सार्वजनिक रूपमा कम देखिने तर निर्णायक भूमिका खेल्ने बालेनको बलियो आड, भरोसा र विश्वासपात्रका रूपमा पर्दापछाडि रहेको नाम हो- भूपदेव शाह ।
अछाम — बालेन्द्र शाहका लागि काठमाडौं महानगरपालिकाको मेयर बन्नु त्यति सजिलो यात्रा थिएन। स्थापित राजनीतिक दलहरूको लामो विरासत र शक्तिशाली संरचनासँग स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका बालेन्द्रको सिधा टक्कर थियो।
यही कठिन यात्रामा सार्वजनिक रूपमा कम देखिने तर निर्णायक भूमिका खेल्ने बालेन्द्रको बलियो आड, भरोसा र विश्वासपात्रका रूपमा पर्दापछाडि रहेको नाम हो- भूपदेव शाह ।
औपचारिक रूपमा उनी मेयर शाहका प्रमुख स्वकीय सचिव हुन् । तर व्यवहारमा उनी प्रचारभन्दा परिणाममा विश्वास गर्ने, पर्दापछाडि बसेर काम गर्ने र रणनीतिमार्फत प्रभाव पार्ने व्यक्ति हुन्। पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा आउँदै गर्दा बालेन्द्रको तर्फबाट राजनीतिक रूपमा सन्तुलन र संवाद मिलाउने पात्रका रूपमा पनि भूपदेवलाई हेरिन थालिएको छ।
अछामको मंगलसेन नगरपालिका–४ का स्थायी बासिन्दा २९ वर्षीय भूपदेव अहिले काठमाडौं महानगरको शक्ति केन्द्रमा छन् । बालेन्द्रलाई स्थापित बनाउने यात्रामा निर्णायक भूमिका खेलेका पात्रहरूमध्ये उनी एक मानिन्छन्।
अहिले भने उनी स्वयं प्रतिनिधिसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवार बन्ने चर्चासँगै नयाँ राजनीतिक मोडतर्फ उन्मुख देखिन्छन् । सम्भावित उम्मेदवार बनेपछि स्थानीय र राजनीतिक वृत्तले उनको मार्गदर्शन, विचार र रणनीतिबारे चासो राखेका छन्। अछामका ग्रामीण बस्तीहरूमा पनि शाहको खोजी र चर्चा हुन थालेको छ ।
मंगलसेन नगरपालिका–४ मा रहेको राधा माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले मंगलसेनकै दीपशिखा इङलिस बोर्डिङ स्कुलमा कक्षा ४ र ५ पढे । त्यसपछि भने उनी पढाइका लागि काठमाडौं पुगे। काठमाडौंको एलायन्स एकेडेमीबाट २०६७ सालमा एसएलसी गरे।
भूपदेव राजनीतिक रूपमा सचेत परिवारमा हुर्किएका व्यक्ति हुन्। उनका बुवा नृपबहादुर शाह २०४७ सालपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा सक्रिय भए । उनी दुई पटक पार्टीको जिल्ला सभापति बने । सुदूरपश्चिमको परम्परागत राजनीतिमा उनको राम्रो पकड थियो।
समयसँगै उनका बुवाको राजनीतिक धार परिवर्तन भयो। २०५५ सालपछि उनले कांग्रेसप्रति आस्था राख्न थाले । ‘घरमा भइरहने छलफल र माहोलले राजनैतिक चेतको विकास गर्यो । त्यतिबेलादेखि नै गलत र सही छुट्याउने चेतको पनि विकास भयो,’ भूपदेव भन्छन्,‘ देशमा नविन राजनीतिको सुरुवात हुनुपर्छ । युवाहरू अगाडि आउनुपर्छ भनेर म वैकल्पिक राजनितिमा होमिएँ ।’
उनका बुवाको बुझाई थियो- स्थापित दलभित्र बसेर मात्रै परिवर्तन सम्भव छ । यही विश्वास भूपदेवले स्वीकारेनन् । उनका बुवाले छोरालाई राजनीतिज्ञ होइन, सुरक्षित भविष्य भएको इन्जिनियर बनेको देख्न चाहन्थे । तर भूपदेवको आकर्षण प्रविधिक शिक्षा भन्दा पनि राज्य, नीति र प्रणाली सुधार तर्फ बढ्दै गयो । ‘हरेक बुवाआमाले उसको करिअर सुरक्षित की छैन भनेर नै हेर्ने हो । सुरुवाती दिनमा वैकल्पिक राजनीतिमा किन लाग्ने ? मान्छे नै कति नै छौ र ? झन् राजनैतिक करिअर सुरक्षित छैन भनेर सम्झाइ रहनुहुन्थ्यो,’ उनले भने,‘त्यो पार्टीले न जागिर दिन्छ, न अप्ठ्यारोमा पर्दा सहयोग गर्न सक्छ भन्नुहुन्थ्यो ।’
जब भूपदेवले परम्परागत दल राजनीतिभन्दा बाहिर उभिएर वैकल्पिक राजनीतिक धार रोजे, त्यसले बुवाछोराबीच मात्र होइन, परिवारभित्रै वैचारिक असहमतिलाई जन्म दियो। बुवाले वैकल्पिक राजनीतिमा भविष्य देखेनन् भने भूपदेवले परम्परागत राजनीतिमा समाधान देखेनन् ।
यो टकराव लामो समयसम्म परिवारभित्र रहिरहृयो । ‘त्यतिखेर परिवार नै मेरो निर्णयको विपक्षमा थियो । पार्टीले मलाई ज्ञान दिएको छ । क्षमता अभिवृद्धि र सोचाइलाई परिवर्तन गरिरहेको छ भनेर जवाफ दिन्थे । भौतिक उपलब्धि मात्रै सबै होइन भनेर पनि आफ्नो कुरा राख्थेँ,’ उनले भने, ‘बुवाआमाको चाहना छोरा इन्जिनियर बनोस् भन्ने थियो । घरमा सधैं यही विषयमा वादविवाद हुन्थ्यो । तर टुंगोमा पुग्दैन थियो । मेरो कामले देखाउँछ म भन्थे । न यो साध्य हो न साधन । यसमा लाग्नु हुँदैन भन्ने परिवारको मत हुन्थ्यो ।’
परिवारको इन्जिनियर बनोस् भन्ने चाहनालाई भूपदेवले बेवास्ता गरे । १२ कक्षापछि घरमा थाहै नदिएर उनी त्रिचन्द्र कलेजमा मानविकी विषय लिएर भर्ना भए। ‘इन्जिनियरिङको इन्ट्रान्ससम्म फारम त भरे तर परीक्षा दिइनँ। घरमा भने इन्ट्रास दिएर फेल भएँ भनिदिएँ,’ उनले भने,‘त्यतिबेला मेरो पढाइलाई लिएर घरमा चित्त बुझाइ थिएन । परिवारभित्र अप्ठ्यारो संवाद भइरह्यो ।’
२०७१ सालमा उज्जवल थापाले नेतृत्व गरेको विवेकशील साझा दल मार्फत वैकल्पिक राजनीतिमा औपचारिक रूपमै प्रवेश गरे । उनी थापाको स्वकीय सचिवको भूमिकामा रहे ।
काठमाडौंको एलायन्स एकेडेमीमा भूपदेव कक्षा ६ मा पढ्दा बालेन्द्र कक्षा १० मा पढ्थे । उनीहरूको पहिलो भेट त्यतै भयो। उमेर र कक्षाको फरकले सुरुमा उनीहरू अलगअलग समूहमा थिए। तर बालेन्द्रको स्वभावले भूपदेवलाई छिट्टै आकर्षित गर्यो। ‘हामी दुवै जना एकै स्कुलमा पढ्थ्यौं । हाम्रो पहिलो भेट त्यतै भएको हो । त्यही बेलादेखि नै हाम्रो दाजुभाईको सम्बन्ध स्थापित भइसकेको थियो,’ भूपदेवले झने।
विद्यालयका अतिरिक्त त्रियाकलाप, सामाजिक गतिविधिमा सँगसँगै हुन थालेपछि उनीहरूको सम्बन्ध बलियो बन्दै गयो। विद्यालय जीवनपछि पनि उनीहरूको सम्बन्ध टुटेन। सामाजिक अभियान, प्रणालीविरुद्धको असन्तुष्टि र वैकल्पिक राजनीतिको खोजीले उनीहरूलाई लामो समयसम्म राजनीतिक साझेदार बनाउँदै लिएको थियो।
२०७९ को स्थानीय तह निर्वाचनमा बालेन्द्रले स्वतन्त्र राजनीतिक बाटो रोज्दा भूपदेवको रणनीतिक अनुभव, पर्दापछाडि बसेर गर्ने काम र भरोसा उनको लागि निर्णायक बन्यो। बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बने। यो यात्रामा भूपदेवले सक्रिय भूमिका निर्वाह गरे। भूपदेवले पर्दा पछाडि बसेर निर्वाचन अभियान सञ्चालन, स्थानीयस्तरबाट आएका सुझावको प्रतिक्रिया विश्लेषण, जोखिम र अवसरको मूल्याङ्न गर्थे।
बालेन्द्र मेयर बनेपछि भूपदेवलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिए । त्यसपछि वर्षौंदेखि परिवारभित्र रहेको असमझदारी क्रमशः घट्यो । अहिले पूरा परिवार भूपदेवको यात्राको पक्षमा उभिएको छ । यही क्षणले भूपदेवको व्यक्तिगत जीवनमा पनि ठूलो मोड आयो । ‘मेयरको प्रमुख स्वकीय सचिव भएपछि मात्रै बुवाआमा खुसी भए । परिवारको असहमति पनि हट्दै गयो,’ उनले भने ।
पछिल्लो समय नेपाली राजनीतिमा वैकल्पिक शक्तिहरू एक ठाउँमा आए । काठमाडौंका मेयर बालेन्द्र, जेनजीका समूहहरू, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङजस्ता पात्रहरू राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व गरेको दलमा एकीकृत हुँदै गर्दा भूपदेवले वार्ता, संवाद र सन्तुलनको भूमिका निर्वाह गरे। यही भूमिकापछि उनको चर्चा झन् चुलियो छ भने सम्भावित प्रतिनिधिसभाको उम्मेद्वारको रूपमा हेरिन थालेको छ।
‘रास्वपा, काठमाडौं नगरपालिकाका मेयर, जेनजीका समूहहरू, उज्यालो अभियन्ता कुलमान घिसिङ र अरु परिवर्तनकारी नयाँ स्वतन्त्र व्यक्तिहरू एक ठाउँमा उभिनु पर्छ भन्ने जनमानसको आकांक्षा थियो । त्यसैलाई सम्बोधन गर्नका लागि पनि मैले वार्ता समितिमा रहेर महत्त्वपूर्ण भूमिका खेलेकै हो,’ भूपदेवले भने,‘मस्यौदादेखि वार्तासम्म खटिए । एकीकरण हुने सवालमा गहन छलफल गरेर के कसरी गर्ने, को कहाँ बस्ने भन्ने विषय मिलाउन त्यति सजिलो थिएन।’
छोटो समयमा वार्ताकै माध्यमबाट निकास खोज्न ‘फ्रन्ट लाइन’मा उभिएको उनी बताउँछन् । पार्टीको एकीकरण र समायोजन प्रक्रियामा समावेश भएकाले सोही भूमिकालाई मध्यनजर गरेर आफ्नो भूमिका र आगामी जिम्मवारीका विषयमा छलफल भइरहेको उनले बताए। पछिल्लो समय उनी बालेन्द्रको तर्फबाट रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत भइसकेका छन्। ‘पार्टीमा सहमहामन्त्री बनाउने विषय पनि छलफलमा आएको छ । पार्टीको निर्णय र पार्टीले दिएको भूमिका स्विकार्छु । राजनैतिक जिम्मेवारी यो समयमा लिनुपर्छ र काम गर्नुपर्छ भन्नेमा म स्पस्ट छु,’ उनले भने, ‘एकीकरणको वार्तामा बसेर राम्रोसँग खेलेको भूमिकाको कदर गरेको हो जस्तो लाग्छ ।’
मेयर शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि बढाउँदा उनीसँग निकट भएर लामो समय काम गरेको मान्छे प्रत्यक्ष रूपमा जनतासँग गएर जितेर नै आउनुपर्छ भन्ने आफ्नो र टिमको मान्यता भएको पनि उनले बताए। ‘म अछाम-२ बाट उम्मेदवारको आकांक्षी हुँ। अहिले यो विषयमा छलफल पनि हुँदैछ। त्यसका लागि आफ्नो जन्मस्थान अछाम नै जानुपर्छ । अछाम जितिएन भने सिहंदरबार पुगिँदैन,’ उनले भने, ‘जेनजी आन्दोलनको माग पूरा गर्नका लागि देशैभर माहोल सिर्जना गर्ने नै हो । त्यही भएर मेरो उम्मेदवारीको विषय छलफलमा आएको हो । तयारी पनि गरिरहेको छु ।’
