छानबिन सिफारिसको ६ वर्षपछि 'फेक रेस्क्यु'को अनुसन्धान

उद्धार गर्ने कम्पनी, हेलिकोप्टर र अस्पतालसमेतको मिलेमतोमा यस्ता गतिविधि हुँदै आएको प्रहरीको दाबी छ ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुसन्धानका लागि सिफारिस गरेको ६ वर्षपछि प्रहरीले पर्वतारोही तथा पदयात्रामा निस्किएका पर्यटकको नक्कली उद्धार उडानबारे अनुसन्धान थालेको छ ।

२०७५ मा तत्कालीन सहसचिव घनश्याम उपाध्याय नेतृत्वको छानबिन समितिले यो विषयमा संगठित अपराध तथा ठगीको कसुरमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गर्नुपर्ने भन्दै प्रतिवेदन बुझाएको थियो । त्यो सुझाव गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगे पनि अनुसन्धान अघि बढ्न सकेको थिएन । 

तर, प्रहरीले आइतबार बिमा रकम हत्याउन पर्यटकको नक्कली उद्धार गरेर राष्ट्रको मर्यादामा आँच आउने काम गरेको आरोपमा ६ जनालाई पक्राउ छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार, पक्राउ पर्नेमा उद्धार कम्पनी माउन्टेन रेस्क्युका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रवीन्द्र अधिकारी, अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एन्ड एसिट्यान्सका कार्यकारी निर्देशक मुक्ति पाण्डे र म्यानेजर सुभास केसी छन् । 

माउन्टेन रेस्क्यु सर्भिस प्रालिबाट उद्धार भएका १२ सय ४८ मध्ये १ सय ७१ जना, नेपाल चार्टर्ड सर्भिसबाट ४ सय ७१ मध्ये ७५ जना र एभरेस्ट एक्सपिरियन्सबाट ६ सय १ मध्ये ७१ जना पर्यटकको शंकास्पद उद्धार गरिएको प्रारम्भिक जाँचमा देखिएको सीआईबीको भनाइ छ । ‘एउटा क्षेत्रका लागि अनुमति लिएर अर्कै ठाउँबाट उद्धार गरिएको विवरण पेस, नक्कली कागजात, दुई/तीन जनाको एकै पटक उद्धार गरेर फरकफरक उद्धारको बिल बनाउने जस्ता काम गरेर यो अपराध भएको देखिन्छ,’ केसीले भने, ‘बिमा भुक्तानी गर्ने कम्पनीले प्रश्न उठाउँदै पठाएका इमेलसमेत प्राप्त भएका छन् ।’ 

उनीहरूविरुद्ध संगठित अपराध, ठगी, लिखत किर्ते र राष्ट्रहित प्रतिकूल काम गरेको आरोपमा अनुसन्धान अघि बढ्ने केसीले बताए । ‘हामीले एउटा कार्यदल नै गठन गरेर यो विषयमा साढे २ महिनादेखि अनुसन्धान गरिरहेका थियौं,’ उनले भने, ‘त्यसक्रममा उद्धार गर्ने कम्पनी, हेलिकोप्टर र अस्पतालसमेतको मिलेमतोमा यो गतिविधि हुँदै आएको खुलेको छ ।’ 

प्रहरीले हालसम्म हेलिकोप्टर र अस्पतालसँग सम्बद्ध व्यक्तिहरूलाई भने पक्राउ गरेको छैन । ‘यिनै कम्पनीमा भएका मानिसहरू हेलिकोप्टर र अस्पतालसँग पनि जोडिएको देखिन्छ, विस्तृत अनुसन्धानका क्रममा त्यो तहका मानिसहरू पनि छानबिनको घेरामा आउँछन्,’ केसीले थपे, ‘पहिलो चरणमा उद्धार गर्ने कम्पनीहरू अनुसन्धानको दायरामा आएका छन् ।’ 

उनका अनुसार, यो अनुसन्धान अघि बढाउन प्रहरीले उपाध्याय नेतृत्वको समितिको प्रतिवेदनसँगै १२ असोज र १ पुसमा नक्कली उद्धार उडानमा संलग्न कम्पनीलाई कारबाही माग गर्दै आएको उजुरीलाई समेत आधार बनाएको थियो । ‘विदेशी पर्यटकलाई लक्षित गरेर केही ट्रेकिङ/ट्राभल कम्पनी, हेली रेस्क्यु कम्पनी, अस्पताल र पर्यटक गाइडको अवैध मिलेतोमा नक्कली उद्धार कार्य भइरहेको सूचना थियो,’ उनले भने, ‘त्यसमाथि निकै पहिलेदेखि विदेशी सञ्चारमाध्यमहरूमा समेत यसबारे समाचार आइरहेका थिए, जसले नेपालको प्रतिष्ठा र राष्ट्रिय गौरवमा समेत नकारात्मक आँच पुर्‍याएको थियो । त्यसैले अनुसन्धान थालेका थियौं ।’ 

उपाध्याय नेतृत्वको समितिको प्रतिवेदनले पर्यटकलाई नियोजित रूपमा बिरामी गराउन खानेकुरामा मिसावट गराई उद्धार गरेर काठमाडौं ल्याउने गरिएको खुलाएको थियो । त्यसपछि अस्पताल भर्ना गराएर संगठित तवरले बिमा रकम दाबी गर्ने, एउटै उडानमा धेरै पर्यटकलाई ल्याएर अलगअलग मान्छेको नाममा बेग्लै बिल जारी गरेको उल्लेख थियो ।

‘हामीले २०२२ देखि २०२५ सम्मका उद्धार उडानका घटनाहरूको जाँच गरेका थियौं, त्यसमा पर्यटकको बिमाबारे जानकारी लिएर लेक लागेको अवस्थामा बढाइचढाई गरेर डर देखाउने गरिएको पाइएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक (डीएसपी) दान थापाले भने, ‘पर्यटकलाई हेलिकोप्टर माग गर्न बाध्य पार्ने वा त्यस्तो अवस्थाको सिर्जना गराउने गरिएको देखिन्छ ।’ त्यसपछि निश्चित अस्पतालमा लगेर स्वास्थ्य रिपोर्ट तयार पारेर रेस्क्यु कम्पनी र अस्पतालले फरकफरक वा एकमुष्ट बिमा कम्पनीसँग रकमको दाबी गर्ने गरिएको पाइएको छ ।

कान्तिपुर

Link copied successfully