उपल्लो डोल्पाका तीन पालिकाका धेरैजसो मतदाता अहिले तल्लो डोल्पा र केही जिल्लाबाहिर छन् । हिमपातले चुनावताका गाउँ फर्किन असम्भव भएको उनीहरूको गुनासो ।
What you should know
डोल्पा — शे–फोक्सुण्डो गाउँपालिका-४ का उर्गेन लामा काम विशेषले काठमाडौं झरेका छन् । उनलाई घर कसरी फर्किने भन्ने चिन्ताले पिरोलेको छ । उनी चैत मसान्तमा फर्किने गरी झरेका हुन् । तर, फागुन २१ मा निर्वाचन तोकिएकाले कसरी भोट हाल्न जाने भन्ने उनको मनमा गहिरो चिन्ता छ ।
‘उपल्लो डोल्पामा सामान्य बादल लाग्दा पनि हिमपात हुन्छ । हिउँले बाटाघाटा बन्द छन् । एकै पटक चैत मसान्ततिर हिउँ पग्लिने हुन्छ । फागुनमै जाने हो भने लेक लागेर र हिउँको अत्यधिक चिसोले ज्यान जाने खतरा हुन्छ,’ उनले भने, ‘प्रत्येक हिउँमा कोही उपचारका लागि सहर झरेका हुन्छन् । कोही बालबालिका भेट्न र कोही तीर्थयात्राका लागि झरेका हुन्छन् । त्यतिमात्र नभई आफूले पालेका पशुबस्तुलाई चरिचरन गराउनका लागि समेत तल्लो डोल्पा झरेका हुन्छन् ।’
निर्वाचन आयोगले पनि काठमाडौंको अवस्था हेरेर देशभर निर्वाचनको मिति तोक्दा हिमाली क्षेत्रका बासिन्दा अमूल्य मताधिकारको प्रयोगबाट छुट्न थालेको उनको भनाइ छ । लामा जस्तै उपल्लो डोल्पाका धेरै मतदाताको धारणा चुनावको मिति सार्नुपर्नेमा छ ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले अहिले उपल्लो डोल्पाका अधिकांश सर्वसाधारण काम विशेषले थातथलो छोडेको बताए । ‘उपल्लो डोल्पाका तीन पालिकाका धेरैजसो मतदाता तल्लो डोल्पा र जिल्लाबाहिर छन् । हिमपातले चुनावताका गाउँ फर्किन असम्भव छ । निर्वाचन आयोगले पनि सबैलाई हेलिकप्टरमा सार्ने सम्भावना देखिँदैन । त्यसो त हिमाली क्षेत्रको चुनाव सार्नुपर्ने देखिन्छ,’ बुढाले भने । डोल्पा लगायत उच्च हिमाली क्षेत्रका लागि दुई महिना चुनाव सारेर जेठमा गर्दा उपयुक्त हुने उनको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा
डोल्पामा शनिबार जिल्लाभरि नै हिमपात भयो । केही दिनको मौसम बदलीपछि जिल्लाभरि नै वर्षातसँगै हिमपात भएको थियो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा अझ धेरै हिमपात भएको छ।
बादल लाग्नेबित्तिकै प्राय: हिमपात भइराख्ने उपल्लो डोल्पामा शनिबारको हिमपातले आसन्न निर्वाचनमा थप चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी जुनु ढकालले बताइन् । ‘यसअघि परेको हिउँ बाँकी नै थियो । फेरि शनिबारको थपियो । जसले गर्दा निर्वाचन तयारीमा चुनौती थपिएको छ । निर्वाचन सामग्री हेलिकप्टरमा पठाइएला तर छुटेका मतदाता, निर्वाचनमा खटिने कर्मचारी,सुरक्षाकर्मी कसरी उपल्लो डोल्पा लैजाने भन्ने चिन्ताको विषय बनेको छ,’ प्रजिअ ढकालले भनिन् ।
उनी भन्छिन्, ‘माथिल्लो क्षेत्रका तीनवटा स्थानीय तहका जनप्रतिनिधिले त विभिन्न कामले बेसी झरेका जनप्रतिनिधि कसरी लैजाने भन्ने विषयमा चिन्ता व्यक्त गर्नुभएको छ । हाम्रो पनि यही चिन्ता हो ।’
‘एक हप्ताभित्र कति बाहिरिएका छन् भन्ने मोटामोटी तथ्याङ्क आयो भने त्यहीअनुसार माथिल्लो निकायसँग समन्वय गर्छौं,’ उनले भनिन् । शनिबारको हिमपातले उपल्लो डोल्पाका उच्च भू-भागमा दुई फिटसम्म हिउँ जमेको जनप्रतिनिधिहरु बताउँछन् ।
शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकाका अध्यक्षहरुले निर्वाचन सार्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय र प्रमुख जिल्ला अधिकारी समक्ष दुई साताअघि नै ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।
शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सुम्डुक गुरुङले राज्यले अहिलेको मितिमा जबरजस्ती चुनाव गराए उपल्लो डोल्पाका धेरै मतदाता मताधिकारबाट बञ्चित हुने बताए ।
‘आफ्नो पालिका पुग्न ५ हजार ३ सय मिटरभन्दा अग्ला लेकहरु पार गर्नुपर्छ । धेरै पटकको हिमपातले बाटाघाटामा मान्छेको आधाउधी हुने हिउँ जमेको छ । यस्तो अवस्थामा बेसी झरेका मतदाता कसरी २१ फागुनमा उपल्लो डोल्पा पुगेर मतदान गर्न सक्छन् ?’ उनले प्रश्न गरे ।
‘म आफैं गाउँपालिकाको जिम्मेवार व्यक्ति हो । आसन्न निर्वाचनमा म आफैं जान सक्दिनँ । मेरो ४५ वर्षे उमेरमा यसरी अनुपयुक्त समयमा निर्वाचन भएको थिएन। तोकिएको मितिमा चुनाव गराउन असम्भव देख्छु म त ।’
सबैभन्दा ठूलो दानभित्र पर्ने मतदानबाट मतदाता छुटेको अवस्थामा यसको जिम्मेवारी निर्वाचन आयोग र सरकारले लिनुपर्ने उनको धारणा छ । हिउँदे याम सुरु भएसँगै उपल्लो डोल्पाका कतिपय सर्वसाधारण जाडो छल्न,औषधि उपचार लगायतका काम विशेषले तल्लो डोल्पासँगै सहरिया क्षेत्रमा झरेकाले जनप्रतिनिधिले आसन्न फागुन २१ को निर्वाचन सार्न माग गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
एक हप्ताबाट तीनवटै पालिकाबाट बाहिरिएका सर्वसाधाणको विवरण संकलन गर्ने काम गरिएको छ ।उपल्लो डोल्पा अहिले पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । सदरमुकाम दुनैबाट तीन दिनदेखि एक सातासम्म पैदल हिँड्नु पर्छ । त्यसमा पनि कात्तिकदेखि नै भारी हिमपात हुने हुने भएकाले चैतअघि उपल्लो डोल्पा पुग्ने बाटाघाटामा बाक्लो हिउँ जमेर आन्तरिक आवागमन बन्द हुन्छ ।
देशैभर एकै पटक निर्वाचन तोक्दा मतदातामात्र होइन, निर्वाचनका लागि आवश्यक सामग्री, कर्मचारी, सुरक्षाकर्मीह हेलिकप्टरमा समेत लैजान पनि समस्या हुने अवस्था छ ।
डोल्पामा नयाँ थपिएका एक हजारसहित मतदाता सङ्ख्या २४ हजार २ सय ५६ पुगेको छ । यहाँ ६८ वटा मतदान केन्द्र रहेका छन् ।
