जीवन निर्वाह भत्ताको निर्णय कार्यान्वयन नभएपछि प्रधानमन्त्री कार्यालयमा जेन-जी सहिद परिवारको धर्ना

सहिद परिवारहरूले निर्णय तत्काल कार्यान्वयन नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Gen-G martyrs' families stage sit-in at Prime Minister's Office after decision on living allowance not implemented

काठमाडौँ — जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको गेटमा धर्ना दिएका छन् ।

मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन नभएको भन्दै सहिद परिवारहरू आन्दोलित बनेका हुन् ।

जेन-जी सहिद परिवार कल्याणकारी समाज समितिका सचिव रोशन गौतमका अनुसार विभिन्न मन्त्रालय धाइरहनु परेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको हो । 'अब कहिले यता मन्त्रालय, कहिले उता मन्त्रालय दौडिनु मात्रै भयो। फाइल बोकेर हिँड्ने अवस्था आएपछि हामीले यहीँ प्रधानमन्त्री कार्यालयमा धर्ना बस्ने निर्णय गरेका हौँ,' उनले भने।

करिब २० जनाजति सहिद परिवारका सदस्य धर्नामा सहभागी छन् । 'फाइल बोकेर मन्त्रालय घुमिरहनुभन्दा प्रधानमन्त्री कार्यालयमै आवाज उठाउने निष्कर्षमा पुगेका छौँ,' गौतमले भने ।

मन्त्रिपरिषद्‌ले निर्णय गरे पनि अहिलेसम्म जीवन निर्वाह भत्ताको रकम निकासा हुने कानुनी प्रक्रिया अघि नबढेको उनीहरूको गुनासो छ।

यसअघि सहरी विकास मन्त्रालयले २ गतेभित्र रकम पठाइदिने आश्वासन दिएको थियो । तर मन्त्री र उनका निजी सचिवहरूले फोन नउठाएपछि सहिद परिवारहरू सिधै प्रधानमन्त्री कार्यालय पुगेका हुन्।

सहिद परिवारहरूले निर्णय तत्काल कार्यान्वयन नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्। उनीहरूले प्रधानमन्त्री कार्यालयमै धर्ना बस्ने र माग पूरा नभए थप कडा कदम चाल्न बाध्य हुने बताएका छन्।

कान्तिपुर

Link copied successfully