१६ औं एसियन बर्ड फेयर नेपालमा हुने

चरा, पर्यापर्यटनको संरक्षण र प्रचारप्रसार गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन संरक्षणकर्मीले हातेमालो गरी सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै तेस्रो नेपाल बर्ड फेयर कार्यक्रम समापन भएको छ ।

माघ १४, २०८२

मनोज पौडेल

16th Asian Bird Fair to be held in Nepal

What you should know

लुम्बिनी — १६ औं एसियन बर्ड फेयर–२०२७ नेपालमा आयोजना गर्ने घोषणा गर्दै तेस्रो नेपाल बर्ड फेयर कार्यक्रम समापन गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वर्ल्ड बर्ड फेयर काउन्सिलका कार्यकारी सदस्य भिक्कर यूले लुम्बिनीमा यस्तो घोषणा गरेका हुन् ।

चरा, पर्यापर्यटनको संरक्षण र प्रचारप्रसार गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन संरक्षणकर्मीले हातेमालो गरी सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै मंगलबार कार्यक्रम समापन भएको हो ।

लुम्बिनीमा सम्पन्न दुई दिने तेस्रो नेपाल बर्ड फेयरमा आएका मुलुकभरका नेचर गाइड, चराविद्, संरक्षणकर्मी, वाइल्डलाइफ फोटोग्राफर र अनुसन्धानकर्मीले सीमसार क्षेत्र संकुचन, बासस्थान विनाश र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न अभियान चलाउने संकल्प पनि गरेका छन् ।

पोखरा बर्ड सोसाइटीद्वारा विभिन्न संरक्षणसँग सबन्धित संघसंस्थाको सहयोगमा आयोजित तेस्रो बर्ड फेयर समापन कार्यक्रममा आगामी वर्ष चौथो नेपाल बर्ड फेयर बर्दियाको ठाकुरद्वारामा गरिने घोषणा गरिएको थियो । यसका लागि बर्दिया नेचर कन्जरभेसन क्लब (बीएनसीसी)ले स्थानीय स्तरमा समन्वय गर्ने जिम्मेवारी लिएको छ । 

बुद्ध जन्मस्थल लुम्बिनीको आध्यात्मिकतासँगै चरा र पर्यापर्यटनको आकर्षण उजागर गर्ने उद्देश्यले आयोजित कार्यक्रममा चराले सामना गर्नुपरेको जोखिम र विगतमा चरा संरक्षण गर्न गरिएको प्रतिबद्धता तथा चरा आवागमन गर्ने सेन्ट्रल एसियन फ्लाइ वे मार्गका पानी–चरा र सीमसार संरक्षण तथा गौतम बुद्ध र चराका विषयमा छलफल र कार्यपत्र प्रस्तुत गरिएको थियो । 

नेपालका विशेष संरक्षण क्षेत्रमा स्थानीयले गरेका संरक्षण प्रयासको प्रशंसा, बढ्दो मानवीय चहलपहलमा सारस संरक्षण, एसियामा गिद्ध संरक्षण र अनुसन्धान तथा नेपालमा पाइने कालिज प्रजातिका चरा र यसको संरक्षण प्रयासबारेमा छलफल गरिएको थियो । त्यस्तै नेपालमा चराको वितरण दस्ताबेजीकरण गर्न नागरिक वैज्ञानिक योगदान, चराहरूको जंगली बिरालोसँगको सम्बन्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आसपासका चराका विविधता र जोखिमका विषय छलफल भएको थियो । स्वदेशदेखि विदेशका विज्ञ, विशेषज्ञ र अनुसन्धानकर्मीले कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रमको मुख्य आकर्षण बर्ड्स ब्रेन नामक छलफल रहेको थियो । वरिष्ठ चराविद् डा. हेमसागर बरालले संचालन गरेको कार्यक्रमका अतिथि पन्छी संरक्षण संघका अध्यक्ष विमल थापा, पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरे र नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरी रहेका थिए । ठट्यौली पारामा संरक्षण क्षेत्रका ज्ञानवर्द्धक प्रश्नोत्तर कार्यक्रमले वाहवाही पाएको थियो ।

कार्यक्रममा भारत, भुटान, श्रीलंका, फिलिपिन्स, सिंगापुर, हङकङ, स्पेन र ताइवानलगायतका मुलुकबाट १५ जना चराविज्ञ, विशेषज्ञ, संरक्षणमा क्रियाशील संघ/संस्था र टुर अपरेटर लिडर सहभागी थिए । त्यस्तै मुलुकमा पूर्वदेखि पश्चिमका दुई सय बढी चराविद्, नेचर गाइड, वाइल्डलाइफ फोटोग्राफर, अनुसन्धानकर्मी र संरक्षणकर्मी सहभागी थिए । 

चराप्रति सचेतना, संरक्षण र सहकार्य गर्ने उद्देश्यले आयोजित कार्यक्रम अनुकरणीय भएको प्रमुख अतिथि एसियन बर्ड फेयर तथा वर्ल्ड बर्ड फेयर काउन्सिलका कार्यकारी सदस्य भिक्कर यूले बताए । यहाँबाट आफूले धेरै कुरा सिकेको इको टुरिजम ताइवानका अध्यक्षसमेत रहेका उनले सुनाए । ‘अरूलाई पनि नेपालबाट धेरै कुरा सिक्न आग्रह गर्छु,’ उनले भने । 

बर्ड फेयर संरक्षणकर्मीको राम्रो उत्सव बनेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । यसले लुम्बिनीको आध्यात्मिकतासँगै चरा र पर्यापर्यटनको आकर्षण स्वदेश तथा विदेशमा उजागर गरेर पर्यापर्यटनमा टेवा पुर्‍याएको उनले बताए । 

बर्ड फेयरअन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालय सभा हलमा एकेडेमिक सेसन, बर्ड सिम्पोजियम, छलफल र गोष्ठी भइरहँदा स्थानीय, विद्यार्थी र पर्यापर्यटनमा रुचि राख्नेलाई लुम्बिनीस्थित थाई भिजिटर सेन्टरमा चराका विभिन्न स्टल राखिएको थियो । त्यहाँ सचेतनाका ब्रोसर, पुस्तक, पोस्टरसँगै बिक्रीका लागि सचेतनामूलक सन्देश लेखिएका टिसर्ट, टोपी, किचेन, आर्ट र हस्तकलाका सामग्री प्रदर्शन गरिएको थियो । त्यस्तै चरा फोटो प्रदर्शनी र बर्ड रेस (चरा चिन्ने) प्रतियोगिता पनि गरिएको थियो । चरा, सारस र बिरालो प्रजातिको संरक्षणका लागि नाटक र सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । 

चरा प्रजाति, जैविक विविधता र चराका महत्त्वपूर्ण बासस्थानको संरक्षणका लागि स्वदेश तथा विदेशमा राम्रो सचेतना जगाउन सकेको बर्ड लाइफ सोसाइटी भुटानका अध्यक्ष केल्जिङ दोर्जीले बताए ।

स्थानीय समुदाय, विद्यार्थी, गाइड, अनुसन्धानकर्ता र संरक्षणसँग सम्बन्धित संघ/संस्थाबीच ज्ञान, सूचना आदान–प्रदान, सहकार्य र नेटवर्किङ गरेर चरासँगै पर्या पर्यटनको प्रवर्द्धन गर्न बर्ड फेयर आयोजना गरिएको पोखरा पन्छी समाजका अध्यक्ष तथा नेपाल बर्ड फेयर आयोजक कमिटी संयोजक मनशान्त घिमिरेले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully