प्रदेशसभा चुनावमा बागी, राष्ट्रियसभामा मतदान

आइतबार भएको राष्ट्रियसभा चुनावमा बागी बनेर चुनाव हराएका देवेन्द्रबहादुरले आफुबाटै पराजित बनेका ललितजंगलाई मतदान गरे ।

माघ १२, २०८२

डीबी बुढा

Rebels in Provincial Assembly elections, voting in National Assembly

What you should know

जुम्ला — सामाजिक सञ्जालमा एकाबिहानै २०७९ को प्रदेशसभा निर्वाचनमा जुम्ला १ (१) बाट निर्वाचित देवेन्द्रबहादुर शाही र उनीबाटै पराजित बनेका उतिबेला कांग्रेसका उम्मेदवार ललितजंग शाही र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतको तस्बिर देख्दा कांग्रेस जुम्लामा रहेका कार्यकर्ता निकै उत्साहित थिए।

कसैले कांग्रेस एक ढिक्का भएको भन्दै खुसी मनाइरहेका थिए त कसैले अचम्म मानिरहेका थिए । किनकी देवेन्द्रबहादुर धारा चुनाव चिन्ह लिएर ललितजंग शाहीबिरुद्ध बागी उम्मेदवार बनेर जितेका थिए । 

प्रदेशसभा सदस्य निर्वाचनदेखि उनीहरुको बोलचाल समेत थिएन । तर आइतबार भएको राष्ट्रियसभाको चुनावमा उनै बागी बनेर चुनाव हराएका देवेन्द्रबहादुरले आफुबाटै पराजित बनेका ललितजंगलाई मतदान गरे । देवेन्द्रबहादुरले भने, ‘राजनीतिमा माया र दुस्मनी हुँदैन । ६४ वर्षको भए कसैलाई तलामाथि गरिनँ । यो पटक पनि गर्वका साथ मतदान गरें । जसले कांग्रेसमा राम्रो सन्देश फैलिइएको छ ।’ 

प्रदेशसभा चुनावमा स्वतन्त्र लड्दा समाजप्रतिको लगावको प्रतिफलले मतदाताले जिताएको उनले बताए । ‘मतदाताले जिताए । केही असन्तुष्टि थियो । त्यसको प्रतिफल स्वरुप जिते । अन्य पार्टीबाट मन्त्री बन्ने आश्वासन पाउँदा पनि कांग्रेस छोड्न सकिन,’ देवेन्द्रबहादुरले भने, ‘हिजोसम्म तितोपिरो थियो, मेटियो । काकाभतिजा नाता त नजिकै थियो । त्यो भन्दा बढी आफुले नै मतदान गरेर जिताउन पाए । यसैमा खुसी छु ।’

२०७९ मा ललितजंग कर्णालीको मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा उत्रिएका थिए । देवेन्द्रबहादुर बागी बनेर उभिएपछि ललितजंगले त्यतिबेला हार्नुपरेको थियो । प्रदेशसभाको चुनावपछि उनीहरुको बोलचाल समेत थिएन । उनको न मुख्यमन्त्री सपना पूरा भयो न प्रदशसभा सांसद बन्ने धोको । तर आइतबार भएको राष्ट्रियसभा निर्वाचनले उनीहरुलाई एकै थलोमा उभ्यायो । 

निर्वाचित भइसकेपछि उनीहरुबीच अंकमाल गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दा जुम्ली कांग्रेस कार्यकर्ता उत्साहित देखिएका छन्। यसले प्रदेशसभा निर्वाचनमा चिसिएको मन राष्ट्रियसभामा आएर मिलेको प्रमाणित भएको कांग्रेस जुम्लाका सचिव लक्ष्मणबहादुर शाहीले बताए । 
Rebels in Provincial Assembly elections, voting in National Assembly

यी दुई जनाको मिलनले पार्टीको आन्तरिक एकतामा उर्जा भरेको उनले बताए । ‘अब जनताका काम प्रदेश र राष्ट्रियसभामा मिलेर सम्बोधन हुनेछन्। पार्टीभित्र सहमति सहकार्य र एकताको सन्देश फैलिने छ,’ सचिव शाहीले भने, ‘एकताका बोलचाल नै बन्द थियो । अहिले अंकमाल गर्नेसम्म पुगेको छ । यो जुम्ली कांग्रेसका लागि सकरात्मक सन्देश हो । उनका अनुसार शनिबार जुम्लाका कार्यकर्ताले उनीहरु दुबै जनालाई एकैथलोमा राखेर मिल्न दबाब दिएका थिए । ‘आपसमा माझामाझ भयो, मनमा केही तुष नरहने गरेर मिल्ने काम भयो,’ उनले भने। 

कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंगविरुद्ध बागी उम्मेदवार देवेन्द्रबहादुरले १ हजार ८ सय ९९ मतले जितेका थिए । जुम्ला प्रदेश (१) मा २४ हजार ७८८ मत खसेको थियो । जसमा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुरले ९ हजार ६५४ मत पाए । पराजित ललितजंगको पक्षमा ७ हजार ७५५ मत आएको थियो । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully