सहिद दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुले श्रद्धाञ्जली दिँदै सहिदको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
What you should know
काठमाडौँ — आज सहिद दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
सहिद दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुले श्रद्धाञ्जली दिँदै सहिदको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत भएकाले यस दिवसले सहिदहरुको आकाङ्क्षा साकार पार्न प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
साथै उनले म्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।
यस्तै प्रधानमन्त्री सुशीला कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । उनको सन्देशमा भनिएको छ, ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।’
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता सहिदहरुकै अमूल्य बलिदानका कारण प्राप्त भएको उल्लेख गरेका छन् । निरंकुशता र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीऊ सहिदहरुले रोपेको र त्यसलाई मलजल गरी आजको अवस्थामा ल्याउने काम कांग्रेस–कम्युनिष्टले गरेको ओलीको दाबी छ । सहिदहरुलाई श्रद्धाञ्जली दिँदै ओलीले सहिदहरुको बलिदानको मूल्यलाई नभुल्ने र राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।
कांग्रेस सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरेका छन् । सहिद दिवसका अवसरमा उनीहरुको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै उनले सहिदहरुले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका बताएका छन् ।
सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेनजी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र सङ्घर्षहरुमा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूप्मा रूपन्तरण गर्न सकिने उल्लेख गर्दै उनले वीर सहिदहरुले देखाउनुभएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु सबैको दायित्व भएको बताए ।
सभापति थापाले कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्नुपर्ने उल्लेख गरे ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले तत्कालीन राज्यले लोकतन्त्रका लागि लडेका योद्धाहरुको हत्या गरेको ८५ वर्ष पुगेको स्मरण गर्दै प्राप्त उपलब्धी प्रभावकारी बनाउन नसकेको भन्दै दलहरुप्रति असन्तुष्टि पोखेका छन् । राणा शासनको अन्त्य, राजतन्त्रको अन्त्य लगायत पटक–पटक व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र नफेरिएको उनको भनाइ छ ।
त्यसबेला जस्तै यसपटक पनि जेन–जी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्यको माग राख्दै भएको शान्तिपूर्ण आन्दोलनमा सरकारले ताकी ताकी गोली हानेर हत्या गरेको शाहले बताएका छन् । उनले भनेका छन्, ‘लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ । राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ ।’
उनले सहिदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब कसैलाई नभएको बताएका छन् । उनले अघि भनेका छन्, ‘अब समय आएको छ- सहिदका रगतलाई सम्मान गर्दै उहाँहरुको सपना पूरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।’
