डुम्रे–बेंसीसहर सडक तीन दिनका लागि बन्द

नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट सवारीसाधन डाइभर्ट गराई आवागमन भइरहेको छ ।

माघ १२, २०८२

रासस

लमजुङ — लमजुङ-तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ ।

यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । 

केही वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे –बेँसीसहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार प्रशासनले  सूचना जारी गरेर सडक बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले बताए ।

नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधन डाइभर्ट गराई आवगमन भइरहेको उनको भनाइ छ । यस सडक हुँदै काठमाडौँ, पोखरा, चितवन लगायतको जिल्लामा सवारीसाधन सञ्चालन हुने गरेको छ । सो स्थानबाट बेँसीसहर र साथै हिमाली जिल्ला मनाङको स्थानीयसमेत यही सडक हुँदै आवतजावत गर्ने गर्दछन् ।  

सो स्थानमा २०७८ असार १ र २०७८ साउन ११ मा गएको पहिरोले सडक बगाएको थियो । सडक रोकथामको लागि सङ्घीय सरकारले ११ करोड १९ लाख बजेटमा रोकथाम कार्य तथा सो स्थानमा ४ सय मिटरजति सडक कालोपत्रे हुन लागेको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजना प्रमुख सतीश सुवेदी कालोपत्र गर्नको लागि काम भइरहेको बताए । यहाँ पहिरो रोकथाम कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको उनको भनाइ छ ।

रासस

Link copied successfully