पक्राउ परेकामध्ये चिनियाँ नागरिक पकनाजोल ठमेलमा होटलमा बस्दै आएका थिए । सन् २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका उनी त्यसपछि पटकपटक गरी १३ पटक व्यावसायिक भिसा लिएर बसेका थिए ।
What you should know
काठमाडौँ — भिसा दुरुपयोग गरी गैरकानुनी रुपमा बसोबास गर्दै आएका २ विदेशी नागरिक पक्राउ परेका छन् । शंकास्पद क्रियाकलापमा संलग्न चिनियाँ र अमेरिकी नागरिकलाई अध्यागमन विभागले आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये चिनियाँ नागरिक पकनाजोल ठमेलमा होटलमा बस्दै आएका थिए । सन् २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका उनी त्यसपछि पटकपटक गरी १३ पटक व्यावसायिक भिसा लिएर बसेका थिए ।
उनले नेपालमा विभिन्न ६ वटा होटेल/व्यावसायिक कम्पनीहरु स्थापना गरेको पनि खुलेको छ । व्यावसायिक भिसा लिने प्रयोजनका लागि मात्र कम्पनी स्थापना गर्ने गरेको तर लगानी र कारोबार भएको नदेखिएको अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले जानकारी दिए ।
उनले स्थापना गरेका तर व्यावसायिक कारोबार नगरेका कम्पनीहरु यान सपिङ होटेल तथा रेस्टुराँ, होटेल विथ रेस्टुराँ यान, झोँङविन इन्टरनेशनल कार्गो कम्पनी, मोआ यिङ होटेल तथा रेस्टुराँ, स्प्रिट मङ्की इन्फरमेसन टेक्नोलोजी र शाव जिअसुन होटल विथ रेष्टुरेण्ट कम्पनी छन् ।
यसैगरी पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बसी विगत ४ वर्षदेखि विभिन्न शैक्षिक कामको आवरणमा धर्म क्रिश्चियन प्रचारमा संलग्न अमेरिकी नागरिक पनि पक्राउ परेका हुन् । पर्यटक भिसा र व्यावसायिक भिसाको आवरणमा भित्रिएका अमेरिकी नागरिकले पटकपटक पर्यटक भिसा र फरक फरक प्रकृतिका कम्पनीहरु दर्ता गराई लामो समय नेपाल बस्ने मात्र प्रयोजनका लागि भिसा आवेदन गर्ने गरेको पनि खुलेको छ ।
उनी सन् २०१७ मा पहिलोपटक नेपाल प्रवेश गरेको, सन् २०२० मा पुनः नेपाल प्रवेश गरी हालसम्म नेपालमै रहेको भेटिएको हो ।
सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्याल्भेरी सर्भिस सेन्टर खोलेका उनले कम्पनीको ठेगाना ललितपुर-१८ सैंबु उल्लेख गरेकामा गोदावरी नगरपालिकामा घर भाडामा लिई गैरकानुनी रुपमा बालगृह सञ्चालन गरेको पाइएको छ । बालगृहसम्बन्धी आधिकारीक बोर्ड नभएको उक्त भवनमा आर्थिक अवस्था कमजोर भएका १२ जना बालिकाहरुलाई आश्रय दिएर राखेको, क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराउने गरेको भनी स्थानीयवासीले उजुरी दिएका थिए । त्यसपछि अनुगमनमा जाँदा बालगृहमा अमेरिकी नागरिकले भवनका भित्ताहरुमा क्रिश्चियन धर्मसम्बन्धी प्रचार सन्देश पेन्ट गरेको भेटिएको थियो ।
उनी नेपालमा बस्ने प्रयोजनका लागि मात्र पटकपटक अध्ययन र व्यावसायिक भिसा लिएर बसेका थिए । अध्यागमनको नियन्त्रणमा परेपछि नेपाल सरकार र प्रशासनको बारेमा हेट स्पिच र गालीगौजमा उत्रिएको विभागले जनाएको छ ।
