मध्यरातमा आगलागी भएपछि हारगुहार गर्दागर्दै सिलिन्डर विस्फोट, सल्यानको सिद्धकुमाख–२ टाकुराका धनबहादुर विक र काशीराम विकका परिवारले नै ज्यान गुमाए।
What you should know
सल्यान — भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्की बजारमा आगलागीसँगै सिलिन्डर विस्फोट हुँदा नौ नेपालीको मृत्यु भएको छ । सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा घर भएका धनबहादुर विक र काशीराम विकका परिवारको आइतबार मध्यराति ज्यान गएको हो ।
मध्यरातमा आगो लागेपछि ज्यान जोगाउन कोठाभित्र हारगुहार गरिरहँदा सिलिन्डर विस्फोट भएर उनीहरूको मृत्यु भएको नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिए । उनका अनुसार स्थानीय राजीव गुप्ताको घरको माथिल्लो तलामा विक परिवार सुतेका थिए भने भुइँतलाको पसलमा ग्यास सिलिन्डरलगायतका सामान थिए । पसलमा आगलागी भएपछि सिलिन्डर विस्फोट भएको थियो ।
दुर्घटनामा परी ३३ वर्षीय धनबहादुर विक, श्रीमती कविता, छोरीहरू राधा र रेनुका तथा २२ महिने छोरा राजनको मृत्यु भएको छ । ४७ वर्षीय काशीराम विक, श्रीमती टीका, छोरी अनु र छोरा किरणले पनि ज्यान गुमाएका छन् । विस्फोटमा परेका कारण उनीहरूको शव चिन्न मुस्किल पर्ने अवस्थामा रहेको घटनाका प्रत्यक्षदर्शी प्रेम विकले जानकारी दिए । ‘मेरो, राजेन्द्र विक, गंगाराम विक र अर्का एक जनाको परिवार नजिकैको घरमा सुतिरहेका थियौं । मध्यरातमा अचानक आगो लागेको थाहा पाएपछि हामी भाग्यौं,’ उनले सुनाए ।
मृतक काशीरामका भाइ मनबहादुर पनि आगलागी हुँदा नजिकैको अर्को घरमा थिए । ‘हामी सबै एकै ठाउँमा काम गर्थ्यौं । आइतबार पनि दिनभर काम गरेर साँझ ७ बजे कोठा फर्किएका थियौं, काम गरेर लखतरान भएकाले हतारहतार खाना पकाएर खाएपछि सबै सुतेका थियौं,’ मनबहादुरले सुनाए, ‘मध्यरातमा अचानक हल्लीखल्ली सुनियो, आगो लाग्यो भन्दै थिए । हामी बाहिर आउँदा दाजुहरू सुत्ने कोठा चढ्ने सिँढीमा आगो दन्किरहेको थियो ।’
पसलमा आगो सल्किरहेका बेला भित्रबाट दाजुलगायतले चिच्याइरहेको उनले सुनेका थिए । ‘आगो निभाउन पानी लिएर जाँदै गर्दा सिलिन्डर पड्किएको आवाज आयो, चिच्याइरहेका दाजु र परिवारको आवाज बन्द भयो,’ उनले भने । १०/१२ वटा सिलिन्डर विस्फोटको आवाज सुनेको मनबहादुरको भनाइ छ ।
उनका अनुसार आगलागी भएको घरमा पछाडिपट्टिको कोठामा सुतेका अरूले भने हामफालेर ज्यान जोगाएका थिए । मनबहादुरका अनुसार आगो ठूलो भएकाले स्थानीयले निभाउन सक्ने अवस्था थिएन । बिहान ६ बजेतिर मात्र दमकलसहित आएको सुरक्षाकर्मीको टोलीले आगो निभाएको थियो । त्यसपछि घटनास्थलमा शव डढेको र टुक्राटुक्रा थियो ।
‘दुई–चार पैसा कमाउने सपना बोकेर ६–७ परिवार यहाँ आएका थियौं,’ उनले भने, ‘पहिला–पहिला पनि आउने–जाने गर्थ्यौं । आज यस्तो अकल्पनीय घटना बेहोर्नुपर्यो ।’ धनबहादुर, काशीराम र मनबहादुर परिवारसहित पछिल्लो पटक साढे दुई वर्षअघि हिमाचल पुगेका थिए । त्यहाँ उनीहरू ज्याला मजदुरी गर्थे । आइतबार उनीहरूले अर्की बजारदेखि सय मिटरको दूरीमा काम गरेका थिए ।
कमाउन परदेश गएका बेला बालबालिकासहित ९ जनाको मृत्यु भएको खबरले सिद्धकुमाख–२ टाकुराका बासिन्दा शोकाकुल बनेको स्थानीय लक्ष्मी विकले बताइन् । ‘सरकारले जिल्लामै रोजगारीको व्यवस्था गर्न सकेन,’ उनले भनिन्, ‘मजदुरी गर्न जाँदा उनीहरूले अकालमा ज्यान गुमाउनुपर्यो ।’
पालिकाले मंगलबार शोक बिदा दिएको छ । सिद्धकुमाख–२ का वडाध्यक्ष मेघबहादुर बुढाथोकीका अनुसार शव संकलन भइरहेकाले उतै दाहसंस्कार गर्ने कि घरमा ल्याएर गर्ने भन्ने विषयमा कुराकानी भइरहेको छ । मृतक परिवारका निकटस्थलाई स्थानीय सरकारले क्षतिपूर्ति दिने/नदिने विषयमा छलफल भइरहेको पनि उनले जानकारी दिए ।
