धान भित्र्याएपछि खेतमा झरेका दाना र गाँजबाट पलाएका टुसा खान यी चरा दिव्यनगर आइपुग्ने गर्छन्।
What you should know
चितवन — दिव्यनगरको फाँटले स्थानीयलाई अन्न मात्र होइन, हिमाल नाघेर आउने महत्त्वपूर्ण पाहुना चरालाई पनि चारो दिँदै आएको छ।
चितवनको पश्चिम भेगमा पर्ने भरतपुर महानगरपालिका–२६ नारायणी नदी किनार नजिकको दिव्यनगरको कृषि भूमिमा हिउँद सुरु भएसँगै मंगोलिया, साइबेरिया र चीनको उच्च भू–भागबाट कमन क्रेन अर्थात् लक्ष्मण सारस (स्थानीय नाम: कर्याङकुरुङ) आउने गरेका छन्।
धान भित्र्याएपछि खेतमा झरेका दाना र गाँजबाट पलाएका टुसा खान यी चरा दिव्यनगर आइपुग्ने गर्छन्। नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीका अनुसार अत्यधिक चिसो भएर हिउँ जम्ने क्षेत्रबाट उडेर हिमाल पार गर्दै हजारौँ किलोमिटर दूरी तय गरेर यी चरा नेपाल आउँछन्।
लक्ष्मण सारस धेरै उचाइमा उड्ने चरामध्ये दोस्रो स्थानमा पर्छ। सबैभन्दा धेरै उचाइ (१३ हजार मिटर) मा उड्ने चरा रुपाल्स भल्चर भए पनि यो नेपालमा पाइँदैन। लक्ष्मण सारस करिब ११ हजार मिटर र तेस्रो स्थानमा रहेको बारहेडेड गुज (खोयाहाँस) करिब ९ हजार मिटर उचाइमा उड्ने गरेको पन्छीविद्हरू बताउँछन्।
यस वर्ष दिव्यनगरको धान खेत (फार्मल्याण्ड) क्षेत्रमा ४३ वटा लक्ष्मण सारस भेटिएका छन्। हिउँदमा नेपाल आउने पानीमा आश्रित चराहरूको अहिले देशभर गणना भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज तथा त्यसको सीमाबाट बग्ने नारायणी, राप्ती नदीसँगै ताल–तलैया, घोल र फाँटहरूमा फरक–फरक टोलीले चराको गणना गरिरहेका छन्।
चितवनको मध्य क्षेत्रमा गरिएको गणनाको प्रारम्भिक नतिजा सार्वजनिक भइसकेको छ। मध्य क्षेत्रको टोली संयोजक तथा संरक्षणकर्मी मनेश लिम्बुका अनुसार यो पटक दिव्यनगरमा ४३ वटा लक्ष्मण सारस भेटिए। पछिल्ला तीन वर्षकै यो सबैभन्दा धेरै संख्या हो। गत वर्ष ३२ वटा र त्यसअघि १७ वटा मात्र कमन क्रेन भेटिएका थिए।
तर विगतमा यो संख्या अझ धेरै हुने गरेको पन्छीविद्हरू बताउँछन्। हठन चौधरीका अनुसार सन् २०२० मा दिव्यनगर क्षेत्रमा २४२ वटा र सन् २०२३ मा १८७ वटासम्म कमन क्रेन देखिएका थिए। त्यसको तुलनामा यस वर्षको संख्या निकै कम हो। 'पहिले दिव्यनगरको घोल क्षेत्रमा धान मात्रै रोपिन्थ्यो र बाली भित्र्याएपछि जमिन खाली हुन्थ्यो। त्यसैले हुलका हुल कमन क्रेन यहाँ आउँथे,' लिम्बु भन्छन्, 'पछिल्लो समय तोरी, फापर र मकै लगाउन थालियो, घर र उद्योग पनि बढे। खाना कम भएपछि चराको संख्या घट्दै गयो।'
नेपालमा पछिल्लो समय कैलाली लगायत पश्चिमी क्षेत्रमा पनि लक्ष्मण सारस देखिन थालेको भए पनि चितवनमा जस्तो लामो समय बसाइँ नसरिने चौधरी बताउँछन्। खेतीमा विषादीको प्रयोगले अन्य चरालाई समेत असर पुगेको उनको चिन्ता छ। 'खेती नगर्नु भन्न सकिँदैन,' चाैधरी भन्छन्, 'तर केही जमिन संरक्षणका लागि व्यवस्थापन गर्न सकिए कमन क्रेनका लागि आहारा र बास दुवै मिल्थ्यो।' यसका लागि सरकारी र संरक्षण क्षेत्रमा काम गर्ने निकायले संयुक्त पहल गर्नुपर्ने उनको सुझाव छ।
भारतको बिहार, उत्तर प्रदेश र राजस्थानका सिमसार नजिकका कृषि भूमिमा लक्ष्मण सारस प्रशस्त देखिने गरेको र त्यहाँ स्थानीय, सरकार र संरक्षण संस्थाले सहकार्य गरेको उदाहरण उनले दिए। 'चराको उपस्थितिले राम्रो वातावरण र पर्यटनको सम्भावना पनि देखाउँछ,' उनले भने।
कति भेटिए मध्य चितवनमा पानी चरा?
संयोजक मनेश लिम्बुका अनुसार दिब्यनगर फार्म ल्याण्डमा यो पटक ९९ प्रजातिका कुल २ हजार ५३१ चरा भेटिए । जसमा पानीमा आश्रित ३० प्रजातिका १ हजार ५३९ चरा थिए। अरु प्रजाति जमिनमा बस्ने र आहार पनि जमिनबाटै लिनेहरु थिए।
त्यसैगरी राप्ती नदीको पटिहानी स्टोन पार्कदेखि पश्चिम गोलाघाटसम्म ७० प्रजातिका ४ हजार २८१ चरा भेटिए । यसमा ४५ प्रजातिका ४ हजार २८१ चरा पानीमा आश्रित थिए । दिब्यनगरमा अघिल्लो वर्ष ३४ प्रजातिका २ हजार ३७५ पानी चराहरु थिए । अघिल्लो वर्षको तुलनामा दिब्यनगरमा यो पटक पानीमा आश्रित चराको प्रजाति र संख्या दुवै घटेको छ ।
दिब्यनगर घोल क्षेत्र पानीमा आश्रित चराका लागि अनुपयुक्त देखिनु दुखद भएको संरक्षणकर्मी मनेश लिम्बु बताउँछन् । मध्य क्षेत्रको टोलीले यो पटक नारायणी नदीको शिवघाट क्षेत्रमा २३ प्रजातिका २५३ पानी चरा फेला पार्यो । त्यसैगरी चितवन निकुञ्जको पश्चिम क्षेत्रमा रहेका निकुञ्जभित्रका देवीताललगायतका सिमसार क्षेत्रमा ३१ प्रजातिका २११ पानी चरा भेटिएको पनि लिम्बुले जानकारी दिए।
माडी रिउ नदी क्षेत्रमा कुल ९० प्रजातिका १ हजार ९१४ चरा फेला पर्दा पानीमा आश्रित चराहरु मात्रै ४१ प्रजातिका १ हजार २०३ वटा भेटिए । रिउमा अघिल्लो वर्ष ४७ प्रजातिका १ हजार १५० पानी चरा थिए । अघिल्लो वर्षको तुलनामा दिव्यनगर घोल क्षेत्रमा पानीमा आश्रित चराको प्रजाति र संख्या दुवै घटेको संरक्षणकर्मीहरू बताउँछन्।
