पढाइ खर्च जुटाउन निर्वाचन प्रहरी

प्रवेशपत्र हात पर्ने बेलासम्म नेसन प्रजालाई घर फर्किन हतार भइसकेको थियो । ‘गाउँ जाने एउटै गाडी छ, छुट्यो भने आपत् पर्छ,’ उनले भने, ‘हिजै आएर बास बसेर अहिले फर्म भरेको हुँ ।’

पुस २९, २०८२

रमेशकुमार पौडेल

Election police to raise funds for education

चितवन — सरकारले निर्वाचन प्रहरी माग गरेपछि भर्ती हुन गाउँ–गाउँबाट जिल्ला प्रहरी पुग्नेको होड छ । कोही नुन–तेल जोहो गर्न आवेदन दिइरहेका छन् । कोही उपचार खर्च जुटाउन । कोही पढाइ खर्च पुर्‍याउन भर्ती हुने प्रयासमा छन् । यस्तैमध्येका हुन्– चितवनको कान्दाका २२ वर्षीय नेसन प्रजा (चेपाङ) ।

भर्खरै स्नातक तहमा भर्ना भएका छन् । तर, नियमित पढ्न उनीसँग खर्च छैन । 

भर्ना खुलेको जानकारी पाएपछि मंगलबार बिहान जिल्ला प्रहरी पुगे । उनी त्यहाँ पुग्दा जिल्ला प्रहरी परिसरमा युवादेखि प्रौढसम्म भेला भइसकेका थिए । अरुसँगै नेसनले पनि आवेदन पत्र भरे । प्रवेशपत्र हात पर्ने बेलासम्म घर फर्किन हतार भइसकेको थियो । ‘गाउँ जाने एउटै गाडी छ, छुट्यो भने आपत् पर्छ,’ उनले भने, ‘हिजै आएर बास बसेर अहिले फर्म भरेको हुँ । बेलैमा भण्डरा पुगिएन भने गाडी छुटछ ।’ राप्ती नगरपालिका–१३, को कान्दा जिल्लाकै विकट बस्ती हो । 

भण्डाराबाट जिपमा तीन घण्टा यात्रा गरेपछि पनि गाउँ पुग्न थप तीन घण्टा पैदल उकालो/ओरालो हिँड्नुपर्छ । स्नातक तह पढ्ने खर्च जोहो गर्न सकिन्छ कि भनेर भर्ना हुन आएको नेसनले बताए । लालिराम र केटीमायाका तीन छोरामध्ये नेसन कान्छा हुन् । नेसनका दुई दिदी र दुई बहिनी छन् । सात सन्तानमध्ये उनले मात्र १२ कक्षा उत्तीर्ण गरे । कान्छी बहिनी गाउँकै स्कुलमा चार कक्षामा पढिरहेकी छिन् । कान्दाका प्रायः बालबालिकाको कथा नेसनसित मेल खान्छ । 

२०७२ सालमा काभ्रेको लक्ष्मी प्रतिष्ठान नामक संस्थाले कान्दामा कुमार बलराम स्मृति छात्राबास सञ्चालनमा ल्याएपछि उनले पढ्न पाएका हुन् । छात्राबासमा निःशुल्क खान र बस्न पाए । छात्राबासमा बसेर उनीहरूले कान्देश्वरी विद्यालयमा पढे । उक्त स्कुलमा ६ कक्षासम्म पढाइ हुन्थ्यो । लक्ष्मी प्रतिष्ठानले उनीहरूलाई सात कक्षाभन्दा माथि पढाउन काभ्रे लगेर छात्राबासमा राख्यो । नेसनले एसईई र १२ कक्षा काभ्रे बसेर पूरा गरे ।

‘अब स्नातक तह आफ्नै बलबुतामा पढ्नु पर्ने भयो,’ उनले भने, ‘बा–आमा खेती किसानी गर्नु हुन्छ । मकै, कोदो, फापर फल्छ तर खान पुग्दैन ।’ खान–लाउनै समस्या भएकाले पढाइ खर्च नपुग्ने उनले सुनाए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully