रहेनन् ‘भुइँमान्छेका नेता’

काभ्रेका वामपन्थी नेता गोविन्द उप्रेतीको ८७ वर्षको उमेरमा निधन भएको छ ।

माघ ५, २०८२

ऋषिराम पौड्याल

No more 'leaders of the earth'

What you should know

काठमाडौँ — काभ्रेका वामपन्थी नेता गोविन्द उप्रेतीको ८७ वर्षको उमेरमा सोमबार बिहान आफ्नै निवास भुमलुङ गाउँपालिका–८ पौवामा निधन भएको छ ।

लामो समयदेखि स्वासप्रश्वास, मुटु र प्रोस्टेटको समस्याबाट पीडित थिए । पञ्चायतकालदेखि नै नागरिकको समस्या उठाउँदै आएका गोविन्दलाई स्थानीयले ‘भुइँमान्छेका नेता’ को उपाधि दिएका थिए ।

भतिजा मोहन उप्रेतीका अनुसार उनी दुई कोठाको सानो छाप्रोमा बिरामी अवस्थामा कष्टकर जीवन बिताइरहेका थिए । काभ्रेबाट पञ्चायतकालमा एकपटक राष्ट्रिय पञ्चायत सदस्य र २०४६ को परिवर्तनपछि दुईपटक सांसद जितेका उप्रेतीलाई जनताको पक्षमा निरन्तर लागिरहने नेताको रुपमा हेर्ने गरिएको छ ।

उनी पञ्चायतको विरोध गरेबापत पटकपटक पक्राउ परेका थिए । पञ्चायतमा जनपक्षीय उम्मेवारका रुपमा एकपटक राष्ट्रिय पञ्चायत सदस्य जितेका उनले २०४६ पछि एमालेबाट राजनीतिक यात्रा सुरु गरेका थिए । एमाले विभाजित भएका बेला नेकपा मालेमा समाहित भएर राज्यमन्त्री भएका थिए । २०५६ मा मालेबाट निर्वाचनमा होमिएका उप्रेती पराजित भएका थिए । २०४९ सालमा विवाह गरेका उप्रेतीकी श्रीमतीको चार वर्षअघि निधन भएको थियो । उनी निःसन्तान हुन् । गाउँले र आफन्तको सहयोगमा जीवनयापन गर्दै आएका थिए । 

उनले ‘कोशीपारि’ भनेर चिनिने दोलालघाटको पूर्वतर्फ विकट बस्तीमा यातायात पुर्‍याउन २०५२ मा सडक निर्माण सुरु गरेका थिए । उक्त सडक अहिले कालोपत्र भएको छ भने कोशीपारिका गाउँमा यातायात सञ्चालन भएको छ । पञ्चायतमा कोशीपारि बिजुली बाल्न सिन्धुपाल्चोकतर्फ लैजान लागेको बिजुलीका पोल खोसेर लगेका थिए । रासायनिक मल र खाद्यान्न अभाव भएका बेला सरकारी निकायबाट खोसर स्थानीयलाई बाँड्ने गरेका थिए । उनले दोलालघाट, भुम्लुङ लगायतका स्थानमा विद्यालय स्थापना गरेका थिए भने जसलाई जे समस्या पर्छ सरकारी कार्यालयहरुमा आफैं गएर काम गरिदिन्थे ।

दोलालघाटका स्थानीय तथा उप्रेतीका निकट सहयोगी तेजकाजी श्रेष्ठ भुइँमान्छेको नेताको निधन भएको बताउँछन् । उहाँ कुनै स्वार्थ नभएको र पैसा कमाउनुपर्छ भन्ने मान्यता नराख्ने नेता भएको उनले बताए । ‘उनको सादगी जीवन अहिलेका नेताहरुसँग दाँज्नै मिल्दैन,' श्रेष्ठले भने । 

उप्रेतीले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला सांसद सुविधाको गाडी पाएका थिए । तर उक्त गाडीमा इन्धन राख्ने र मर्मत गर्ने पैसा नभएपछि केही वर्षपछि त्यतिकै थोत्रो भएर थन्केको थियो । भतिजा मोहनका अनुसार भूकम्पपछि उनलाई बस्न स्थानीय र आफन्तको सहयोगमा दुई कोठाको जस्तापाता राखेर टहरा बनाइदिएका थिए ।

‘सन्तान नभएकाले हामीले नै हेरचाह गरेका हौं,’ मोहनले भने, ‘बेलाबेलामा अस्पताल लैजाने गरिएको थियो । त्यसका लागि पालिकाले एम्बुलेन्स निःशुल्क दिने गरेको थियो ।’

संकटकालका बेला उनले माओवादीलाई सहयोग गरेको भन्दै टाउकाको मूल्य पनि तोकिएको थियो । पछिल्लो समय विघटित माओवादी पार्टीका केन्द्रीय सल्लाहकार भएका थिए । उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराएका थिए ।

उप्रेतीको दाहसंस्कार दोलालघाटको दोभानमा सोमबार मध्याह्न गरिएको छ । उनको पार्थिव शरिरलाई सशस्त्र प्रहरीले सलामी दिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक दलका नेता, सांससदहरु, स्थानीय जनप्रतिनिधि तथा स्थानीय सहभागिता थियो ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully