पोखरामा एटीआर विमानले सुरक्षित अवतरण गर्न ३१ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ भने त्यहाँबाट उडानका लागि कम्तीमा १६ सय मिटर चाहिन्छ । दिउँसो १२ बजेसम्म पोखरामा कुनै विमान रोकिएको थिएन ।
What you should know
काठमाडौँ — देशका केही आन्तरिक विमानस्थलमा खराब मौसमको प्रभावले उडान प्रभावित भएका छन् । काठमाडौं विमानस्थलका अनुसार, बुधबार १२ बजेसम्म तुम्लिगंटार, भरतपुर र पोखरा विमानस्थलमा मौसमका कारण उडान अवरुद्ध भएको थियो ।
पोखरा विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार, पोखरा विमानस्थल खुल्ने र बन्द हुने क्रम दोहोरिँदै आएको छ । बुधबार विहान ७ बजे विमानस्थल खुलेको थियो, तर साढे ११ बजे दृश्यता २५ सय मिटरमा झरेपछि जहाजको अवतरण रोकियो ।
पोखरामा एटीआर विमानले सुरक्षित अवतरण गर्न ३१ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ भने त्यहाँबाट उडानका लागि कम्तीमा १६ सय मिटर चाहिन्छ । दिउँसो १२ बजेसम्म पोखरामा कुनै विमान रोकिएको थिएन । त्यहाँ भएका सबै काठमाडौंतर्फ उडिसकेका थिए ।
पोखराबाट दैनिक उडानहरूमा बुद्ध एयरले १५, यति एयरले ९ र श्री एयरलायन्सले २ उडान तालिका राखेका छन् । त्यहाँबाट भैरहवा जाने दैनिक एक उडान बुद्ध एयरले सञ्चालन गर्दछ भने नेपालगञ्जका लागि सातामा तीन उडान छन् । पोखरा विमानस्थलमा दैनिक करिब २३ सय यात्रु आवागमन गर्ने गरेका छन् ।
पोखराको पुरानो फेवा विमानस्थल भने बुधबार खराब मौसमका कारण बन्द रहेको छ । निरौलाका अनुसार, त्यहाँबाट मुक्तिनाथ र अन्नपूर्ण क्षेत्रका लागि हेलिकप्टर चार्टर उडानहरू सञ्चालन हुन्छन् । त्यहाँ दैनिक करिब ६० हेलिकप्टर उडान र पर्यटकका लागि अल्ट्रा विमान का उडानहरू सञ्चालन हुन्छन् ।
हाल पर्यटकको सिजन नभएकाले हिमाली जिल्ला मुस्ताङमा उडान रोकिएको छ । समिट एयर र तारा एयरले फेब्रुअरी १५ देखि मुस्ताङमा दैनिक पाँच उडान सञ्चालन गर्ने योजना बनाएका छन् । त्यस्तै, रुकुमको चौरजहारीका लागि तारा एयरले चार्टर उडान सञ्चालन गर्दै आएको छ ।
भरतपुर विमानस्थलमा साढे १२ बजेपछि मौसम सुधार भएपछि उडान खुलेको छ । विमानस्थल प्रमुख दीपक विकका अनुसार, दिउँसो साढे १२ बजे घाम लागेपछि उडान खुलेको हो । भरतपुर भीएफआर (भिजुअल फ्लाइट रूल) प्रणालीमा मात्रै उडान हुने विमानस्थल हो, जहाँ न्यूनतम ५ हजार मिटर दृश्यता आवश्यक पर्छ। त्यहाँ दैनिक १० वटा उडान बुद्ध एयरले संचालन गर्दै आएको छ ।
