पर्यटन प्रवर्द्धन सहकार्य गर्न दुई प्रदेशबीच ९ बुँदे समझदारी ।
What you should know
पोखरा — कोशी प्रदेश सरकारले २०८२ लाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ का रूपमा मनाउने सन्दर्भमा गण्डकी प्रदेशसँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी-पत्रमा हस्ताक्षर भएको छ । सोमबार पोखरामा आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रदेश सचिव डा. इन्द्रप्रसाद सापकोटा र गण्डकी प्रदेशका निमित्त प्रदेश सचिव टीकाराम पौडेलले समझदारी-पत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई वर्षको अवधिका लागि लागू हुने यस समझदारीले दुवै प्रदेशबीच पर्यटन विकास, प्रवर्द्धन, पूर्वाधार विस्तार, मानव संशाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउने उद्देश्य राखेको छ ।
समझदारीपत्रमा ९ क्षेत्रमा आपसी सहकार्य गर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत दुवै प्रदेशका सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकलाई लक्षित गरी अन्तरप्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्न ‘इन्सेन्टिभ प्याकेज’ तथा सुलभ पर्यटन प्याकेज विकास गर्ने, पोखरा–विराटनगर सिधा हवाई सेवा तथा पर्यटकीय बस सेवा सञ्चालनका लागि संघीय सरकारसमक्ष आवश्यक पहल गर्ने र पर्यटन क्षेत्रका सन्दर्भमा भएका असल अभ्यासको आपसी आदानप्रदान गर्ने व्यवस्था छ ।
त्यस्तै, दुवै प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको आपसी प्रचारप्रसारका लागि समन्वय र सहकार्य गर्ने, हवाई भाडासम्बन्धी विषयमा आवश्यक सहकार्य र पहल गर्ने, संयुक्त रूपमा पर्यटन दूत नियुक्त गर्ने र दुवै प्रदेशका होमस्टेबीच भगिनी सम्बन्ध स्थापना गर्न पहल गर्ने व्यवस्थासमेत गरिएको छ ।
दुई प्रदेशबीच धार्मिक पर्यटन सर्किट विकास तथा प्रवर्द्धन गर्ने सम्झौता भएको छ । पहिलो चरणमा कोशी प्रदेशका पाथीभरा, बराहक्षेत्र र हलेसी तथा गण्डकी प्रदेशका मनकामना, मुक्तिनाथ र दामोदरकुण्डलगायतलाई धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न दुवै प्रदेशले आवश्यक सहयोग र योगदान गर्ने समझदारी पत्रमा उल्लेख छ ।
समझदारीपत्रअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूको वित्तीय व्यवस्थापन सम्बन्धित निकायका स्वीकृत कार्यक्रम, वार्षिक बजेट तथा उपलब्ध स्रोतका आधारमा गरिने र आवश्यकता अनुसार दुवै पक्षको आपसी सहमतिमा अतिरिक्त स्रोत परिचालन गर्न सकिने व्यवस्था छ ।
कोशीको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन वर्ष ०८२ को सचिवालयले अन्तर प्रदेश पर्यटन प्रवर्द्धनसम्बन्धी सद्भावना भ्रमण तथा अन्तरक्रियाको अवसरमा समझदारी-पत्रमा हस्ताक्षर भएको हो ।
गण्डकी–कोशी पर्यटन प्रवर्द्धन समन्वय समिति गठन
समझदारी-पत्रको प्रभावकारी कार्यान्वयनका लागि गण्डकी–कोशी पर्यटन प्रवर्द्धन समन्वय समिति गठन भएको छ । आलोपालो संयोजक हुने गरी प्रदेशको पर्यटन हेर्ने मन्त्रीको संयोजकत्वमा रहने यस समितिमा दुवै प्रदेशका पर्यटन मन्त्रालयका सचिव, कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समितिका दुई सहसंयोजक, पर्यटन परिषद् पोखराका अध्यक्ष, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र दुवै प्रदेशका नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहने व्यवस्था छ ।
कोशी प्रदेशका सचिव डा.सापकोटाले प्रदेशबीचको समन्वय र साझेदारी अपरिहार्य भएको बताए । ‘केही गतिविधि कोशी एक्लैले गर्न नसक्ने महसुस गरेपछि एकअर्कामा समन्वय र साझेदारी जरुरी छ भनेर यहाँ उपस्थित भएका हौं,’ उनले भने । उनले सन् १९५० देखि नै पर्यटकीय गतिविधिमा अग्रणी भूमिका खेलेको पोखराबाट सिक्न आवश्यक भएको बताए ।
‘कनेक्टिभिटी’ प्रमुख समस्या
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भए पनि नियमित उडान सञ्चालन हुन नसकेको र कोशी हुँदै गण्डकी आएर भारत जाने ‘कनेक्टिभिटी’ बनाउन नसकिएकामा दुःख व्यक्त गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिकूलताका कारण पर्यटनमा अपेक्षित प्रगति हुन नसकेको उनले बताए । ‘कोभिडपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढ्यो तर अर्थतन्त्र चलायमान हुने गति रोकियो,’ उनले भने, ‘२३ र २४ भदौमा अकल्पनीय घटना भयो, जसले उद्योग र पर्यटनलाई तहसनहस बनायो ।’
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले ‘कनेक्टिभिटी’ प्रमुख चुनौती भएको स्वीकारे । ‘पोखरा–विराटनगर, पोखरा–भद्रपुरको उडान किन सफल हुन सकेन ? नीतिगत निर्णय मात्रै गरेर नहुँदो रहेछ,’ उनले भने, ‘सरकारको सहयोग भइदिएको भए उडान हुन्थ्यो होला ।’ उनले विराटनगरलाई क्षेत्रीय विमानस्थल बनाएर सातवटै प्रदेशसँग जोड्ने तयारी भएको जानकारी दिए ।
सद्भावना भ्रमण तथा अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायीले ‘कनेक्टिभिटी’लाई प्रमुख समस्याका रूपमा औंल्याए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कोरला नाकाबाट मानसरोवर जाने सम्भाव्यताको अध्ययन गर्ने तयारी भएको जानकारी दिए । उनले वातावरणीय प्रभाव मूल्यांकनको प्रावधानले होटलको नवीकरण हुन नसकेको, नेपाल एयरलाइन्स र पर्यटन बोर्डको पुनर्संरचना आवश्यक भएको बताए ।
नाट्टा गण्डकीका पूर्वअध्यक्ष हरिराम अधिकारीले विराटनगर र भद्रपुरमा हवाई उडानका लागि निजी क्षेत्रको प्रयास मात्रै पर्याप्त नभएको बताए । ‘कोशी घुमाउने प्याकेज बनायौं तर फ्लाइट एक महिनामा बन्द भयो,’ उनले भने, ‘यसमा राज्य पनि लाग्नुपर्छ ।’
होटल एसोसिएसन नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भारतीय पर्यटकलाई आकर्षित गर्न समिति बनाएर काम गर्नुपर्ने बताए । ‘पोखरामा मात्रै ४० हजार बेड, १ हजार २ सय भन्दा बढी होटल छन् । गुणस्तरीय पर्यटक मात्रै राख्छौं भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘खाना, टेन्ट आफैं बोकेर आउने भारतीय पर्यटकलाई पनि स्वागत गरिरहेका छौं ।’
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गण्डकीमा ट्रेकिङ ट्रेल मोटरबाटोले ध्वस्त हुँदै गएको चिन्ता व्यक्त गर्दै कोशीका पदयात्रा मार्गलाई जोगाउन सुझाव दिए । मुद्रा सटही संघ पोखराका अध्यक्ष रुपकराज मिश्रले चियाको ब्रान्डिङमा जोड दिए । ‘कोभिडअघिसम्म चियाको अध्ययन गर्न आउने पर्यटक अत्यधिक थिए । चियालाई फोकस गर्न सके कोशी पर्यटनमा अब्बल हुन्छ,’ उनले भने ।
कोशी प्रदेश भ्रमण वर्षका सहसंयोजक भवेशकुमार श्रेष्ठले कोशी प्रदेशले ८३ प्रतिशत चिया निर्यात गर्ने गरेको जानकारी दिए । ‘रुद्राक्ष, लालिगुराँस र चिया हाम्रा मुख्य सम्भावना हुन्,’ उनले भने ।
नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले आन्तरिक पर्यटनको महत्त्वमा जोड दिए । ‘अन्य देशमा पर्यटनमा आन्तरिक पर्यटनले आधार बनाउँछ । नेपालमा अन्तर्राष्ट्रिय पर्यटकले आधार बनाए,’ उनले भने, ‘अभावका बेलामा आडभरोसा दिने भनेको आन्तरिक पर्यटकले हो ।’ उनले सगरमाथाबाट हुने फाइदा कोशी प्रदेशले जनस्तरसम्म पुर्याउन नसकेको बताए ।
गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहन काफ्लेले होमस्टेको भविष्यप्रति चिन्ता व्यक्त गर्दै भने, ‘अबको पुस्तापछि होमस्टेको अवस्था के हुने भन्ने चिन्ताको विषय छ । गाउँमा अहिले अहिले वृद्धवृद्धा मात्रै छन् । पर्यटनलाई दिगो बनाउने आन्तरिक पर्यटकले हो ।’
