सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकामा फैलिएको सिंजा क्षेत्रको जनसंख्या ३२ हजार २ सय छ । तर सरकारी बेवास्ताका कारण सिंजा सभ्यता नै लोप हुने अवस्थामा पुगेको छ ।
सुर्खेत — बाइसे–चौविसे शासनकालमा पश्चिम नेपालमा शक्तिशाली राज्य मानिन्थो– जुम्लाको सिंजा । भाषा र संस्कृतिसहित आर्थिक, सामाजिक, तथा भूराजनीतिक रुपमा पनि सिंजा अब्बल मानिन्थ्यो ।
‘१८४६ सम्म सिंजामा ठूलो हाटबजार लाग्थ्यो, चीनबाट ऊनबाट बनेका विभिन्न वेशभूषा निर्यात हुन्थ्यो, सिंजाको हाटबाटै आसपासका राज्यहरुमा मालसामान पठाइन्थ्यो,’ ईतिहासकार रमानन्द आचार्यले भने, ‘सिंजाको व्यापारिक सम्बन्ध भारततिर पनि फैलिएको थियो, त्यही सम्बन्धका कारण यो आत्मनिर्भर राज्य थियो ।’
सिंजा क्षेत्र अहिले सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकामा फैलिएको छ । जसको जनसंख्या ३२ हजार २ सय छ । तर सरकारी बेवास्ताका कारण सिंजा सभ्यता नै लोप हुने अवस्थामा पुगेको छ ।
ईसापूर्व १४४४ मा राजा जालन्दरले यो राज्य स्थापना गरेका थिए । खस भाषाको उद्गम थलो सिंजामा उनी र उनका उत्तराधिकारीहरुले झण्डै ३ सय वर्ष शासन चलाए । ‘नेपाली भाषा खस भाषाबाटै विकसित भएको मानिन्छ, राजा जालन्दरले शिवका भक्त थिए, उनले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिंजा नामाकरण गरेका थिए,’ सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, ‘खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटक आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको ईतिहास भेटिएको छ ।’
कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यका अनुसार राजा नागराज र बलीराजाका पालामा जुम्ला राज्य बढी समृद्ध र शक्तिशाली थियो । ‘गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्लाका अन्तिम राजा सूर्यमानले यही राज्य गरे,’ उनी भन्छन्, ‘सिंजा उपत्यका खस मल्लहरूको राजधानी थियो, अहिले पनि यहाँ नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेखलगायत प्राचीन र ऐतिहासिक सम्पदा सुरक्षित छन् ।’
सिंजा उपत्यकामा रहेको कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिरलगायत तीन दर्जन धार्मिकस्थल छन् । नाग्म–गमगढी सडक हुँदै सिंजा उपत्यका भएर कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल पुग्न सकिन्छ । तर सिंजा सभ्यता संकटमा पर्दै गएकोमा स्थानीय चिन्तित छन् । ‘प्राचीन र ऐतिहासिक महत्वका ढुंगे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेषलगायतका संरचना अलपत्र अवस्थामा छन्,’ हिमा गाउँपालिका–३ का नविन शाहीले भने, ‘यसको समयमै संरक्षण गर्न नसकिए नासिएर जाने जोखिम छ ।’ उनका अनुसार पाण्डवगुफा, बिराट दरबार, कनकासुन्दरी मन्दिरलगायत संरचनाको पनि संरक्षण हुन सकेको छैन ।
जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । ‘खस भाषा र सिंजाको सिको गर्दै नेपाली भाषा, सभ्यता, संस्कृति, संस्कार जन्मिएको हो,’ उनले भने, ‘सिंजालाई पुरातात्विक सम्पदाको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिए पनि बजेट अभावमा कार्यान्वयन अलपत्र परेको छ ।’ त्यस्तै कर्णाली प्रदेशसभामा २०७८ असोज १० गते सिंजा क्षेत्रको विकासका लागि ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक–२०७८’ दर्ता गरिएको थियो ।
कर्णाली प्रदेशसभाको पहिलो ‘गैरसरकारी विधेयक’ को रुपमा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले उक्त विधेयक दर्ता गराएका गिए । तर पहिलो कार्यकालको प्रदेशसभाको पदावधि सकिएसँग उक्त विधेयक निष्कृय बन्यो । राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष जगदीशप्रसाद पोखरेलको पहलमा झन्डै ५ वर्ष लगाएर २०७० सालमा गुरुयोजना तयार पारिएको थियो । ‘न गुरुयोजना कार्यान्वयनमा गयो न विधेयक नै पारित भयो,’ गाउँपालिका अध्यक्ष शाहीले भने, ‘हामीसँग बजेट नै हुँदैन, प्रदेश र संघीय सरकारले बजेटै पठाउँदैनन् ।’
पूर्वप्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले सिंजाक्षेत्र ऐतिहासिक र धार्मिक मात्र नभएर प्राकृतिक दृष्टिले पनि महत्वपूर्ण गन्तव्य भएको बताए । ‘यहाँको हरियो विशाल फाँट जोकोहीका लागि पनि चित्ताकर्षक छ, उपत्यकाको बिच भागबाट बगेको हिमा नदीले पनि यसको सौन्दर्य थपेको छ, यहाँको कृषि उत्पादन कुनैबेला तिब्बतसम्म पुग्थ्यो,’ उनले भने, ‘वस्तु विनिमय (वाटर) सिस्टमबाटै यहाँका मानिस उत्पादनमा आत्मनिर्भर थिए, ‘नेपाल एकीकरणको क्रममा सिंजा राज्य पतपछि कर्णाली क्रमशः परनिर्भर बन्न थाल्यो ।’
खस भाषाका जानकार एवं खस शब्दकोष ‘खसिया आँखर’ का सम्पादक रमानन्द आचार्यले बृहत जुम्ला राज्यको इतिहास र खस सभ्यता कैलाश र सिंजाबाटै भएको बताए । ‘तत्कालीन समयमा उत्तर र दक्षिणतिरबाट आएका जडान र दक्षिणबाट आएका खसानहरु मिलेर खस राज्यको स्थापना गरेका हुन्,’ उनले भने, ‘राजा नागराजले हाट सिंजालाई राजधानी बनाएर राज्य सञ्चालन गरेका थिए, सिंजा राज्यले ३२ क्षेत्रबाट कर असुल गर्थ्यो, जसका कारण आर्थिकरुपमा सम्पन्न राज्य मानिन्थ्यो ।’ उनले ‘माणु’ शब्द खस सभ्यताको देवतासँग जोडिएको र काठमाणु हुँदै काठमाडौं भएको दाबी गरे ।
नेपाल एकीकरणको बेला सिंजा राज्यमा गोर्खाले सेनाले दुईपटक गरेको आक्रमण असफल भएको थियो । ‘तेस्रो आक्रमणका त्रममा गोर्खाली राज्यले दसैंको समयमा यहाँ आक्रमण गर्यो, एकातिर खेतीपातीको कामको समय अर्कोतिर दसैं विदामा यहाँका सेनाहरु घरबिदामा गएको बेला आक्रमण भएपछि सिंजा साम्राज्य पराजित भयो,’ आचार्यले भने, ‘अन्तिम राजा भने भागेर तिब्बत पुग्न सफल भए ।’
सिंजाको सभ्यता बचाउन जरुरी रहेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । ‘यसको संरक्षणका लागि उच्चस्तरीय आयोग बनाएर योजनावद्ध विकास थाल्न जरुरी छ,’ उनले भने, ‘सिंजा क्षेत्रको पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुपर्छ ।’
