शुक्रबार बिहान ४ बजेदेखि सुत्केरी व्यथा लागे पनि आफन्तले ७ बजे मात्रै घरबाट राँसास्थित बर्थिङ सेन्टर लैजान हिँडेका थिए। स्थानीय कालीबहादुर थापाले बर्थिङ सेन्टर नपुग्दै ९ बजेर ४८ मिनेटमा रमिताले बाटोमै बच्चा जन्माएको बताए।
What you should know
जुम्ला — तिला गाउँपालिका–९ की २७ वर्षीया रमिता थापाले सुत्केरी गराउन बर्थिङ सेन्टरमा लैजाँदै गर्दा बाटोमै बच्चा जन्माएकी छिन् । उनले आफन्तले हिउँमै बोकिरहेको अवस्थामा चायापाटनमा छोरी जन्माएकी हुन् ।
शुक्रबार बिहान ४ बजेदेखि सुत्केरी व्यथा लागे पनि आफन्तले ७ बजे मात्रै घरबाट राँसास्थित बर्थिङ सेन्टर लैजान हिँडेका थिए। स्थानीय कालीबहादुर थापाले बर्थिङ सेन्टर नपुग्दै ९ बजेर ४८ मिनेटमा रमिताले बाटोमै बच्चा जन्माएको बताए। उनले भने, ‘दुई फिट हिउँ जमेको थियो । हामी स्ट्रेचरमा बोकेर अघि बढिरहेका थियौं । उनले बच्चा जन्माइन् ।’
उनको गाउँदेखि राँसामा रहेको बर्थिङ सेन्टर पुग्न पाँच घण्टा लाग्छ। गर्भवतीलाई ८ जना युवाले बोकिरहेका थिए। ‘न स्वास्थ्यकर्मी थिए न त महिला स्वास्थ्य स्वयमसेविका नै,’ कालीबहादुरले भने, ‘शिशुको नाभी समेत ढुंगाले काट्ने काम भयो ।’ शिशु जन्मिएर सालनाल पनि एकैपटक बाटोमै आएपछि उनलाई घर फर्काइएको छ ।
रमिताका यसअघि दुई छोरी छन् । बाटोमा जन्मेकी छोरी उनको तेस्रो सन्तान हुन्। कालीबहादुरले भने, ‘अहिलेसम्म बोकेर बर्थिङ सेन्टर लैजाने क्रममा ६ जना भन्दा बढी बाटोमै सुत्केरी भए ।’
गाउँमा स्वास्थ्य चौकी छैन । स्वास्थ्य इकाइको भवन मात्रै छ । ‘न कर्मचारी छन् न औषधि नै,’ स्थानीय छवि थापाले भने, ‘यहाँका महिलाहरु गर्भ जाँच गराउन पनि पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।’
गाउँबाट सुत्केरी सेवा लिन चार/पाँच घण्टा बोकेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वा बर्थिङ सेन्टर पुग्नुको विकल्प नभएको उनले सुनाए । ‘यसले पनि दुर्गमका सुत्केरीहरु कति जोखिममा छन् भन्ने दर्शाइरहेको छ । यहाँका गर्भवतीहरु अकालमा मृत्यु पर्खिरहेका छन् । यो दुःख कसले बुझ्ने ?’ उनले भने।
अहिले तिला गाउँपालिका–९ मा रहेको तल्लो र माथिल्लो खोप्री गरेर झण्डै ६० घरधुरी छन्। ‘पटकपटक गाउँका गर्भवतीले भोगिरहेको समस्या सुनाउँदा सुनाउँदै थाकिसक्यौं,’ छविले भने,‘न स्थानीय सरकार सुन्छ, न प्रदेश सरकार र केन्द्र सरकार नै । हामीलाई त अर्कै मुलुकको नागरिक सरह जीवन जिउन बाध्य छौं ।’
यो पटक भोट माग्न आउने उम्मेदवारलाई आफुहरुले यही माग जोडदारका साथ उठाउने स्थानीयले बताएका छन् । न गाउँमा विद्युत, खानेपानी छ । न स्वास्थ्य, शिक्षा र सडकको सुविधा छ,’ कालीबहादुरले थपे, ‘यी सबै मागको लिखित गरेर सम्बोधन गर्ने प्रतिवद्धता जनाउने उम्मेदवारलाई मतदान हुनेछ ।’
