राइट टू रिजेक्टको व्यवस्था नभएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा, सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

सर्वोच्चले दुई पटक निर्वाचनमा राइट टू रिजेक्टको व्यवस्था गर्नु भनी फैसला सुनाएको तर कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो।

माघ ७, २०८२

दुर्गा दुलाल

Contempt case filed in Supreme Court alleging lack of right to reject, Supreme Court issues show cause order

काठमाडौँ — निर्वाचनमा उम्मेदवारलाई ‘राइट टू रिजेक्ट’को व्यवस्था गर्नु भनी सर्वोच्च अदालतले दुई पटक दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता श्रीना नेपालसहितले सर्वोच्चमा अवहेलना निवेदन दर्ता गरेकी हुन्। निवेदनमा नेपाल सरकार र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। रिट निवेदनको मंगलबार पहिलो सुनुवाइ भएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्चले दुई पटक निर्वाचनमा राइट टू रिजेक्टको व्यवस्था गर्नु भनी फैसला सुनाएको तर कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो। सर्वोच्चले २०७० र २०७३ सालमा यस विषयमा एउटै सल्ला सुनाएको थियो।

तर सरकार र निर्वाचन आयोगले आदेश कार्यान्वयनका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक पर्ने भन्दै पन्छाउँदै आएको छ। निर्वाचन आयोगले केही समय अघि विधेयक मस्यौदा पनि गरेको थियो।
२०७३ फागुन १३ गते पनि सर्वोच्चको फैसला कार्यान्वयन नभएकामा कारबाहीको माग गरी अधिवक्ता स्वागत नेपालले सर्वोच्चमा दोस्रो पटक मुद्दा हालेका थिए। २०७९ वैशाख १५ को स्थानीय निर्वाचन अघि पनि अदालतको फैसला अनुसार कानुन नबनेको भन्दै अधिवक्ता नेपालले अदालतको अवहेलना सम्बन्धी मुद्दा हालेका थिए। आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइको काम गरिरहेको छ तर उम्मेदवारलाई अस्वीकार गर्न पाउने विकल्प मतपत्रमा नभएको भन्दै नेपालसहितले अवहेलना मुद्दा दर्ता गराएका हुन्।

किन भएन कार्यान्वयन?

सर्वोच्च अदालतको निर्देशन अनुसार कानुन बन्न नसक्दा ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयनमा आउन नसकेको हो। राइट टु रिजेक्टको व्यवस्था सम्बन्धी २०७४ सालमा संसद्को राज्य व्यवस्था समितिमा छलफल भएको थियो। उक्त छलफलमा प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) उम्मेदवारलाई अस्वीकार गर्ने व्यवस्थाको विरुद्धमा उभिएका थिए।

राइट टु रिजेक्टको अधिकार सम्बन्धमा अदालतको आदेश कार्यान्वयन नहुनुमा राजनीतिक दलहरूको उदासीनताका साथै नागरिक समाजले पनि पर्याप्त आवाज उठाउन नसकेको देखिन्छ। सर्वोच्चको फैसला कार्यान्वयन हुन नसक्नुमा प्रमुख राजनीतिक दलहरूसँगै निर्वाचन आयोग पनि उत्तिकै जिम्मेवार भएको अवहेलना निवेदनमा उल्लेख छ।

२०७० साल मंसिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूलाई मतदाताले अस्वीकार गर्न पाउनुपर्ने भन्दै विकास लकाई, भाइराजा राई र स्वागत नेपालले २०७० साल कात्तिक १० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। उक्त रिटमा पुस २१ गते फैसला गर्दै मत जाहेर गर्दिन भनी नागरिकले आफ्नो विचार अभिव्यक्त गर्न पाउनुपर्ने नागरिक अधिकार भएको भन्दै आगामी निर्वाचनमा संवैधानिक वा कानुनी व्यवस्था गरी सो व्यवस्था लागू गर्न सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन मन्त्रालय तथा निर्वाचन आयोगको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो।
फैसलाका अनुसार प्रजातान्त्रिक अभ्यासमा जनताको सार्वभौमिकता स्वीकार गर्दा मतदातालाई कुनै मत व्यक्त गर्न बाध्य गर्ने नभई दिइएको विकल्पहरूलाई अस्वीकार गरी नयाँ विकल्पको आवश्यकतालाई औँल्याउन पाउने अधिकार सुनिश्चित गरिनुपर्छ भनिएको थियो।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully