हरि बुढाले गरे संसारका सात उच्च हिमालको आरोहण

अपाङ्गता भएका नेपाली पर्वतारोही हरि बुढा पूर्वगोरखा सैनिक हुन् । शारीरिक अशक्त रहेका उनले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा आरोहण गरेका हुन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Hari Budha climbed the seven highest mountains in the world

What you should know

काठमाडौँ — रोल्पा, थवाङका हरि बुढाले संसारका सात उच्च हिमालको आरोहण (सेभेन समिट) सम्पन्न गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।

६ जनवरी २०२६ मा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको आरोहण पूरा गरेपछि उनी खुशी साट्न सिधै नेपाल आएका हुन् । अपाङ्गता भएका नेपाली पर्वतारोही हरि बुढा पूर्वगोरखा सैनिक हुन् ।

सन् २०१० मा अफगानिस्तानमा लडाइँका क्रममा विस्फोटमा परी दुवै खुट्टा गुमाएका उनले त्यसपछि पनि जीवन र चुनौतीहरू सामना गर्दै अघि बढिरहेका छन् । बुढाले 'सपनाहरूको विजय – ७ शिखर' अभियानअन्तर्गत विश्वका सबै महादेशका सर्वोच्च शिखर आरोहण गरेका हुन् ।

सगरमाथा आरोहणपछि उनले सातै महादेशका शिखर चढ्ने लक्ष्य लिएको बताएका थिए । यस अभियानअन्तर्गत उनले माउन्ट एल्ब्रुस (२०१९), माउन्ट किलिमाञ्जारो (२०२०), सगरमाथा (२०२३), डेनाली (२०२४), अकोन्कागुवा (२०२५), कार्स्टेन्स पिरामिड (पुन्चक जया) (२०२५) र अन्ततः माउन्ट भिन्सन (२०२६) आरोहण गरेका हुन् ।

अपाङ्गता भएका व्यक्तिहरूमा विश्वास जगाउन र समाजमा सचेतना फैलाउन आरोहणमा होमिएका बुढाले भने, यदि हामीसँग सपना छ, आफूलाई समर्पित गर्छौँ र कहिल्यै हार मान्दैनौँ भने जीवनका कुनै पनि चुनौती असम्भव हुँदैन । मैले दुवै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गरेको छु र आज सातै महादेशका शिखर चढेको छु ।

सम्बन्धित समाचार 

कृत्रिम खुट्टाको सहायतामा सगरमाथा चढ्दै हरि

दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सगरमाथा चढ्न पाएर दंग

कान्तिपुर

Link copied successfully