राजनीतिमा बहुआयामिक सहभागिता र संवादलाई प्रवर्द्धन गर्न माग

‘लोकतन्त्रमा हामीले जसलाई बहुमतको सरकार भन्छौं त्यो साँचो अर्थमा बहुमत होइन । ठूलो जनसंख्या मतदानबाटै बाहिर हुन्छ '

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Demand to promote multidimensional participation and dialogue in politics

What you should know

काठमाडौँ —  नेपालमा बहुआयामिक राजनीतिक सहभागितालाई अझै पनि प्राथमिकतामा नराखिएको सरोकारवालाहरुले बताएका छन् । ठूलो जनसंख्या निर्वाचनमा सहभागि नहुने परिपाटीले गर्दा लोकतन्त्र कमजोर बनेको चिन्ता पनि उनीहरुले प्रकट गरेका छन् ।

युथ इनिसिएटिभको आयोजना तथा राष्ट्रिय मतदाता अधिकार मञ्च (एनभीआरएफ) को सहकार्यमा मंगलबार नयाँ बानेश्वरमा आयोजित  अन्तरपुस्ता तथा बहुआयामिक संवाद कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले यसअघिको संसद्मा युवाको भूमिका र बहुआयामिक राजनितिक सहभागितालाई लिएर छलफल भएको स्मरण गरे ।

‘लोकतन्त्रमा हामीले जसलाई बहुमतको सरकार भन्छौं त्यो साँचो अर्थमा बहुमत होइन । ठूलो जनसंख्या मतदानबाटै बाहिर हुन्छ । यसर्थ : धेरैभन्दा धेरैलाई कसरी राजनितिमा समेट्ने भन्नेबारे छलफल भइरहनुपर्छ,’ उनले भने,´अहिलेको सरकारको मुख्य ध्यान निर्वाचन गराउनमै छ । कतिपय महत्वपूर्ण एजेन्डा अहिले छुटेका छन् । तर, भविष्यमा सम्बोधन हुन जरूरी छ ।'

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ, गैरसरकारी संस्था महासंघ नेपालका उपमहासचिव किरण थापा तथा युवा तथा जेन–जेड प्रतिनिधि मोनिका निरौलाले पनि युवाको राजनीतिक सहभागिता र अन्तरपुस्ता संवादलाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनीहरुले लोकतन्त्रको सुदृढीकरणका लागि चुनावी प्रक्रियामा धेरैभन्दा धेरै मानिसको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा युथ इनिसिएटिभका अध्यक्ष योगेश काफ्लेले स्वागत मन्तव्य दिँदै युवाको आवाज नीति निर्माण तहसम्म पुर्‍याउनका लागि कार्यक्रम गरिएको बतमए ।

नेपाल नीति संस्थानकी सदस्य शारु जोशीले देशबाहिर तथा जिल्लाबाहिर रहेका मतदाताको मतदान अधिकार, यसको व्यवहारिकता, चुनौती र आगामी निर्वाचनमा यसको सान्दर्भिकताबारे प्रस्तुति दिइन्।

मानव अधिकार आयोगका सचिव मुरारी खरेलले लोकतन्त्र सुदृढीकरणमा मताधिकार र समावेशी सहभागिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

कान्तिपुर संवाददाता

Link copied successfully