गृह मन्त्रालयले दुरुपयोग भएको पाइएमा मुलुकी अपराध संहिता बमोजिम कारबाही गरिने जनाएको छ ।
What you should know
काठमाडौँ — गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न सचेत गराएको छ ।
‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा छ ।
निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झन्डा प्रयोग गर्न/गराउन नहुने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।
त्यसैगरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झन्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको राष्ट्रिय झन्डा प्रयोग गर्न नहुने व्यवस्था रहेको र सोको उल्लंघन भएमा सजायको व्यवस्थासमेत गरिएको छ ।
नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झन्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन ‘राष्ट्रिय झन्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको छ । राष्ट्रिय झन्डाको आकार, प्रयोग, प्रयोग गर्ने विधि, राष्ट्रिय झन्डा फहराउने विधि एवम् राष्ट्रिय झन्डाको प्रयोगमा निषेधसहितका प्रावधानहरू रहेका छन् । त्यसैगरी प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रभित्र यस कार्यविधिबमोजिम राष्ट्रिय झन्डाको प्रयोग भए/नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्ने प्रावधान छ ।
मन्त्रालयले भनेको छ, ‘राष्ट्रिय झन्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झन्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न, राष्ट्रिय झन्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झन्डाको दुरुपयोग गर्न, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झन्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतीक/चित्र राख्न, फहराउने प्रकृतिको (राष्ट्रिय झन्डा ओरालेर राख्दाबाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झन्डाको प्रयोग गर्न निषेध गरिएको छ ।’
