स्पष्टिकरण पनि नसोधी नेताहरुमाथि कारबाही 

महामन्त्रीद्वय थापा, शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । तर, कारबाही गरिनुपूर्व विधानअनुसार कसैलाई पनि सफाइको मौका दिइएको छैन ।

पुस ३०, २०८२

राजेश मिश्र

Action against leaders without even asking for an explanation

What you should know

काठमाडौँ — कांग्रेसको देउवा पक्षीय केन्द्रीय समितिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको विधानको प्रक्रिया नै पूरा नगरी कारबाही गरेको छ । 

सानेपामा बुधबार बसेको बैठकले महामन्त्रीद्वय थापा, शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । तर, कारबाही गरिनुपूर्व विधानअनुसार कसैलाई पनि सफाइको मौका दिइएको छैन । 

विशेष महाधिवेशन हलमा बोल्दै थापाले कारबाही गर्दा सामान्य स्पष्टिकरण पनि नसोधिएको बताएका छन् । उनले कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ नभएको भन्दै आफूमाथि गरिएको कारबाहीलाई चुनौती दिएका छन् ।

पार्टीले विधानको धारा ३४ को १ अनुसार अनुशासनको कारबाही भनिएको जनाएको छ । धारा ३४ मा अनुशासनसम्बन्धी व्यवस्था छ । (क) देखि (च) ६ वटा बुँदामा के गर्दा अनुशासन उल्लंघन भएको मानिने उक्त दफामा उल्लेख गरिएको छ । 

त्यहाँ पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत कुनै कार्य गरेमा, पार्टीको विधान, नियमावलीविपरीत कार्य गरेमा, पार्टीको आचारसंहिता उल्लंघन गरेकामा अनुशासनको उल्लंघन गरेको मानिने उल्लेख छ ।

त्यस्तै पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएमा वा त्यस्तो उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा वा निर्वाचनको समयमा पार्टीको उम्मेदवारविरूद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विरोध गरेमा वा असहयोग गरेमा अनुशासन उल्लंघन भएको मानिने भनिएको छ ।

त्यसैगरी पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानिनोक्सान पुर्‍याएमा, कसैको पनि चरित्र हत्या हुने, व्यक्तिगत वा सामाजिक मर्यादा भंग हुने, सम्मानमा चोट पुग्ने वा वितृष्णा फैलिने, साम्प्रदायिक सद्भाव प्रतिकूल हुने कुनै पनि गतिविधि, व्यवहार, आचरण वा अभिव्यक्ति गरेमा अनुशासनको उल्लंघन मानिने उक्त दफामा लेखिएको छ । 

पार्टी बैठकपछि प्रचार विभाग प्रमुख मिन विश्वकर्माले दफा ३४ अनुसार नै कारबाही गरिएको जानकारी दिएका छन् । कसैलाई कारबाही गर्नुपूर्वको प्रक्रिया ३४(८) मा लेखिएको छ । त्यहाँ छानबिन गर्ने, स्पष्टिकरण लिने, कसुर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन गर्ने वा निष्कासन गर्नेलगायतका विषय लेखिएको छ । 

कारबाही गर्दा आफ्नो सफाइ दिने मौकाबाट कसैलाई बञ्चित नगरिने दफा ३४(८) को (घ) मा उल्लेख छ । दफा ३४(८) को (ङ) अनुसार महामन्त्रीहरुलाई कारबाही गरेको पार्टीले त्यसैको माथि रहको बुँदा (घ) लाई बेवास्ता गरेको छ । (ङ) मा निलम्बन गर्दा बढीमा एक वर्ष र निष्कासन गर्दा बढीमा पाँच वर्षका लागि गर्न सकिने उल्लेख छ । 

पार्टी निर्णय सुनाउँदै विश्वकर्माले विधानको दफा ३४(८) को (ङ) अनुसार महामन्त्रीद्वय र सह महामन्त्रीलाई कारबाही गरिएको बताएका छन् । पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले अपर्झट अनुशासनको कारबाही गर्नु परेको भनेका छन् । महामन्त्री थापा, शर्मा र सहमहामन्त्री मन्सुरले विधान धारा ३४(१)को विरुद्ध अनुशासन उल्लंघन गरेको विभिन्न माध्यमबाट जानकारी आएको र सञ्चारमाध्यमबाट पनि पुष्टि भएकाले कारबाही गरिएको विश्वकर्माले बताएका छन् । 

कारबाही गर्दा अनुशासन समितिमार्फत नभएर केन्द्रीय समितिबाट गरिएको छ । विधानको दफा २२ मा केन्द्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकार उल्लेख छ । दफा २२ को उपदफा २० लाई टेकेर केन्द्रीय समितिले कारबाहीको निर्णय लिएको विश्वकर्माले जानकारी दिए । दफा २२(२०) मा पार्टी हितविपरीत काममा संलग्न भएको देखिएमा र पार्टीको हितका लागि तत्काल कारबाही गर्न आवश्यक भएमा केन्द्रीय कार्यसमितिले आवश्यक छानबिन गरी त्यस्तो निकाय वा पदाधिकारीलाई निलम्बन, विघटन वा हटाउन सक्ने उल्लेख छ । तर, कारबाही गर्न खोजिएको व्यक्तिमाथि लागेको आरोपको छानबिन वा सफाईको मौकासमेत नदिई पार्टीबाट निस्कासन गर्ने निर्णय गरिएको छ । त्यसरी निर्णय गर्दा विधानको दफा ५०(५) लाई प्रयोग गरिएको छ । उक्त दफामा विधानको व्याख्या गर्ने अधिकार केन्द्रीय समिति रहेको उल्लेख छ । 

त्यहाँ लेखिएको छ – ‘विधानको व्याख्या गर्ने र विधानमा उल्लेख भएका कुराहरूमा अपर्झट निर्णय गर्नु परेमा पार्टीको परम्परालाई ध्यानमा राखी केन्द्रीय कार्यसमितिले गर्न सकनेछ । त्यस्तो निर्णयलाई पछि हुने महासमिति वा महाधिवेशनबाट अनुमादन गराउनुपर्ने छ ।’ स्पष्टिकरण नसोधी सामान्य सफाइको समेत मौका नदिई कारबाही गर्दा विधानको त्यही दफालाई देखाइएको छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully