प्रत्यक्षदर्शी भन्छन्- ‘सिलिन्डर विस्फोट लगत्तै कोठामा चिच्याइरहेका सबैको आवाज एकै पटक बन्द भयो’

गाउँबाट सँगै मजदुरी गर्न गएका काशीरामका भाई नाता पर्ने मनबहादुर विक र प्रेम विकले घटनालाई यसरी सुनाएः

पुस २९, २०८२

विप्लव महर्जन

Eyewitness says - 'Immediately after the cylinder explosion, everyone's screams in the room suddenly stopped'

What you should know

सल्यान — भारतको हिमाचल प्रदेश सोलान जिल्लाको अर्की भन्ने ठाउँमा आइतबार रातिको समयमा अचानक पसलमा आगलागी हुँदा ग्यास सिलिन्डर विस्फोट भएर सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ।

आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा परेर ३३ का धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता, १६ वर्षीया छोरी राधा, १० वर्षीया रेनुका, २२ महिनाका छोरा राजन र ४७ वर्षका काशीराम विक, उनकी श्रीमती ३२ वर्षकी टीका विक, १२ वर्षकी छोरी अनु र ७ वर्षका छोरा किरणसहित नौ जनाको ज्यान गएको हो।गाउँबाट सँगै मजदुरी गर्न गएका काशीरामका भाई नाता पर्ने मनबहादुर विक र प्रेम विकले घटनालाई यसरी सुनाएः 

‘आर्थिक अवस्थाले छाक टार्नै हम्मे भएपछि हामी तीन परिवार अढाई वर्षअघि हिमाञ्चल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने बजारमा मजदुरीका लागि आएका थियौैं । दाजु काशीराम विक र धनबहादुर विकको परिवार राजीव गुप्ताको घरमा र म नजिकैको अर्को घरमा बस्थें । हामी सबै एउटै ठाँउमा सँगै मजदुरी गर्थ्यौं। 

आइतबार (२७ गते) हामी बजारदेखि सय मिटरको दुरीमा बिहानैदेखि मजदुरी गरिरहेका थियौं । दिनभरी काम गरेर बेलुकी ७ बजेतिर हामी कोठामा फर्कियौं । सबै थाकेकाले हतारहतारमा खाना खाएर दाजुहरु सुते र म पनि सुत्न गए ।

राति ठिक १ बजेतिर हल्लीखल्ली मच्चियो । आगलागी भयो भन्दै कराउन थाले । त्यो सुनेपछि हामी सबै आयौं। दाजुहरु सुत्ने कोठामा जाने सिँढीमा आगो लागिरहेको थियो। त्यही घरको भूँइतलामा ग्यास सिलिन्डरदेखि लिएर हरेक किसिमका सामग्री बिक्री गर्न राखेका थिए। 

पसलमा पनि आगो लागिरहेको थियो। भित्रबाट दाजुलगायतका सबै चिच्चाइरहेका थिए । आगलागी भएकै घरमा पछाडिको कोठामा सुतेका गाउँकै केही स्थानीय अर्को सिँढीबाट हाम फालेर बाच्न सफल भए । हामी आगो निभाउन पानी लिएर जाँदै गर्दा एकै पटक धेरै सिलिन्डर पड्केको आवाज आयो। हामी डरले अलि टाढा भाग्यौं । मैले झन्डै १०/१२ वटा सिलिन्डर विस्फोटको आवाज सुने । त्यसपछि घर तहसनहस भयो र कोठामा चिच्याइरहेका दाजुको परिवारको आवाज बन्द भयो । 

ग्याँस सिलिन्डर विस्फोटपछि आगो एक/दुई वटा दमकलले निभाउन नसक्ने अवस्थामा पुगेको थियो । आगो ठूलो भएकाले कसैले केही गर्न सकेनौं । रातभरि त्यत्तिकै बस्यौं। बिहान ६ बजे घटनास्थलमा सुरक्षाकर्मीको टोली आयो । दमकल पनि आए । दमकलले आगो निभायो । सुरक्षाकर्मीले चारैतिरबाट घेरबार गरे । हामीलाई नजिक बस्न दिएनन्। आगो नियन्त्रणमा आएपछि नजिकै गएर हेर्दा मान्छेका शरीरका विभिन्न भाग टुक्रा परेको अवस्थामा देखिए । त्यो पनि आगोले जलेको अवस्थामा । कसको शवको टुक्रा कुन हो छुटयाउनै नसक्ने अवस्था छ । हामी अहिले स्तब्ध छौं । सुरक्षाकर्मीको टोलीले विस्फोट भएको क्षतिग्रस्त घर भत्काइरहेको छ र मृतकको शवको टुक्रा संकलन गरिरहेको छ । हामी त्यही हेरेर मौन बस्न बाध्य छौं ।  

रातिको झन्डै १ बजेतिर आगलागी भयो भनेर हल्लीखल्ली मच्चिएपछि आगलागी भएको घरनजिकैको घरमा सुतेको म (प्रेम विक) हतारहतार उठेर बाहिर हेर्दा आफन्ती काशीराम विक र धनबहादुरका परिवार सुत्ने कोठामा जाने सिँढीमा आगो लागिरहेको थियो । घरको चारैतिर आगो फैलिन थालेपछि त्यही घरको पछाडिपट्टिको कोठामा बसेका आफन्ती अर्को सिढीबाट निस्केर भाग्न सफल भए तर काशीराम र धनबहादुरका परिवार भित्रै थुनिए । भित्र कोठाबाट चिच्याइरहेका थिए ।

केहीबेर नबित्दै घरको तल्नो कोठामा भएको पसलमा बिक्री गर्न राखेको केही थान सिलिन्डर एकै पटक पड्किए । त्यसपछि सबैको आवाज एकै पटक बन्द भयो । गाउँघरमा मजदुरी समेत नपाइने भएपछि धेरै सपना लिएर हामी बस्तीका ६/७ जनाको परिवार अढाई वर्षअघि घर छाडेर छिमेकी देशमा आएका थियौं । पहिला पनि यहाँ आउने जाने गर्थ्यौं । परिवारसहित आएर बसेको केही वर्ष मात्र भएको थियो । दुई जनको परिवारको अकालमा मृत्यु भएपछि सबै सपना चकनाचुर भएको छ । हामीले केही सोच्न सकेका छैनौं ।’  

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully