नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालतमा तोकियो पेसी

यसअघि निरन्तर सुनुवाइ गर्ने भने पनि सर्दै आएको थियो । २४ भदौको आन्दोलनका क्रममा जिल्ला अदालतमा आगजनी भएपछि सुनुवाइ रोकिँदै आएको छ ।

माघ ११, २०८२

दुर्गा दुलाल

काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर भएको मुद्दा काठमाडौं जिल्ला अदालतमा सुनुवाइ सुरु हुँदै छ ।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । उक्त मुद्दा १ नम्बरमा पेसी तोकिएको छ । यसअघि निरन्तर सुनुवाइ गर्ने भने पनि सर्दै आएको थियो । २४ भदौको आन्दोलनका क्रममा जिल्ला अदालतमा आगजनी भएपछि सुनुवाइ रोकिँदै आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य आङटावा शेर्पा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ३१ जनाविरुद्ध ठगी, कीर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराध अभियोगमा अदालतमा मुद्दा दायर गरेको थियो ।

सुरुमा गजेन्द्र बुढाथोकीसहितका व्यक्तिको जाहेरीका आधारमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर भएको थियो । अर्को वर्ष ९ वैशाख २०८१ मा दाफुरी शेर्पासहितका व्यक्तिको जाहेरीका आधारमा सुरु मुद्दाकै प्रतिवादी केशव दुलालसहित ५ जना र गजेन्द्र बुढाथोकीसहितका व्यक्तिको जाहेरीका आधारमा २९ साउन २०८१ मा शरणार्थी प्रकरणका सन्दिग्ध पात्र बेचन झाविरुद्ध अदालतमा पूरक मुद्दा दायर भएका थिए । पछिल्ला दुवै मुद्दालाई सुरु मुद्दामै लगाऊ गरेर अदालतले सुनुवाइ अघि बढाएको हो । 

अदालतमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन संविधानसभा सदस्य आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरज राईविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।

यस प्रकरणमा मुख्य बिचौलियाद्वय केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्मासहित गिरोहको नेटवर्कमा रहेर काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालविरुद्ध पनि यही कसुरमा दायर मुद्दा विचाराधीन छ ।

मुद्दा दायरपछिको करिब २ वर्ष मुद्दाको सुनुवाइ नै ओझेलमा परेको थियो । मुद्दा दायर हुँदा पक्राउ परेका १८ मध्ये २ जनालाई धरौटी र अरू १६ जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गरिएको थियो । १२ जना फरार थिए । पछि फरार रहेका केही व्यक्ति त्यसपछि पक्राउ परेकामा अझै केही अभियुक्त फरार अवस्थामै छन् । जिल्ला अदालतको अभिलेखअनुसार यो प्रकरणमा अदालतले २०८० मा ४ पटक र २०८१ मा ६ पटक पेसी तोकेर सुनुवाइ गरेको थियो ।

मुद्दा दायरका बेला पुष्पकमल दाहाल प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए । एमाले र कांग्रेस गठबन्धन सरकार बनेपछिको पछिल्लो एक वर्षमा पेसीको संख्या बढेकामा त्यसमा पनि पछिल्लो बैशाख यता भने सबैभन्दा बढी २६ पटक पेसी राखिएको हो । पछिल्लो पटक भने २०८२ वैशाख यताको करिब साढे ४ महिनामा भने २६ पटक मुद्दा पेसीमा चढेको छ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully