रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सुरुवाती अगुवाइ गर्ने भण्डारी दम्पतीसँग मिलेर संरचनागत र स्वयंसेवक शिक्षक सहयोग गरेको बताए ।
What you should know
गुल्मी — अन्धविश्वासमा भर परेको भए रुरुक्षेत्र–१, रिडीका विष्णु र अमृता भण्डारीका दुई सन्तान अहिलेसम्म डोरीमा बाँधिएको अवस्थामै हुन्थे । दुई छोरा बाँध्नुपर्दा दम्पती पनि मानसिक पीडाबाट गुज्रिन्थे । तर, पति–पत्नीको सकारात्मक बुझाइका कारण छोराहरूले पीडा सहनु परेन ।
२०६४ र २०६९ मा जन्मिएका अविरल र अनुपमलाई कस्तो शारीरिक समस्या देखिएको हो भनेर सुरुमा पत्तो पाएनन् ।
जचाउँदै जाँदा अटिजम पुष्टि भयो । जेठा छोरा चार वर्षको हुँदा अटिजम पहिचान भयो । अनि दोस्रो सन्तानमा पनि त्यही समस्या देखियो । सुरुमा सन्तानमा समस्या देखिएपछि अनेक कुरा सुन्नु पर्यो । तर, हार नमानेर अमृताले अटिजमलाई एक सिकाइका रूपमा लिइन् । छोराको रेखदेख गर्न अटिजम केयर नेपाल सोसाइटीबाट यससम्बन्धी तालिम लिइन् । २०७४ सालमा आफ्नै घरको एक कोठाबाट यससम्बन्धी ‘केयर’ सुरु गरिन् । त्यसपछि दैनिकी सहज बन्दै गयो । यिनै दम्पतीकै कारण रुरुक्षेत्रमै अटिजम पाठशाला नेपाल सञ्चालनका लागि स्थानीय अगुवाले सहयोग गरे । ‘सुरुमा अटिजम भन्ने नै थाहा थिएन, छोरामा पुष्टि भएपछि निकै गार्हो भयो,’ अमृताले भनिन्, ‘केयर सुरु गरेपछि सुधार हुँदै गएकाले संस्था नै खोलियो, अहिले धेरैलाई यो वरदान साबित भएको छ ।’
पाल्पा रामपुरकी लक्ष्मी ज्ञवाली सिग्देल बसाइँ सरेर रूपन्देहीको बुटवलमा बसोबास गर्थिन् । छोरा पाँच वर्षको हुँदा अटिजम पुष्टि भयो । पहिले अटिजम शब्द नसुनेकी उनी तीन वर्षदेखि छोराको रेखदेख गरिरहेकी छिन् । ‘अटिजम थाहै थिएन, बिस्तारै बोल्छ र विकासक्रम होला भन्दाभन्दै सुधार भएन, पछि अटिजम भएको थाहा पाएँ,’ उनले भनिन्, ‘अभिभावकसँगै स्वयंसेवक शिक्षक हुँदा सन्तुष्ट छु, सुधार पनि देखिएको छ ।’ थेरापीको माध्यमबाट सुधारको पर्खाइमा रहेको उनले बताइन् । बुटवलमा छोरालाई सिकाउँदै स्वयंसेवक शिक्षकको माग भएपछि अटिजम पाठशालामा आएको उनले बताइन् । सानातिना कुरामा सुधार हुने, नियमित केयर गर्नुपर्ने, आफूलाई परेपछि मात्रै समस्या थाहा हुने उनको बुझाइ छ ।
गुल्मीको रेसुंगा नगरपालिका–६, सिमाघाटकी सिजन पोखरेल पनि सन्तानमा अटिजम पुष्टि भएपछि यही पाठशालामा आइपुगेकी छन् । पहिले अटिजमबारे जानकारी नरहेको र अहिले ज्ञान मिलेपछि सजिलो भएको उनले बताइन् । रुरु क्षेत्रमा रहेको अटिजम पाठशालामा ११ बालबालिका छन् । दुई जनाबाहेक अन्य अभिभावकसहित बसिरहेका छन् । पाठशालाको आश्रयपछि अभिभावक पनि यसलाई पाप वा कर्मको फल भन्ने परम्परागत बुझाइबाट माथि उठेका छन् । उनीहरूले अटिजम रोग नभएर मस्तिष्क विकाससँग सम्बन्धित समस्या भएको बुझेका छन् । मस्तिष्कको सुस्त विकासक्रमका कारण ढिलो बोल्नु वा नबोल्नु, अरुसँग आँखा जुधाएर नहेर्नु, एक्लै बस्नु, एउटै कुरा बारम्बार गर्नु, कुनै पनि भावना व्यक्त नगर्नु र आफ्नै शैलीमा आफूमात्र बस्न रुचाउनु लगायतका समस्या हुनु अटिजम हो । जून वंशाणुगत र मस्तिष्कको सुस्त विकासले हुन्छ ।
पाठशालामा बालबालिकालाई विभिन्न तालिम, रेड क्लास, ब्युलु क्लास र एल्लो क्लासमार्फत सिकाइ हुन्छ । रुरुक्षेत्रस्थित रिडी रातामाटामा जुनकुमार र तुल्सीकुमारी श्रेष्ठ दम्पतीले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएर लुम्बिनी प्रदेश सरकार र रुरुक्षेत्र गाउँपालिकाको ६० लाख रुपैयाँ लगानीमा पाठशालाको पाँच कोठे भवन निर्माण भएको छ । साथै स्थानीय १ सय ६ जना सहयोगीबाट २३ लाख रुपैयाँ जुटाएर अक्षयकोष स्थापना गरिएको छ । दुई जनाका लागि आवासीय व्यवस्था छ ।
प्रदेश सरकारको सहयोगमा दुई जना स्वयंसेवक शिक्षक राखिएका छन् । पाठशालाबाट अहिलेसम्म ३९ जना यस्ता समस्या भएका बालबालिकाले तालिम लिइसकेका छन् । पाठशालालाई एउटा सवारी साधन र होस्टल आवश्यक रहेको अटिजम पाठशाला प्रमुख अमृता कँडेल भण्डारीले बताइन् । ‘बालबालिकालाई पाठशालामा कुनै शुल्क लाग्दैन,’ उनले भनिन्, ‘तर, सुरुवाती चरणमा पाँच हजार रुपैयाँ बराबरको खेलौना आवश्यक पर्छ ।’ पाठशालामा सिकाइपछि बालबालिका बिस्तारै घाँस काट्ने, खाना पकाउने, मागेको कुरा दिने, ढोका खोल्ने, बन्द गर्ने, सिँढी चढ्ने, बस्तुहरू चिन्ने, भनेको कुरा मान्ने, गीत गाउने र भुल्ने लगायत व्यवहारमा सुधार देखिएको उनले बताइन् ।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सुरुवाती अगुवाइ गर्ने भण्डारी दम्पतीसँग मिलेर संरचनागत र स्वयंसेवक शिक्षक सहयोग गरेको बताए । ‘अटिजमलाई विशेष क्षमताका रूपमा लिएर तालिम प्रदान लगायतमा काम गरेका छौं,’ उनले भने, ‘अपांगता सहायता सामग्री र अभिभावकलाई पनि आय आर्जनमा जोड्ने कार्यक्रम ल्याएका छौं ।’ थप संरचनागत विकास र मागमा आधारित सहयोग गर्न संघीय सरकारसँग पहल गरिरहेको उनले बताए ।
