निर्वाचन नजिकिँदै गर्दा ठूलो परिमाणमा नगद भित्रिनु चुनावी पारदर्शिता र सुरक्षा दुवैका लागि गम्भीर चुनौती हो ।
झापा — नेपाल–भारत सीमाको पूर्वी प्रवेशविन्दू काँकडभिट्टा यतिबेला दोहोरो जोखिमको घेरामा छ। आसन्न निर्वाचन र भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरसको सम्भावित असरका कारण यो नाका अत्यन्तै सम्वेदनशील छ।
यस्तो अवस्थामा सीमा सुरक्षा कडा र चुस्त हुनुपर्ने हो । सुरक्षा संयन्त्रले निगरानी प्रभावकारी रहेको दाबी गरिरहे पनि यहाँको तस्बिर फरक देखिन्छ।
बिहीबार भारतको पानीटंकी नाकामा झापाकी देवीकला खड्का १० किलो चाँदीसहित पक्राउ परिन् । सीमा सुरक्षा बल (एसएसबी) ले उनलाई नियन्त्रणमा लिएको हो । त्यसको एक दिनअघि एसएसबीले मेघालयका चार भारतीय नागरिकलाई ३६ लाख भारतीय रुपैयाँसहित समातेको थियो ।
प्रारम्भिक बयानमा उनीहरूले उक्त रकम नेपालको चुनावी प्रयोजनका लागि भित्र्याउन लागेको बताएका छन् । तर, कसको चुनावी खर्चका लागि रकम ल्याइएको थियो भन्नेबारे भने खुलाइएको छैन। यी र यस्ता घटनाले सीमा क्षेत्र जोखिमपूर्ण देखिन्छ । निर्वाचन नजिकिँदै गर्दा ठूलो परिमाणमा नगद भित्रिनु चुनावी पारदर्शिता र सुरक्षा दुवैका लागि गम्भीर चुनौती पनि हो ।
तर, विडम्बना के छ भने अवैध गतिविधि नियन्त्रण र मान्छे पक्राउ प्रायः भारतीय पक्षबाट भइरहेका छन्, जबकि नेपाली नाकामा भने निगरानी अपेक्षाकृत फितलो देखिन्छ । यसले सुरक्षा संयन्त्रबीच समन्वय, निगरानी प्रविधि र आन्तरिक अनुशासनमै कमजोरी रहेको संकेत गर्छ ।
मेची पुलदेखि भन्सार क्षेत्रअघिपछि आधा दर्जन ठाउँमा सुरक्षा जाँच गरिन्छ । पुलको मुखैमा सशस्त्र प्रहरी जाँच गर्छ । केही वर नेपाल प्रहरी र लागुऔषध नियन्त्रण व्युरो तैनाथ देखिन्छ ।
भन्सार वरपर सशस्त्र र भन्सारको संयुक्त टोली तथा नेपाल प्रहरीको एकल निगरानी छ । झट्ट हेर्दा यो अन्तर्राष्ट्रिय नाकाको सुरक्षा घेरा बलियो देखिन्छ । तर, व्यवहारमा भने अर्कै छ । सुरक्षाकर्मीहरुले जाँच पड्तालमा कम र ‘लेनदेन’मा ज्यादा ध्यान दिएको आरोप स्थानीय स्तरमै सुनिन्छ । ‘भारतबाट आउने यात्रुसँग खुलेआम रकम असुली भइरहेको दृश्य सजिलै देख्न सकिन्छ,’ धुलाबारीका रमेश सापकोटा भन्छन्, ‘सामान जाँच गरेजस्तो गरेर पैसा लिने काम हुन्छ ।’
विर्तामोडका ऋषिकेश साहको गुनासो थप्छन्, ‘साधारण मानिसले एक किलो चिनी ल्याउँदा रोकेर हैरान पार्छन्, तर व्यापारीको सामान पैसा लिएर खुलेआम छाडेको देख्दा दुख लागेर आउँछ ।’
भारतबाट ल्याइएको सामान दिनभरी पुरानो मेची पुलमा राखिन्छ । रातपरे पछि सुरक्षाकर्मीको मिलेमतोमा भित्र्याइन्छ । खासगरी भारतबाट ल्याइने विभिन्न सामान सहज रूपमा भित्र्याउन सुरक्षाकर्मी र भन्सार कर्मचारी नै सक्रिय बन्ने गरेको आरोप छ ।
सीमा सुरक्षा विज्ञहरूका अनुसार संवेदनशील समयमा कडाइका साथ सुरक्षा जाँच, प्रभावकारी सूचना आदानप्रदान र शून्य सहनशीलता नीति लागू पर्ने हुन्छ । तर, पूर्वी नाकामा भने त्यस्तो कडाइ देखिँदैन । देशको मुख्य प्रवेशद्वारमै सुरक्षा फितलो हुनु सामान्य प्रशासनिक कमजोरी मात्र नभई राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय रहेको विज्ञहरुको भनाई छ ।
अझ निपाह झाइरसजस्तो संक्रामक रोगको जोखिम नजिकिँदै गर्दा स्वास्थ्य स्त्रिनिङ, यात्रु व्यवस्थापन र आपतकालीन तयारी मजबुत हुनुपर्ने थियो । तर, नाकामा स्वास्थ्य सतर्कता पनि अपेक्षाकृत कमजोर रहेको स्थानीयहरूको भनाइ छ । रोग नियन्त्रणको पहिलो घेरा नै सीमा भएकाले यहाँको लापरवाहीले ठूलो सार्वजनिक स्वास्थ्य संकट निम्त्याउन सक्छ ।
सुरक्षा निकायले भने सीमा नाकालाई ‘हाइ अलर्ट’ गरिएको र अवैध गतिविधि नियन्त्रणमा प्रतिवद्ध रहेको बताउँदै आएका छन् । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे भन्छन्,‘सीमा नाकामा सतर्कता उच्च छ । हाम्रा सुरक्षाकर्मीहरु सम्वेदनशील छन् ।’
