दलका क्षेत्रीय समितिले गरेको सिफारिसअनुसार तीनवटै ठूला दलका पुरानै नेताहरू कतै एकल त कतै पहिलो नम्बरमा सिफारिस भएका छन् ।
What you should know
बुटवल — लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रबाट कांग्रेस, एमाले, र नेपाली कम्युनिस्ट पार्टीबाट सिफारिस गरिएका उम्मेदवारमा अधिकांश पुरानै अनुहार परेका छन् । निर्वाचनमा युवालाई अवसर दिनुपर्ने माग बढिरहेका बेला क्षेत्रीय र प्रदेशबाट मुख्य दलले पटक–पटक यसअघि उम्मेदवार भइसकेका व्यक्तिलाई नै सिफारिस गरेका हुन् ।
दलका क्षेत्रीय समितिले गरेको सिफारिसअनुसार तीनवटै ठूला दलका नेताहरू कतै एकल त कतै पहिलो नम्बरमा सिफारिस भएका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको नाम रोल्पाबाट पहिलो नम्बरमा सिफारिस भएको छ । उनीसँगै वर्षमान पुनसहित ३ जनाको नाम सिफारिस भए पनि दाहाल स्वयंले रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । रुकुम पूर्वबाट स्थानीय पार्टी कमिटीले गणेशमान पुनसहित ९ जनाको नाम सिफारिस गरेको थियो ।
एमाले उपाध्यक्ष विष्णु पौडले रूपन्देही–२ र ३ का साथै पाल्पा–२ बाट सिफारिस भएका छन् । एमालेका अनुसार पौडेल रूपन्देही–२ बाट चुनाव लड्ने तयारीमा छन् ।
रूपन्देही–२ बाट पौडेल २०५६ सालदेखि चुनाव लड्दै आएका हुन् । २०६४ यताबाट लगातार जित्दै आएका छन् । एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट लड्ने तयारीमा छन् । स्थानीय पार्टी कमिटीले उनको एकल नाम सिफारिस गरेको छ । पोखरेल २०७९ मा पनि यही क्षेत्रबाट थोरै मतान्तरले तत्कालीन माओवादीकी रेखा शर्मासँग पराजित भएका थिए ।
एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवाली गुल्मी–१ बाट एकल सिफारिस भएका छन् । उनी पनि यहाँबाट २०५६ देखि निरन्तर चुनाव लड्दै आएका छन् । २०७९ मा कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएका थिए । अहिले पनि कांग्रेसबाट पहिलो नम्बरमा चन्द्र भण्डारीको नाम सिफारिस भएको छ ।
गुल्मी–२ बाट एमाले उपाध्यक्ष एवं पूर्वमन्त्री गोकर्ण विष्टको नाम पनि एकल सिफारिस भएको छ । उनी पनि गुल्मी–२ बाट २०५६ सालदेखि निरन्तर चुनाव लड्दै आएका नेता हुन् । २०६४ सालबाहेक सबै निर्वाचनमा उनी विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानबाट एमाले नेता सूर्य थापाको एकल सिफारिस भएको छ । कांग्रेसबाट योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलको नाम सिफारिस भएको छ ।
अर्घाखाँचीबाट एमालेले निर्वतमान प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीसहित चार जनाको सिफारिस गरेको छ । २०७९ सालमा एमालेबाटै निर्वाचित रायमाझी भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कारागारभित्रबाट रायमाझीले चुनाव लड्ने घोषणा गरेका छन् ।
रूपन्देही–१ बाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित तीन जनाको नाम सिफारिस भएको छ । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले एमालेका धेरै केन्द्रीय नेता लुम्बिनी प्रदेशबाट सिफारिस भएको बताए । ‘नयाँ र पुराना भन्दा पनि एमालेले जनतामा भिजेका लोकप्रिय नेता उम्मेदवारमा सिफारिस गरेको हो,’ उनले भने, ‘केही साथीहरू नयाँ पनि सिफारिस हुनु भएको छ ।’
दुई निर्वाचन क्षेत्र रहेको नवलपरासी पश्चिम–१ बाट कांग्रेसले देवेन्द्रराज कँडेल र २ बाट विनोद चौधरीको नाम सफारिस गरेको छ । दाङ–३ बाट केन्द्रीय सदस्य दीपक गिरी, रूपन्देही–३ बाट बालकृष्ण खाँण, रूपन्देही ५ बाट भरत शाहको नाम सिफारिस भएको छ । तीनै जना कांग्रेसका शीर्ष नेता भए पनि एकल सिफारिस भने भएनन् । कांग्रेसमा रोल्पाबाट महामन्त्री गगनकुमार थापासहित ४ जनाको नाम सिफारिस भएको छ । थापा कपिलवस्तु–१ बाट पनि सिफारिस भएका छन् ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले दुई जिल्लाबाट कांग्रेस महामन्त्री थापाको नाम सिफारिस भएको बताए । ‘स्थानीय साथीहरूको माग हो,’ उनले भने, ‘महामन्त्रीज्यू आफैंले कुन क्षेत्र रोज्नु हुन्छ, त्यो उहाँकै विषय भयो ।’ कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर बाँके–३ र बर्दिया–२ बाट सिफारिस भएका छन् । बर्दिया–१ बाट सञ्जय गौतम सिफारिस भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले नेकपाका संयोजक दाहालदेखि वामदेव गौतमसम्मको नाम सिफारिस गरेको छ ।
नेकपाका लुम्बिनी प्रदेश संयोजक रहेका सुदर्शन बरालको नाम पनि गुल्मी–१ र रूपन्देही–२ बाट सिफारिस भएको छ । प्रदेशमा नागरिक उन्मुक्ति, राप्रपा, जनमत र जसपाको पनि राम्रो प्रभाव छ । तर, साना दलले अझै उम्मेदवार सिफारिस गरिसकेका छैनन् । उम्मेदवार सिफारिसका लागि छलफल चलिरहेको साना दलको दाबी छ ।
लुम्बिनीका रूपन्देही, नवलपरासी पश्चिम र बाँकेमा राप्रपाको पनि प्रभाव छ । २०७९ मा राप्रपाले लुम्बिनी प्रदेशबाट ३ सिट जितेको थियो । तर, अहिलेसम्म उम्मेदवार सिफारिस नगरेको राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले बताए । त्यस्तै रास्वपाबाट प्रतिनिधि सभाको उम्मेदवारका लागि लुम्बिनीका सबै जिल्लाबाट निवेदन माग भएको तर को को आकांक्षी भएर आवेदन दिए भन्ने अहिले नै टुंगो नलागेको प्रदेश सभापति देवराज पाठकले बताए ।
