जेन–जी आन्दोलनपछि बन्द गरिएका देशभरका विमानस्थलका भीआईपी कक्ष नखुल्दा विमानस्थल र विशिष्ट व्यक्तिको सुरक्षामाथि बहस सुरु भएको छ ।
What you should know
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गरी काठमाडौं फर्किने क्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर र काठमाडौं दुवै विमानस्थलमा आफू 'अपमानजनक व्यवहारको सिकार' भएको दाबी गरेका छन् ।
जेन–जी आन्दोलनपछि बन्द गरिएका देशभरका विमानस्थलका भीआईपी कक्ष नखुल्दा विमानस्थल र विशिष्ट व्यक्तिको सुरक्षामाथि बहस सुरु भएको छ ।
शनिबार च्यासलमा आयोजित कार्यक्रममा ओलीले विराटनगर विमानस्थलमा अपमानजनक व्यवहार भोग्नुपरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आइतबार कान्तिपुरसँगको कुराकानीमा उनले काठमाडौं विमानस्थलमासमेत आफ्नो गाडीलाई एयरसाइड प्रवेश गर्न नदिइएको बताए । उनले ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले सुन तस्कर सरह कडाइका साथ जाँच गरेको आरोप लगाए ।
ओलीको अभिव्यक्तिपछि विराटनगर विमानस्थल प्रमुख सुवास झाले ओली विमानस्थल प्रवेश गरेदेखि जहाज चढ्दासम्मको सीसीटीभी फुटेज नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णलाई पठाइएको जानकारी दिए । उनका अनुसार ओलीको शारीरिक जाँच गरिएको थिएन भने ओलीसँगै आएका आठ जना यात्रुको भने नियमित सुरक्षा जाँच गरिएको थियो ।
ओलीले विशिष्ट व्यक्तिका लागि छुट्याइएको भीआईपी कक्ष बन्द गरिएकोमा आपत्ति जनाउँदै सरकारको आलोचना गरे । सर्वसाधारण प्रवेशद्वारबाट लाइनमा उभिनुपरेको अवस्थालाई उनले ‘मजाक’ बनाइएको टिप्पणी गरे । ‘भीआईपी कक्ष छ तर प्रयोगमा छैन । भित्र बस्ने ठाउँ नहुँदा उभिनुपर्यो, लाइनमै बसेर शौचालय जानुपर्ने अवस्था आयो,’ ओलीले भने ।
उनका अनुसार आफू आउने जानकारी विमानस्थल प्रशासनलाई पहिल्यै गराइएको थियो । ‘अतिरिक्त सुविधा खोजेको होइन, तर अनावश्यक असुविधा भयो,’ उनले भने । यसअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पनि यस्तै अनुभव भोगेको उल्लेख गर्दै ओलीले यस्तो व्यवहार अनुचित भएको बताए ।
गत भदौको जेन–जी आन्दोलनपछि ओलीको यो पहिलो काठमाडौं बाहिरको हवाई यात्रा थियो । सोमबार उनी यति एयरलायन्सको एटीआर विमानमार्फत भद्रपुर पुगेका थिए । त्यस क्रममा काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्ष प्रयोग गर्न नपाई उनी सिधै एप्रोन हुँदै जहाजमा चढेका थिए । फर्कने क्रममा विराटनगर र काठमाडौं दुवै विमानस्थलमा पूर्वप्रधानमन्त्रीले पाउने सुविधा अवरुद्ध गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
तर विमानस्थल सुरक्षा कार्यालय, नागरिक उड्डयन कार्यालय विराटनगर र यति एयरलायन्सले ओलीको दाबीलाई तथ्यहीन बताएका छन् । ती निकायका अनुसार ओलीको शारीरिक जाँच गरिएको थिएन र उनी करिब १० मिनेट ढिलो पुगेकाले उडानसमेत ढिलाइ भएको थियो । भीआईपी यात्रुलाई अन्तिममा बोर्ड गराउने प्रावधानअनुसार उडान केही समय रोकिएको यति एयरलायन्सले जनाएको छ ।
विमानस्थलभित्र छुट्टै प्रतीक्षालय नहुँदा ओली बाहिर रहेको निजी रेष्टुरेन्टमा बसेका थिए । सबै यात्रु बोर्डिङ भइसकेपछि उनलाई बोलाइएको र सर्वसाधारण प्रयोग गर्ने वाक–थ्रु गेट हुँदै टर्मिनल प्रवेश गरी जहाज चढाइएको विमानस्थल प्रशासनले जनाएको छ । विमानस्थल प्रमुख झाले ओलीले औपचारिक रूपमा भीभीआईपी कक्षको माग नगरेको दाबी गरे ।
प्राधिकरणका एक उच्च अधिकारीका अनुसार भीआईपी कक्ष नखोल्ने निर्णय प्रधानमन्त्री र पर्यटन मन्त्रीको तहबाट आएको भनिए पनि लिखित निर्देशन भने छैन । निमित्त महानिर्देशक कर्णले ‘माथिबाट औपचारिक क्लियरेन्स नआएकाले’ भीभीआईपी कक्ष सञ्चालनमा ल्याउन नसकिएको बताए ।
जेन–जी आन्दोलनका बेला भीआईपीहरू विमानस्थल प्रयोग गरी भागेको आरोप लागेपछि तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले देशभरका सबै भीआईपी कक्ष प्रयोगमा रोक लगाउने निर्णय गरेका थिए, जुन व्यवस्था हालसम्म यथावत् रहेको छ ।
