मुगुमा ‍विरासत जोगाउन र भत्काउन त्रिपक्षीय प्रतिस्पर्धा

मुगुमा नेकपा उम्मेदवार चन्द्रबहादुर शाही ‘ह्याट्रिक’ गर्ने दाउमा, कांग्रेसका खड्गबहादुर शाही र एमालेका पूर्णबहादुर रोकाया पहिलोपल्ट चुनावी मैदानमा छन्।

माघ १३, २०८२

कृष्णप्रसाद गौतम

Tripartite competition to preserve and destroy heritage in Mugu

What you should know

सुर्खेत — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुगुमा कांग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

जसलाई राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका उम्मेदवारले चुनौती दिएका छन्। 

मुगुमा कांग्रेस उम्मेदवार खड्गबहादुर शाही र एमालेका पूर्णबहादुर रोकाया पहिलोपटक संसदीय प्रतिस्पर्धामा सहभागी भएका हुन् भने नेकपाका चन्द्रबहादुर शाही २०५६ सालको प्रतिनिधिसभा निर्वाचन र २०७४ सालको प्रदेशसभा निर्वाचनमा विजयी भएसकेका छन्। उनी कर्णाली प्रदेशको भूमि व्यावस्था तथा कृषि सहकारी मन्त्रीसमेत बनिसकेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा मुगुबाट कांग्रेस उम्मेदवार विजयी भएका थिए।

कांग्रेस पुरानो विरासत जोगाउने दाउमा छ भने अरु पार्टी भत्काउनेगरि चुनावी अभियानमा होमिएका छन् ।      
कांग्रेस उम्मेदवार शाही पूर्व पार्टी जिल्ला सभापति हुन् । जिल्लाको विकास समग्र विकास र जनजीविकाका सवाललाई संसदसम्म पुर्‍याउन आफूले उम्मेदवारी दिएको उनले बताए । ‘अझै पनि जनताका समस्यालाई संघीय सरकारले बेवास्ता गरिरहेको छ, ती समस्या समाधानका लागि सरकारको ध्यानकर्षण गराउन जरुरी छ,’ उनले भने, ‘सडक, शिक्षा, स्वास्थ्य र रोजगारीलाई पनि प्राथमिकतामा राखेको छु ।’ 

एमाले उम्मेदवार रोकाया एमाले जिल्ला अध्यक्ष हुन् । उनी यसअघि जिल्ला समन्वय समितिको प्रमुख थिए । मुगुलाई समृद्ध जिल्लाका रूपमा विकास गर्ने लक्ष्यसहित पहिलोपल्ट चुनावी प्रतिस्पर्धामा उत्रिएको उनले बताए । ‘जिसस प्रमुख हुँदा पनि जनताका समस्या नजिकबाट नियालेको छु,’ उनले भने, ‘ती समस्या समाधानका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा मेरो भूमिका हुनेछ ।’ 

नेकपा उम्मेदवार शाही पार्टीको केन्द्रीय कमिटी सदस्य हुन् । उनले विगतको अनुभवले पनि आफू योग्य उम्मेदवार रहेको दावी गरे । ‘किसान, मजदुर तथा पछाडि परेका वर्गको पक्षमा कानुन निर्माण गरी उनीहरुको जीवनस्तर माथि उठाउन जरुरी छ,’ उनले भने, ‘प्रदेश र संघीय संसदमा यसअघि पनि आफ्नो भूमिका निर्वाह गरिसकेको छु, जिल्लाको विकास र समृद्धिका लागि पनि संसदमा मेरो भूमिका थप सशक्त हुनेछ ।’

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगुमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट भवन टमटा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल पनि चुनावी प्रतिस्पर्धामा छन् । टमाटाले पुरानो राजनीतिक शैलीभन्दा फरक ढंगले काम गर्दै सुशासनलाई केन्द्रमा राखेर काम गर्नेगरि आफूले उम्मेदवारी दिएको बताए । मल्लले युवापुस्ताको आवाज बुलन्ध गर्न आफूले संसदीय यात्रा रोजेको जानकारी दिए । 

गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार ऐनबहादुर शाही १४ हजार ७ सय ६ मतसहित विजयी बनेका थिए । प्रदेशसभा १ (१) मा एमालेका जीतबहादुर मल्ल ६ हजार ६ सय १६ र निर्वाचन क्षेत्र नं. १(२) मा नेकपाका मंगलबहादुर शाही ८ हजार ४ सय २९ मतसहित विजयी भएका थिए । गत प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र पूर्व माओवादीबीच गठबन्धन थियो । 

४ स्थानीय तह रहेको मुगुमा गत स्थानीय तह निर्वाचनमा २ स्थानीय तहको प्रमुख र अध्यक्ष कांग्रेसले तथा २ प्रमुख तथा अध्यक्ष नेकपाले जितेको छ भने ३ उपप्रमुख/उपाध्यक्ष कांग्रेसले र एमालेले एक ठाउँमा जितेको छ। 

योपल्ट कुनै पार्टीबीच गठबन्धन नभएकाले यस निर्वाचनबाट पार्टीहरुको बास्तविक अवस्था देखिने नागरिक अगुवा सुरेन्द्र शाहीले बताए । ‘उम्मेदवारले विगतमा गरेका काम र भविश्यका लागि उनीहरुको एजेण्डा हेरेर मतदाताले सबैभन्दा सक्षम व्यक्तिलाई मतदान गर्न जरुरी छ,’ उनले भने, ‘अहिले जनता धेरै बाठा भइसकेका छन्, त्यसैले आफूले जिताएका जनप्रतिनिधिले प्रतिवद्धताअनुसार काम गरे कि गरेनन् भनेर खबरदारी गर्न जरुरी छ ।’ 

स्थानीय बुद्धिजिवी सुरेन्द्र मल्लले यसपालि मतदाताले ठूलो सुझबुझ र विवेक प्रयोग गर्नुपर्ने बताए । ‘नत्र एक दिनको मतदानले ५ वर्षसम्म पछुताउने अवस्था आउनसक्छ,’ उनले भने, ‘त्यसैले दलभन्दा पनि उम्मेदवारको योग्यता र क्षमता हेरेर उम्मेदवार विजयी गराउनु जरुरी छ ।’ 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मुगुमा ३६ हजार ३१ मतदाता छन् । जिल्लाभरि ६७ मतदानस्थल र ६९ मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ । निर्वाचनका लागि आवश्यक पूर्वतयारी भइरहेको र शान्तिसुरक्षाको अवस्था सामान्य रहेको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully