सबै दलले उम्मेदवारको टुङगो लगाएको भए पनि नेपाली काँग्रेसले भने बझाङका लागि उम्मेदवार छनौट गर्न सकेको छैन
What you should know
काठमाडौँ — फागुन २१ गते हुने निर्वाचनका लागि बझाङमा कांग्रेसबाहेकका अन्य सबै दलले उम्मेदवार टुङगो लगाएका छन् । प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा एमाले, नेकपा, रास्वपा र नेकपा माओवादीले भने उम्मेदवारको छनौट गरिसकेका छन् ।
नेकपा एमालेले केन्द्रिय सदस्य ऐन महरलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा उनी नेकपा एकिकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग पराजित भएका थिए । शनिवार बसेको एमाले सचिवालयको बैठकले अर्का केन्द्रिय सदस्य अफिलाल ओखेडालाई उम्मेदवारको रुपमा घोषणा गरे पनि आइतवार उनको ठाउँमा ऐन महरलाई अघि सारिएको एमालेले जनाएको छ ।
प्रचण्ड नेतृत्वको नेपाली कम्यूनिष्ट पार्टीले मिनबहादुर कुँवरलाई उम्मेदवाररुपमा मैदानमा उतारेको छ । कुँवर एमाले र माओवादी मिलेर नेकपा बन्दा उक्त पार्टीको बझाङ जिल्ला अध्यक्ष थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले शैलेसकुमार सिंहलाई प्रतिनिधी सभा उम्मेदवार बनाएको छ । सफल व्यवसायीको रुपमा सुदूरपश्चिममा चर्चामा आएका सिंह तलकोट गाउँपालिकाका स्थानिय हुन । उनले धनगढीमा कलेज खोलेर रोजगारमुलक व्यवसायिक तथा प्राविधिक शिक्षाको क्षेत्रमा काम गरिरहेका छन ।
यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीले भरत मल्ललाई उम्मेदवारको रुपमा अघि सारेको छ । उनि जनयुद्धकाल देखी माओवादी आन्दोलनमा लागेका मल्ल लामो समय देखी विप्लव नेतृत्वको पार्टीमा पुर्णकालिन भएर काम गरिरहेका छन ।
अन्य सबै दलले उम्मेदवारको टुङगो लगाएको भए पनि नेपाली काँग्रेसले भने बझाङका लागि उम्मेदवार छनौट गर्न सकेको छैन । काँग्रेसमा सहमहामन्त्री प्रकाश रसाइली, पुर्वराज्यमन्त्रीहरु नरेसबहादुर सिंह, सुरेस मल्ल उम्मेदवारका आकांक्षी छन् । यस्तै सत्यराज भण्डारी, अभिषेक बहादुर सिंह लगायत नेताहरु पनि उम्मेदवारको आकांक्षी देखिएका छन ।
पार्टीमा देखिएको विभाजनका कारण उम्मेदवार छनौटमा ढिलाई भैरहेको र सोमबार दिउँसो सम्म टुङगो लाग्न सक्ने नेता सत्यराज भण्डारीले बताए ।‘विभिन्न चरणमा वार्ता भैरहेका छन । सोमवार दिउँसो सम्म कसले टिकट पाउने भन्ने टुङगो लागिसक्छ,’ उनले भने ।
