डोल्पाको फोत गाउँको जनसंख्या ८५, मतदाता ४० मात्र

गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङ फोत विकट क्षेत्र भएकाले त्यहाँका मतदाताले अर्को केन्द्रमा पुगेर भोट हाल्ने सम्भावना पनि नरहेको बताउँछन् ।

माघ १६, २०८२

रामचन्द्र न्यौपाने

Population of Fot village in Dolpa is 85, voters only 40

What you should know

डोल्पा — जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–६, को फोत गाउँको कुल जनसंख्या ८५ रहेको छ । विकट गाउँमा रहेका ४० मतदातामध्ये पुरुष २१ र महिला १९ रहेका छन् । ०७९ को निर्वाचनमा फोत गाउँमा जम्मा ३४ मतदाता थिए । यसपटक ६ जना थपिएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठ थोरै मतदाता भएकाले लगभग शतप्रतिशत मतदान हुने गरेको बताए । ०७९ मा ३१ मत खसेको थियो । ‘फोत गाउँ पुग्न सदरमुकाम दुनैबाट ५/६ दिन लाग्छ,’ उनले भने, ‘परापूर्वकालदेखिको बस्ती हो । तर, जनसङ्ख्या न्यून छ ।’

उक्त वडा सदस्य कोइजोर गुरुङले गाउँ अनकन्टार ठाउँमा रहेको बताए । आधारभूत सेवा नपाएर त्यहाँका बासिन्दा कष्टसाथ जीवनयापन गर्न बाध्य रहेको उनले बताए। अहिले पनि गाउँमा शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विद्युत‍्लगायतका सामान्य सुविधा पुगेका छैनन् । यस्ता सुविधा पुर्‍याउन सहज नभएकाले बस्ती स्थानान्तरण गर्नुपर्ने उनको धारणा छ ।

गाउँमा विद्यालय र स्वास्थ्य चौकी छैन । त्यहाँका जनप्रतिनिधिका अनुसार फोतका बासिन्दा  एक्काइसौं शताब्दीमा पनि ढुङ्गे युगको जीवन बाँचिरहेका छन् । वडा सदस्य गुरुङका अनुसार पालिकाले एउटा बालविकास केन्द्रको भवन बनाए पनि सहजकर्ता शिक्षक नहुँदा सञ्चालनमा छैन । 

स्थानीयका अनुसार गाउँसम्म पुग्न पाँच हजार मिटरभन्दा अग्ला भञ्ज्याङ पार गर्नुपर्छ। हिउँदको समय प्राय बासिन्दा जाडो छल्न बेंसी झर्छन्। कात्तिकदेखि नै भारी हिमपात र अत्याधिक चिसो हुने भएकाले उनीहरू बेंसी झर्ने गरेका हुन् । हिउँदमा ३०/३५ जना हाराहारी र बर्खामा न्यानो हुने भएकाले ४०/४५ जना मान्छे बस्ने गरेको सदस्य गुरुङले बताए । 

गाउँमा विद्यालय नभएकाले स्थानीय बालबालिका शे–फोक्सुण्डो–६, को भिजेर पुगेर अक्षर चिन्छन् । ‘फोतबाट भिजेर पुग्नै एक दिन हिँड्नु पर्छ । पढेर फर्किने कुनै सम्भावना छैन्,’ उनले भने, ‘आफन्त र इष्टमित्र भएकाहरू त्यतै केटाकेटी राखेर पढाउँछन् ।’ गाउँमा स्वास्थ्य उपचारको समस्या छ । सरकारले स्वास्थ्य चौकी स्थापना गरेको छैन। सामान्य बिरामी पर्दा पनि एक दिन हिँडेर पुग्नुपर्छ । 

सर्वसाधारण आम्ची (परम्परागत तिब्बती उपचार पद्धति) मा निर्भर छन् । आकस्मिक उपचार र उद्धार गर्नुपरेमा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । ८/१० लाख तिरेर हेलिकप्टर चार्टर गर्दा कतिपय परिवारको पुस्ता नै ऋणमा डुब्ने गरेको छ । पैसा नहुनेहरू ज्यान गुमाउन बाध्य छन् । गाउँमा फोन लाग्दैन । डाँडामा उक्लेपछि टावरसित सम्पर्क देखाउँछ । 

Population of Fot village in Dolpa is 85, voters only 40

हिमालको कुनामा अवस्थित फोतमा आलु, फापर, उवा उत्पादन हुन्छन् । तर, वर्षभरि खान पुग्दैन । नजिकै बजार नभएकाले नुन, तेल, लत्ताकपडा, चामल किन्नु परे याकचौरी लिएर दुनै, मुस्ताङ्, चिनियाँ क्षेत्रमा पुग्नु पर्छ । गाउँपालिकाको केन्द्र पुग्न एक दिन लाग्छ । स्थानीयको आम्दानीको स्रोत यार्सागुम्बा संकलन हो ।

मुगुको रारा ताल जाने ट्रेकिङ रुट भएकाले घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले पनि धेरै थोरै व्यापार गरिदिने स्थानीयले बताए।यसपटक हिमपातले बाटाघाटा बन्द भएकाले चुनावमा आफू जान नसक्ने वडा सदस्य गुरुङले बताए । जबर्जस्ती जान खोजेमा ज्यान जाने खतरा हुने उनको भनाइ छ । 

कम मतदाता हुने अर्को स्थान डोल्पोबुद्ध–२, पनि हो । त्यहाँ ६४ मतदाता रहेका छन् । ०७९ मा  ६८ मतदाता रहेकोमा ४७ मत खसेको थियो । शे–फोक्सुण्डो–७, कु गाउँमा ९५ मतदाता रहेका छन् । छार्काताङ्सोङ् गाउँपालिका–२ पुङ्दाबगरमा ८३ जना मतदाता मात्र रहेका छन् ।

जिल्लाका कुल ६८ जना मतदान केन्द्रमा सबैभन्दा धेरै मतदाता ठूलीभेरी नगरपालिका–६ थरगाउँमा रहेका छन् । जहाँ ९ सय ३८ जना मतदाता रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा ८ सय ९९ मतदाता छन् ।

गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले फोत विकट क्षेत्र भएकाले त्यहाँका मतदाताले अर्को केन्द्रमा पुगेर भोट हाल्ने सम्भावना नरहेको बताउँछन् । वर्ल्डलिंकले वडा पालिकालाई दिएको इन्टरनेट सेवा भरपर्दो नहुँदा फोतमा स्थानीय सरकारले प्रदान गर्ने सेवा प्रभावकारी हुन नसकेको उनले बताए ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully