सुदूरपश्चिम र कर्णालीमा भारी हिमपात

हिमपातले किसानलाई ‘सुविकाल’, जनजीवन कष्टकर

माघ ११, २०८२

कान्तिपुर टिम

काठमाडौँ — कर्णाली र सुदूरपश्चिमका हिमाली तथा उच्च पहाडी जिल्लामा भारी हिमपात भएको छ । शुक्रबार रातिबाट सुरु हिमपात शनिबार पनि जारी छ । हिमपातले किसानलाई राहत मिलेको छ भने जनजीवन कष्टकर बनेको छ । 

कर्णालीमा मंसिर दोस्रो सातापछि बल्ल हिमपात भएको हो । कर्णालीका सबै हिमाली जिल्लामा शनिबार सुर्खेत र नेपालगन्जबाट हुने हवाई उडान रद्द भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

हुम्लास्थित सिमकोट विमानस्थलमा झन्डै एक फिट हिउँ जमेको छ । हिमपातका कारण मध्यपहाडी राजमार्ग, गमगढी–नाग्म, सिमकोट–हिल्सालगायत झन्डै एक दर्जन सडकमा यातायात सेवा बन्द भएको छ । 

हिमपातका कारण स्थानीयलाई घरबाहिर निस्कन समस्या भएको हुम्ला सिमकोटका मदन रोकायाले बताए । उनका अनुसार बाक्लो हिमपातले हुम्लाको नाम्खा गाउँपालिकाबाट सदरमुकाम सिमकोट आउने सबै पैदलमार्ग बन्द भएका छन् । उनले झन्डै ५ हजार मिटर उचाइका नारा र न्यालु लेकमा झन्डै ३ फिट हिउँ परेको बताए । उनका अनुसार शनिबार साँझसम्म हिमपात जारी छ ।

हिमपातपछि हिमाली जिल्लाका बासिन्दाले ‘सुविकाल’ को आस गरेका छन् । खडेरीका कारण अन्नबाली बिग्रन थालेको भन्दै चिन्तित बनेका किसानलाई शनिबारको हिमपात र वर्षाले राहत दिएको हो । हिउँ परेपछि खडेरीले सुक्न लागेका बालीमा राहत पुगेको मुगुस्थित मुर्मा गाउँका बिर्खबहादुर रोकायाले बताए ।

‘हिउँ परेपछि हिमाली बस्तीमा सुविकाल आउँछ, हिउँ नपरेको वर्ष हिमाली बस्तीमा अनिकाल हुन्छ,’ उनले भने, ‘ढिलै भए पनि अहिले पुग्ने गरी हिउँ परेको छ, बालीनाली, स्याउ र अरू फलफूलको उत्पादन बढ्ने अपेक्षा छ ।’ हिउँ परेपछि पशुचौपाया चरन गर्न र घाँसदाउरा ल्याउन भने समस्या भएको उनले बताए । 

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा हिमपातले सेताम्मे बनेको छ । रारामा झन्डै २ फिटसम्म हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका रेन्जर धर्मजित साउदले बताए । हिमपातपछि रारा ताल वरपरका रुख हिउँले निहुरिएका छन् ।

सोरु–४ रावलबाडाका चन्द्र नेपालीले अहिले परेको हिउँले जेठासी बाली गहुँ, जौंदेखि कात्तिके बाली कोदो कागुनो, चिनो, पाखेधानसम्म लाई फाइदा पुर्‍याउने देखिएको बताए । उनका अनुसार बाक्लो हिउँ परेको वर्ष खोला र मुहानमा पानी बढ्ने भएकाले सुविकाल हुनेछ । ‘राम्ररी हिउँ परेको वर्ष खाद्यान्न अभाव कहिल्यै हुँदैन,’ उनले भने, ‘बर्सेनि खाद्य संस्थानको चामल किनेर खानुपर्ने बाध्यता यस वर्ष टर्ने देखियो ।’

हिमपात भएपछि हिमाली जिल्लाका किसानले वरपर जमेको हिउँको डल्लो स्याउका बोट वरपर राख्न थालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता सुनील लिम्बूले बताए । उनका अनुसार स्याउको बोट आसपासको क्षेत्र सिञ्चित हुने भन्दै हिउँका डल्ला राख्न थालिएको हो । ‘जति धेरै हिउँ आयो, उति धेरै स्याउ फल्छ,’ उनले भने, ‘सिँचाइ गर्नुपर्ने झन्झटबाट किसानले मुक्ति पाए, स्याउमा रोगकिराको प्रकोप पनि यस वर्ष कम हुने देखियो ।’


हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुम पूर्व–बागलुङ सडक खण्डको आवागमन अवरुद्ध भएको छ । पातिहाल्ने र आसपासमा हिमपात भएकाले लोकमार्ग बन्द भएको छ ।

मुगुस्थित गमगढी–नाग्मा सडकअन्तर्गतको सातमोडमा भारी हिमपात भएपछि यातायात बन्द भएको छ भने हुम्लाको सिमकोट–हिल्सा सडकका अधिकांश ठाउँमा बाक्लो हिउँ जमेको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । उनले हिमपात रोकिएपछि सिमकोट विमानस्थलको हिउँ हटाएर मात्र हवाई सेवा सुचारु हुने जानकारी दिए ।

जुम्लामा तीन वर्षपछि हिमपात हुँदा किसान उत्साही भएका छन् । पछिल्लो समय लेकाली क्षेत्रमा सामान्य हिमपात भए पनि तल्लो क्षेत्रमा सामान्य वर्षा भइरहेको हुन्थ्यो । तर यो पटक जिल्लाभर हिउँ परेकाले किसानलाई बाली सप्रने आशा लागेको छ । कर्णाली राजमार्गलगायत अन्य सडकमा सवारीसाधन गुड्न सकेका छैनन् । हिमपातले हवाई सेवासमेत प्रभावित बनेको छ । तर हिउँदे बालीका रूपमा रहेको जौं, गहुँ खेती सप्रने किसानको भनाइ छ । 

सिञ्जा–२ का गोपाल रोकायाले यो पटक हिउँदे बाली सप्रने भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘कहिले खडेरी त कहिले असिनापानीले आजित जुम्लावासी यो पटकको हिमपातले उत्साही छन् । मंसिर/पुसमै हिउँ पर्नुपर्ने हो तर माघ महिनामा हिउँ परे पनि किसानलाई फाइदा नै छ । भर्खर व्यवस्थापन गरिएको बगैंचामा चिस्यान थपिएको छ, सिँचाइ व्यवस्थापन भएको छ ।’

यही मौकामा किसानले मलखादको उचित व्यवस्थापन गर्न सके यो पटक जुम्ली किसानले चिन्ता मान्नुपर्ने देखिँदैन । जिल्लाको आठै वटा स्थानीय तहका ६० वटा वडामै हिमपात भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भारी हिमपात भइरहेकाले उच्च सतकर्ता अपनाउन अपिल गरेको छ । स्याउमा कालो तुसारो नलाग्नेदेखि रोगकिराको संक्रमण अत्यन्तै कम हुने कृषि विज्ञहरूले बताएका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा ढिलो गरी यो वर्षको हिउँदे वर्षा भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात पनि भएको हो । वर्षा र हिमपातका कारण बझाङमा शुक्रबार दिउँसोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ । चार महिना लामो खडेरीले हिउँदे बाली सुक्न लागेका बेला भएको वर्षाले किसानलाई भने राहत भएको छ ।

लामो खडेरीको चपेटामा परेका किसान हिउँदे वर्षा र हिमपातले हिउँदे बाली सप्रिने आशामा हर्षित छन् । ‘धेरैजसो बाली त खडेरीले सुकिसक्यो,’ दुर्गाथलीको चुवावनका दीपक जाग्रीले भने, ‘माटो खरानीजस्तै भइसकेको थियो । हिउँ पर्दा केही ओसिलो भएको छ । थोरै भए पनि राहत भएको छ ।’

उनले सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने चुवावनजस्तै उच्च पहाडी तथा हिमाली गाउँमा लगाएको गहुँ, जौ, केराउ, मुसुरोजस्ता हिउँदे बाली लामो खडेरीका कारण धेरैजसो सुकिसकेको बताए । बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । हिमपातसँगै जिल्लामा जाडो बढेको छ । 

बाजुराको गौमुल, बुढीनन्दा, हिमालीलगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन् । ‘ढिलै भए पनि धर्ती भिजेको छ, अब फागुनमा लगाउने बालीका लागि भए पनि यो वर्षाले राम्रो हुन्छ,’ बाजुरा बडिमालिकाका मदनराज जोशीले भने, ‘हिमाली भेगमा अब आलु लगाउने समय हुँदै छ । यो हिमपातले आलु बाली राम्रो हुन्छ ।’ वर्षासँगै बैतडीको सतबाज, ग्वाल्लेक, खोड्पे, अनारखाली, ढोल्यामोड, सिगासलगायत उच्च लेकाली स्थानमा हिमपात भएको छ । 

डोटीको गैरा, साउखर्क तथा खप्तड क्षेत्र, डडेलधुराको हगुल्टमा पनि हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । हिमपात र वर्षाका कारण चिसो बढेको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । हिमपातका बेला समूहमा आगो ताप्ने, भुम्ला (गेडागुडीको सुप) तथा फर्सी पकाएर खाने स्थानीयको चलन छ ।

कृष्णप्रसाद गौतम (सुर्खेत), डीबी बुढा (जुम्ला), महेश केसी (रुकुम पश्चिम), वसन्तप्रताप सिंह (बझाङ), रामचन्द्र न्यौपाने (डोल्पा) र मोहन चन्द (बैतडी)

कान्तिपुर

Link copied successfully