सार्वजनिक सम्पत्तिमा आगजनीदेखि भोट माग्दा पनि राष्ट्रिय झन्डा प्रयोग

राष्ट्रिय झन्डाको धेरै नै दुरुपयोग हुन थाल्यो, राष्ट्रिय झन्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय संरचना जलाउने, मत माग्ने भइरहेको छ, यी कार्य वर्जित छन् : भीमार्जुन आचार्य, संविधानविद्

माघ ११, २०८२

दुर्गा दुलाल

From arson to public property, to using the national flag to solicit votes

What you should know

काठमाडौँ — २१ फागुनको निर्वाचनका लागि उम्मेदवारहरूले राष्ट्रिय झन्डा ओढेर उम्मेदवारी दर्तादेखि भोट माग्नेसम्मका गतिविधि गर्दै आएका छन् । यसरी राष्ट्रिय झन्डा प्रयोग गर्नु दुरुपयोग हो/होइन भन्ने प्रश्न उठेको छ ।

कानुनविद् र संविधानका जानकारहरूले राष्ट्रिय झन्डा देश र एकताको प्रतीक भएकाले यसको दुरुपयोग हुन नदिन सरकारले कडाइ गर्नुपर्ने टिप्पणी गरेका छन् । 

राष्ट्रिय झन्डाबारे संविधान, सरकारको कार्यविधि र फौजदारी अपराध संहितामा उल्लेख छ । संविधानको धारा ८ मा राष्ट्रिय झन्डासम्बन्धी व्यवस्था छ । राष्ट्रियताको प्रतीकका रूपमा प्रयोग गरिने झन्डाको बनावटदेखि कसरी बनाउनेसम्मको विषयमा संविधानको अनुसूची १ मा उल्लेख गरिएको छ ।

त्यस्तै गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग सही रूपमा होस् भनेर कार्यविधि नै बनाएको छ । ‘नेपालको संविधान तथा राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, (प्रथम संशोधनसमेत) २०६९’ मा सरकारले यसको प्रयोगबारे निश्चित क्षेत्राधिकार तोकेको छ । 

कार्यविधिको दफा ११ मा व्यापारिक विज्ञापनमा प्रयोग गर्न, राष्ट्रिय झन्डाको प्रतीक ब्याच टाँस्दा कम्मरभन्दा तल टाँस्न र चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न नपाइने उल्लेख छ । उक्त दफामा छातीभन्दा तलको भागमा लगाइने कुनै भित्री वा बाहिरी वस्त्रमा झन्डाको प्रतीक वा चित्र राख्न पाइँदैन भन्नुको तात्पर्य बर्को ओढेझैं वा ज्याकेट वा कोट लगाएझैं पिठ्यूँमा झन्डा ओढ्न नपाउने कानुनविद्हरूको तर्क छ । तर आन्दोलन, विरोधसभा, हिंसात्मक प्रदर्शनदेखि चुनाव प्रचारसम्ममा झन्डाको प्रयोग हुने गरेको छ । 

झन्डा दुरुपयोग गरेको पाइएमा कारबाहीका लागि फौजदारी अपराध संहितामा कैद सजाय र जरिवाना नै हुने उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ८ को दफा १५१ अनुसार राष्ट्रिय झन्डा र राष्ट्रिय गानको अपमान गरे कारबाही हुने उल्लेख छ । 

‘कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झन्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झन्डा वा नेपालको निसाना छाप प्रयोग गर्न हुँदैन’ उपदफा १ मा लेखिएको छ । झन्डाको दुरुपयोग गरेमा तीन वर्ष कैद वा तीस हजारसम्म जरिवाना वा दुवै सजाय हुने उक्त दफामा उल्लेख छ । 

संविधानविद् डा. भीमार्जुन आचार्य पछिल्लो समय राष्ट्रिय झण्डाको दुरुपयोग बढेको बताउँछन् । ‘राष्ट्रिय झन्डाको धेरै नै दुरुपयोग हुन थाल्यो । राष्ट्रिय झन्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय संरचना जलाउने, मत माग्ने भइरहेको छ,’ आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी कार्य वर्जित छन् । राष्ट्रिय झन्डा ओढ्ने कपडा होइन ।’

मत माग्न वा कसैको विरोधमा जुलुस गर्न राष्ट्रिय झन्डा प्रयोग गर्न नमिल्ने वरिष्ठ अधिवक्ता रामनारायण विडारी बताउँछन् । ‘हिंसाका गतिविधिदेखि दलीय प्रचारमा यसको प्रयोग भइरहेको छ, यो गर्न मिल्दैन,’ विडारीले भने, ‘यसलाई सरकारले रोक्नुपर्छ ।’ नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले राष्ट्रिय झन्डाको प्रयोग आम नागरिकले पनि गर्न सक्ने तर यही आवरणमा जहाँ र जे पनि प्रयोग गर्नु संविधान र कानुनविपरीत हुने बताए । 

दलीय कार्यक्रममा राष्ट्रिय झन्डाको जथाभावी प्रयोग गर्नु गलत भएको कांग्रेस नेता अर्जुननरसिंह केसी बताउँछन् । ‘दलीय कार्यक्रममा दलकै झन्डा पर्याप्त हुन्छ,’ केसीले भने, ‘राष्ट्रिय झन्डाले समग्र राष्ट्र र राष्ट्रियताको प्रतिनिधित्व गर्छ, विचारमा विभाजित दल वा व्यक्तिको होइन । यसर्थ आयोजकहरूमा राष्ट्रिय झन्डा उपयोगबारे सुझबुझ तथा नागरिक कर्तव्यबोधको अभाव झल्किन्छ ।’ 

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully