गर्न गएकाले यो परम्परालाई जीवित राख्न बुढापाका लागेका छन्।’ प्रतिनिधिसभा, प्रदेश सभा होस् या स्थानीय तहको निर्वाचनमा बरघरको भूमिका उत्तिकै हुने गरेको शान्ति टोलकी बरघर चौधरीले बताइन् ।
ठाकुरबाबा नगरपालिकामा दुई महिला मूल बरघर चयन भएका छन्। बरघर सञ्जालका अध्यक्ष ठाकुरबाबा–६ वकुवाका बरघर माधुराम थारुले यस पालिकामा दुई महिला मूल बरघर चयन भएको बताए। वडा सुखरकी शान्ति चौधरी र वडा ९ शिवपुरकी लक्ष्मी खत्री थारु मूल बरघरमा चयन भएको बताए। यी दुवै जनाको दोस्रो कार्यकाल भएको बरघर शान्ति चौधरीले बताइन्। सञ्जालका अध्यक्ष माधुराम थारुले जन्मदेखि मृत्युसम्म बरघरले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए।
