टायर कान्छालाई सघाउन कतिपय टिमसहित आएका छन् भने जेनेरेटर चलाउन कतिले त तेल पनि सहयोग गरेका छन् ।
What you should know
चितवन (सिमलताल) — गत पुस २७ को बिहान त्रिशूली नदी किनारमा अचानक एउटा वस्तु देखियो । पानीको सतहमा तैरिरहेको र बालुवामा आधाभन्दा बढी दबिएको ।
बसको जस्तो सानो भाग बाहिर निस्किएको देखेपछि माछा मार्ने एक व्यक्तिले प्रहरीलाई खबर गरे । त्यसपछि तनहुँस्थित इलाका प्रहरी कार्याल आबुखैरेनीबाट प्रहरी निरीक्षक नेतृत्वको टोली बस भेटिएको स्थान पुग्यो । साबेल लिएर पुगेको टोलीलाई पहिलो दिन नै हम्मेहम्मे पर्यो ।
प्रहरी निरीक्षक प्रदीप सुवेदी भन्दै थिए, ‘उत्खनन गरेर बस निकाल्ने सम्भावना निकै कठिन छ ।’
त्यसपछि थपियो, चितवनको सशस्त्र प्रहरी बल नेपाल १७ नम्बर गण आँपटारीको टोली । उक्त टोलीले तत्काल उत्खनन गरेर निकाल्ने उपाय निकाल्न सकेन ।
यही बेला तनहुँ प्रशासनले एक व्यक्तिलाई खोज्न थाल्यो, जो लामो समयदेखि दुर्घटनामा परेका गाडी निकाल्दै आएका थिए । उनी थिए, मिलन चेनपुलीका प्रमुख टायर कान्छा उर्फ सन्तबहादुर श्रेष्ठ ।
आफ्नै आँखाले ठाउँ देखेपछि उनले ५ दिनमै बस निकाल्न सकिने निष्कर्ष सुनाए र दुई लाख रुपैयाँ भए काम अघि बढाउने निधो गरे । ‘सुरुमा त ५ दिनमा सक्छु जस्तो लागेरै २ लाखमा गर्छु भनेँ तर सोचे जस्तो भएन,’ उनी सुरुवाती दिन सम्झिन्छन्, 'सशस्त्र प्रहरी, नेपाल प्रहरीको साथले काम गर्न सहज बन्दै गएपछि निरन्तरता दिएँ ।’
प्रशासनले लागेको खर्च बेहोर्ने आश्वासन दिएपछि उनी काममा खटिइरहेका छन् । ‘तपाईंको दुःख हामी हेर्छौं भन्नुभएको छ, त्यही भएर सहज रुपमा काम गरिरहेका छौं,’ टायर कान्छाले सुनाए ।
बाल्टीले पानी फालेर बस निकाल्न सहज हुने कुनै भएन । बस हल्लाउन पनि कठिन भएपछि सशस्त्र प्रहरीले भाडामा जेनेरेटर ल्याएपछि पानी फाल्न सहज बन्यो । सुरुवाती केही दिन आबुखैरेनी प्रहरीले नै जेनेरेटर चलाउन तेलको व्यवस्थापन गर्दै आएको थियो । कुनै बेला काम गर्दागर्दै तेल सकिँदा कामै रोक्नुपर्थ्यो । त्यही अवस्था देखेपछि सहयोगी दाता पनि थपिँदै गए ।
सोमबार दिउँसो भरतपुर–२९ का वडा सदस्य सेतु गुरुङ १० लिटर पेट्रोल लिएर त्रिशूली किनार पुगे । त्यसअघि नै गुरुङले बिहान ६ लिटर पेट्रोल पठाएपछि जेनेरेटर चलाएर पानी फालिएको थियो ।
खाल्डोमा जम्मा भएको पानी फाल्न पटक–पटक जेनेरेटर चलाउनुपर्ने हुन्छ । जेनेरेटर बन्द हुँदा एकैछिनमा पानी भरिन्छ । जसका कारण काम गर्न कठिन हुन्छ । अहिले जेनेरेटर चलाउन मात्रै दैनिक ५ देखि ७ लिटर पेट्रोल चाहिन्छ । सशस्त्र प्रहरीले भाडामा ल्याएको जेनेरेटरको जमानी अहिले स्वयं टायर कान्छा बसेका छन् । ‘अहिले आफै जमानी बसेपछि तेलको जोहो गर्न पनि खटिएको छु, सुरुमा आबुखैरेनी प्रहरीले तेलको व्यवस्थापन गर्दै आइरहेको थियो, पछि केही मैले आफ्नै पैसाले किनेर ल्याए, तेल किनेर ल्याउन टाढा भएकाले गाह्रो भइरहेको छ,' उनले भने, 'अहिले विभिन्न सहयोगी दाताले तेल ल्याइदिँदा काममा पनि सहज भइरहेको छ ।’
उनले काम सुरु गरेको केही दिनसम्म खासै सहयोग जुटेको थिए । उनी निरन्तर काममा दत्तचित्त भएर लागेपछि सहयोग आउन थालेको छ । ‘सुरुवातमा प्रहरी बाहेकको सहयोग खासैको पाएको थिएन, अहिले त आम मानिसले सहयोग गरिरहनुभएको छ, धेरैको माया पाउँदा खुसी छु,’ उनी भन्छन् ।
अहिले टायर कान्छा कुनै सेलिब्रेटीभन्दा कम छैनन् । उनको अन्तर्वार्तादेखि काम गरिरहेको दृश्यले सामाजिक सञ्जाल छाएको छ । त्यही कारण उनलाई सहयोग जुट्दा काम गर्न पनि सहज भइरहेको छ । उनलाई काममा सहयोग गर्नकै लागि विभिन्न ठाउँबाट सहयोगी आए । पश्चिम बुटवलदेखि परदेशी चौधरी एक्लै आएर उनलाई केही दिन सघाए । उनीहरुसँगै रात बसेर एक साता काममा सघाउँदा पनि उपलब्धि हासिल नगरेपछि उनी घर फर्किएका छन् । अहिले फेरि नवलपरासी पूर्व कावासोतीबाट मुक्तिदाता वेल्डिङ सेवाका राजेन्द्र गोतामे आएका छन् । पाँच जनाको टिम लिएर आएका राजेन्द्र अहिले टायर कान्छासँगै साझेदारीमा काम अघि बढाइरहेका छन् ।
बस उत्खननमा सुरुदेखि नै तनहुँको भानुस्थित सशस्त्र प्रहरी बल २३ नम्बर गणबाट दैनिक १० जनाभन्दा बढीको टोली खटिँदै आएको छ । कुनैबेला २५ जनाका टोली आएर खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक दाउरे मगरले बताए । ‘भएका उपकरणसहित दैनिक २५ जनासम्मले उत्खननमा सघाउँदै आइरहेका छौं,' उनले भने ।
संवेदनशीलता हेरेर निरन्तरता : प्रजिअ तिवारी
बस उत्खनन गर्न थालेको मंगलबार १७ दिन पुगेको छ । यही क्रममा सोमबार साँझ एउटा मानव अवशेषसमेत फेला पर्यो । गाडीको पछाडि र बीचको भाग अझै बालुवाभित्रै गाडिएको छ । अरु पनि मानव अवशेष हुन सक्ने संवेदनशीलतालाई बुझेर उत्खननलाई निरन्तरता दिएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।
उत्खननमा खटिएका टायर कान्छाको टिमलाई काम गर्दा लागेको खर्चको बिल भरपाइअनुसार भुक्तानी गर्ने उनको भनाइ छ । ‘सुरुमा २ लाखमा काम गर्ने कुरा भएको थियो, अहिले समय लाग्यो, उहाँले बुझाउनुभएको बिलको आधारमा नै भुक्तानी गर्छौं,’ प्रजिअ तिवारीले भने । अहिले काटेर गाडीको भाग निकाल्ने काम भइरहेको उनले बताए ।
