गैरआवासीय नेपाली संघ, इराकले वैदेशिक रोजगार विभागबाट विभेद भएको जनाएको छ
What you should know
काठमाडौँ — श्रम मन्त्रालयले कम्पनीमा मात्रै काम गर्नेलाई श्रम स्वीकृति दिन थालेको छ । घरेलु श्रमिकलाई श्रम स्वीकृति दिन रोकेको छ ।
इराकमा कार्यरत नेपालीलाई बिदामा आई पुनः इराकमै काम गर्न इच्छुक भएकालाई अभिलेखीकरण गरी श्रम स्वीकृति दिने भन्दै मन्त्रिपरिषदको बैठकले निर्णय गरेको थियो । तर, श्रम मन्त्रालयले कम्पनीमा मात्रै काम गर्ने श्रमिकलाई श्रम स्वीकृति दिन थालेको छ ।
गत पुस ११ गते मन्त्रिपरिषदको बैठकले इराकमा रेसिडेन्सी कार्ड पाएका नेपालीलाई अभिलेखीकरण गर्न श्रमस्वीकृति दिने निर्णय गरेको थियो । ‘आधिकारिक भिसा (रेसिडेन्सी कार्ड) प्राप्त गरेका नागरिकले नेपाल आएका बखत उक्त रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृति प्रदान गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा लेखिएको छ ।
गैरआवासीय नेपाली संघ, इराकले वैदेशिक रोजगार विभागबाट विभेद भएको जनाएको छ । ‘हामीले जो नेपाली इराकमा छन् । जसले नियमित काम गरिरहेका छन् । उनीहरू सबैलाई श्रम स्वीकृति दिनुपर्छ भन्ने माग राखेका थियौँ । मन्त्रिपरिषद्को निर्णयमा पनि रेसिडेन्सी कार्ड प्राप्त गरेकोलाई श्रम स्वीकृति दिने भन्ने स्पष्ट निर्णय छ,’ एनआरएन इराकका अध्यक्ष विनोद श्रेष्ठले भने,‘विभागले नेपाली नागरिकमाथि नै विभेद गर्ने काम भएको छ । मन्त्रिपरिषद्को निर्णयमा नभएको विभेद विभागले कार्यान्वयनमा देखाएको छ ।’
इराकमा रहेका नेपालीको तर्फबाट पटक-पटक श्रम मन्त्रालय र विभागमा यसबारे ध्यानकर्षण जनाए पनि सुनुवाइ नभएको उनको भनाइ छ । ‘मैले श्रम स्वीकृति पाएँ । म कम्पनीमा काम गर्छु । तर, मैसँग आवेदन दिएको अर्का नेपालीले श्रम स्वीकृति पाएनन् । यसले हामीलाई हर्षित बनाएको छैन,’ उनले भने,‘जब घरमा काम गर्ने श्रमिकले सबै सुविधा पाएको छ । उसले आफूलाई सुरक्षित महसुस गरी त्यही घरमा काम गर्न जान तयार छ भने सरकारले यसलाई सहजीकरण गर्नुपर्दथ्यो ।’
एनआरएन इराकका अनुसार ३० हजार नेपाली कार्यरत छन् । जसको ८० प्रतिशत नेपाली महिला घरेलु श्रमिकको हैसियतमा काम गर्छन् । श्रम मन्त्रालयले एक वर्ष अगाडि नै भिजिट भिसा लिई वैदेशिक रोजगारीमा गएकालाई श्रम स्वीकृतिको दायरामा ल्याउनको लागि श्रम स्वीकृति दिने भन्दै वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधिलाई संशोधन गरिएको थियो । त्यो कार्यविधिले २०२४ को सेप्टेम्वर ३० सम्म भिजिट भिसामा गएकालाई दूतावास र विभागबाट श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । यसले घरेलु श्रमिकलाई समेत सम्बोधन गरेको थियो ।
श्रम मन्त्रालयले पारिवारिक पुनर्मिलन, श्रमिकको कल्याणकारी सुविधा र सामाजिक सुरक्षाको दायराभित्र ल्याउनका लागि श्रम स्वीकृति प्रदान गर्न कार्यविधिलाई सम्बोधन गरेको जनाएको थियो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले इराक र इराकको स्वशासित राज्य कुर्दिस्तान प्रतिष्ठान (कम्पनी)मा काम गर्नेलाई श्रम स्वीकृति दिइएको बताइन् । ‘घरेलु श्रमिकको विषयमा अझै स्पष्ट बोलेको छैन । यसमा हामीले मन्त्रालयसँग छलफल गरिरहेका छौं,’ उनले भने,‘घरेलु श्रम स्वीकृति दिन बनाइएको निर्देशिकामा इराक छैन । यसलाई संशोधन गरी इराक थप्नुपर्ने देखिएको छ ।’
