पूर्वअतिरिक्त स्वास्थ्य सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा विशेषले बुधबार मिश्राविरुद्ध ५ लाख धरौटी मागेको हो ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

Special court seeks Rs 5 lakh bail from former Additional Health Secretary Mishra

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव संगीता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी मागेको छ । 

स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा विशेषले बुधबार मिश्राविरुद्ध ५ लाख धरौटी मागेको हो । १ कात्तिक २०८२ मा अख्तियारले मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा थुनछेक बहसपछि विशेषका न्यायाधीश नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र बिदुर कोइरालाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाउँदै धरौटी मागेको हो ।

अदालतले मागको धरौटी बुझाएर मिश्रा बुधबार नै रिहा भएकी छन् । उनी बुधबार बिहान अदालतमा उपस्थित भएकी थिइन् । 

अख्तियारले डा.मिश्रासहित व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रकुमार चौरसिया र विभागका निर्देशक डा. विवेकुमार लालविरुद्ध मुद्दा चलाएको थियो । उक्त मुद्दामा तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत शम्भूप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इन्जिनियर पद्मा मिश्र, विभागका केन्द्रीय स्टोर पथलैया बाराका जनस्वास्थ्य निरीक्षक सन्जयकुमार शाह र आपूर्ति कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिका प्रमुख सुन्दर भुसाललाई पनि प्रतिवादी बनाइएको थियो ।

उनीहरूविरुद्ध जनही १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँका दरले बिगो कायम गरिएको थियो । उनीहरूमाथि स्वास्थ्य उपकरण खरिदलगायत प्रकरणमा अनियमितता गरेको आरोप लगाइएको छ । 

मिश्रा पछिल्लो पटक सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चा चलेको थियो । त्यहीकारण उनले अतिरिक्त सचिवबाट राजीनामासमेत दिएकी थिइन् । तर भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको खुलेपछि अन्तिम समयमा मिश्राको नियुक्ति रोकिएको थियो ।

कान्तिपुर

Link copied successfully