पढ्न भनेर रुस पुगेका दिनेश दुई वर्षदेखि सम्पर्कविहीन

‘तालिम सकिने वित्तिकै युद्धमा जान थाल्यो, युद्धबाट फर्केपछि फोन गरेर हालखबर सुनाउँथ्यो,’ बुवा कर्णसिंहले भने, ‘पछिल्लो पटक १५ दिनका लागि युद्धमा जान लागेको र फर्केपछि फोन गर्छु भनेको थियो, त्यसयता सम्पर्क हुन सकेको छैन ।’

पुस ३०, २०८२

भवानी भट्ट

Dinesh, who went to Russia to study, has been out of contact for two years.

What you should know

कञ्चनपुर — रुँदा–रुँदा कमलादेवी नायकका आँशु रित्तिइसके । उनी भक्कानिन्छिन् र एकोहोरो टोलाउँछिन मात्र । साढे दुई वर्षअघि अध्ययन गर्न भनेर रुस पुगेका छोरा दिनेशको सम्झनाले उनलाई सताइरहन्छ ।

बेला–बेला कुराकानी हुँदो हो त सम्हालिने बाटो पनि हुन्थ्यो । दुई वर्षभन्दा बढी भयो सम्पर्क भएको छैन । त्यसले झन् अत्याउने गरेको छ । कोही भेट्यो कि मन खोतल्ने गर्छिन् । बिलौना सुनाउँछिन् । सबैले ढाडस दिन्छन् । तर, छोरो फर्किने आस दिन सक्दैनन् । 

भीमदत्त नगरपालिका–९, बह्मदेवका २३ वर्षीय दिनेश २०८० असारमा अध्ययन गर्न भन्दै रुस गएका थिए । त्यहाँ पुगेको दुई महिनापछि सेनामा भर्ती भएको जानकारी दिए । त्यसैबेला कमलादेवीले छोरालाई सेनामा भर्ना नहुन सम्झाइन् । बरु घर फर्किएर आउन आग्रह गरिन् । तर, दिनेशले मानेनन् । तालिम अवधिसम्म घरमा नियमित फोन गरिराख्थे । तालिम पूरा गरेर युद्ध क्षेत्रमा गएका बेला बाहेक त्यही साता/दश दिनमा फोन गरेर हालखबर सुनाउँथे । यो क्रम सधैं चलेन । २०८० मंसिर १० गते कमलाले छोरासँग अन्तिम पटक कुरा गरिन् । त्यतिबेला आफू युद्धमा जान लागेकाले १५ दिनपछि फर्केर फोन गर्ने जानकारी दिएका थिए । 

‘युद्धबाट फर्किएपछि एक महिनाका लागि घर बिदामा आउँछु भनेको थियो, तर फोनसमेत आएन,’ उनले भनिन्, ‘दुई वर्षभन्दा बढी भइसक्यो, छोराको अवस्था के कस्तो छ, केही थाहा छैन ।’ बेला बेला क्षितिज हेर्दै टोलाउनु सिवाय कुनै उपाय छैन । अस्याट लागेपछि छोराले ह्वाट्स एपमा पठाएका तस्बिरमा टोपलिन्छिन् । तस्बिर हातले सुमसुम्याउँछिन् र रुन थाल्छिन् । ‘पढाइका लागि भनेपछि ऋण खोजेर पठाएँ, अहिले एकातिर छोराको र अर्कोतिर ऋण तिर्ने चिन्ता छ,’ दिनेशका बुवा कर्णसिंहले भने, ‘सेनामा भर्ती भएँ भन्ने बित्तिकै घर फर्किन भनेको हुँ, तर मानेन, पैसा कमाएर मात्रै घर फर्किन्छु भन्यो ।’ Dinesh, who went to Russia to study, has been out of contact for two years.दुई वर्षदेखि सम्पर्कविहीन छोराको फोटो हेर्दै आमा कमलादेवी र उनको परिवार । तस्बिर : भवानी भट्ट/कान्तिपुर 

बुवाका अनुसार दिनेश २०८० असार ८ गते घरबाट निस्केका हुन् । काठमाडौं एक साता बिताएर रुस उडे । रुस पुगेपछि कलेजमा भर्ना पनि भए । बिदाको समय मिलाएर काम पनि गर्न थाले । एक महिना काम गरेर घरमा ५० हजार नेपाली पठाएको बुवाले बताए । त्यसपछि भदौ १२ गते दिनेशले बुवालाई फोन गरेर रसियन आर्मीमा भर्ना भएको सुनाए । ‘त्यतिबेलै चिन्ता लाग्न थालिसकेको थियो,’ उनले भने, ‘भर्ना भए पनि घर फर्किन आग्रह गरेँ । तर मानेन ।’ 

दिनेशले आमा–बुवालाई बताएअनुसार भर्नापछि तालिममा सहभागी हुने/नहुने निर्णय गर्नका लागि १५ दिनको समय पाइन्छ । तालिमपूर्व ३ लाख मिल्ने प्रलोभन पनि देखाइयो । त्यही प्रलोभनले आफूहरूको कुरा टारेर तालिममा सहभागी भएको बुवाले बताए । 

‘तालिम सकिने बित्तिकै युद्धमा जान थाल्यो, युद्धबाट फर्केपछि फोन गरेर हालखबर सुनाउँथ्यो,’ कर्णसिंहले भने, ‘पछिल्लो पटक १५ दिनका लागि युद्धमा जान लागेको र फर्केपछि मात्रै फोन गर्छु भनेको थियो, तर त्यसयता कहीँकतै सम्पर्क हुन सकेको छैन ।’ दिनेशका मामाका छोरा रोहन पनि सँगै अध्ययनका लागि रसिया गएका थिए । रोहन दिनेशभन्दा एक महिनाअघि त्यहाँको सेनामा भर्ती भएका थिए । रोहनलाई देखेर दिनेश पनि सेनामा भर्ना भएको कर्णसिंह बताउँछन् । 

‘तर दाइभाइको कहिल्यै कुराकानी र भेटघाट हुँदैनथ्यो, रोहन त नौ महिनामै भागेर घर फर्कियो, मेरो छोराको अत्तोपत्तो छैन,’ कर्णसिंहले भने, ‘छोराको खोजीका लागि नेता, मन्त्रीदेखि सबैसँग हारगुहार गर्दा पनि कहीँकतैबाट पहल भएन ।’ परराष्ट्र मन्त्रालयमा निवेदन दिए । उनकै निवेदनका आधारमा परराष्ट्र मन्त्रालयले मस्कोस्थित नेपाली दूतावाससित दिनेशलाई नेपाल फिर्ता पठाउन आवश्यक पहल गरिदिन २०८१ साउन १४ गते मस्कोस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ । तर, अहिलेसम्म थप जानकारी नमिलेको परिवारले बतायो ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully